१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्रिस्टियानोको कमाल

च्याम्पियन्स लिग
एएफपी

टुरिन — क्रिस्टियानो रोनाल्डोले मंगलबार सानदार ह्याट्रिकको साथ युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुर्‍याएका छन् । र, स्पेनिस समर्थकसामु आफ्नो पुरानो प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीको चर्चित ‘क्रच ग्य्राबिङ सेलिब्रेसन’ को नक्कल गरिदिए ।

क्रिस्टियानोको कमाल

३४ वर्षीय पोर्चुगिज सुपरस्टारले दुई गोल हेडमार्फत् र खेलको अन्त्यतिर पाएको पेनाल्टी सदुपयोग गरे । घरेलु मैदान टुरिनमा एट्लेटिको म्याड्रिडलाई समग्रमा ३(२ गोलले पछि छोडै इटालियन च्याम्पियन युभेन्ट्स शुक्रबार हुने क्वाटरफाइनल ‘ड्र’ मा प्रवेश गरेको छ ।


नियमित समय सकिनु ४ मिनेटअघि पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि रोनाल्डो एट्लेटिकोका समर्थकतर्फ फर्किएर सिमोनीको चर्चित हाउभाउ नक्कल गरिदिए । पहिलो लेगमा २(० को जित हासिल गरेपछि सिमोनी यस्तै हाउभाउ प्रदर्शन गरेका थिए ।


‘उनले वान्डा मेट्रोपोलिटानो रंगशालामा मैले यस्तै गरेको देखेका रहेछन् । मैले जस्तै उनले पनि आफ्नो चरित्र देखाउने प्रयास गरे,’ एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, जसले यही हाउभाउका कारण यूईएफएबाट २० हजार पाउन्ड जरीवाना खेप्नुपरेको थियो ।’

‘क्रिस्टियानो रोनाल्डो संसारकै उत्कृष्ट फुटबलर हुन् । उनी ठूला खेलहरू यस्तै प्रदर्शन देखाउन सक्ने सामर्थ्य राख्छन्,’ अर्जेन्टिनी प्रशिक्षकले थपे ।


रियल म्याड्रिडका पूर्व खेलाडी रोनाल्डोले एट्लेटिकोविरुद्ध ३३ खेलमा ४ ह्याट्रिकसहित २५ गोल पूरा गरेका छन् । पाँचमध्ये सन् २०१४ र २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियलले एट्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । सन् २०१६ को फाइनलमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । सन् २०१७ को सेमिफाइनलमा एट्लेटिकोविरुद्ध ह्याट्रिक गरेका थिए ।


‘युभेन्ट्सको इतिहासमा यस्तो पुनरागमन कहिल्यै भएको थिएन,’ रोनाल्डोले भने, ‘त्यसै कारण युभेन्ट्सले मलाई यस्तै प्रकारको खेलमा सहयोग गर्न खरिद गरेको हो । म आफ्नो काम गर्छु र निकै खुसी छु । यो एक जादुयी साँझ रह्यो ।’


महादेशीय प्रतिस्पर्धामा उपलब्धि हासिल गर्ने योजनासाथ युभेन्ट्सले यसै सिजनको सुरुमा रोनाल्डोलाई १ सय मिलियन युरोमा रियल म्याड्रिडबाट किनेको थियो । सिरी ए च्याम्पियन युभेन्ट्सले सन् १९९६ यता च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । पछिल्लो चार सिजनमा उसले फाइनलमा पुगेर उपाधि गुमाउनुपरेको छ ।


‘यो एक विशेष साँझ हुनु नै थियो । केवल लक्ष्यका लागि मात्र होइन, टिमको उत्कृष्ट आत्मविश्वासका लागि पनि,’ पाँचपल्टका बालोन डी’ओर विजेता रोनाल्डोले भने, ‘च्याम्पियन्स लिगका लागि मानसिक रूपमा दरिलो हुने समय हो र हामी सही बाटोमा छौं ।’ ‘फाइनलबारे कुरा गर्न निकै हतारो हुनेछ । हामी एकपछि अर्को खेल हेर्दै अघि बढ्ने छौं । एट्लेटिको कठिन प्रतिद्वन्द्वी त हो तर हामी पनि कमजोर छैनौं र यस्तो नतिजाका लागि योग्य छौं ।’


च्याम्पियन्स लिगमा सर्वाधिक ८ ह्याट्रिक गर्ने बार्सिलोनाका लियोनल मेसीको कीर्तिमान रोनाल्डोले बराबरी गरेका छन् । रोनाल्डो च्याम्पियन्स लिगको ७७ नकआउट खेलमध्ये ७७ गोलमा प्रत्यक्ष संग्लग्न भएका छन्, ६३ गोल र १४ असिस्ट ।


रोनाल्डोले च्याम्पियन्स लिग इतिहासमा अहिलेसम्म १ सय २४ गोल गरेका छन् । जबकि एट्लेटिकोले अहिलेसम्म यस प्रतियोगितामा १ सय १८ गोलमात्र गरेको छ । रोनाल्डो पछिल्लो ६ सिजनदेखि च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । यस सिजन पनि उनले आफ्नो गोलसंख्या ४ पुर्‍याएका छन् ।


‘रोनाल्डोजस्ता खेलाडीका लागि च्याम्पियन्स लिग मात्र १ गोलले टुंग्याउनु पनि न्यायसंगत हुन्थेन,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले भने, ‘आजको साँझ सानदार थियो । घरेलु समर्थकको साथ र इटलियन फुटबलकै लागि स्मरणीय रह्यो ।’

अविश्वसनीय नतिजासाथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेपछि बुधबार बिहानै मिलान स्टक एक्सचेन्जमा युभेन्ट्सको शेयर मूल्य २० प्रतिशतभन्दा धेरै बढेको छ । एक्सचेन्ज खुल्नेबित्तिकै युभेन्ट्सको मूल्य २३ प्रतिशतले बढेको थियो । बन्द हुने समयमा १७.०९ प्रतिशतमा आएर रोकिएको थियो ।


सिटीको कीर्तिमानी जित

म्यान्चेस्टर– मंगलबार राति जर्मन टोली साल्केविरुद्ध ७(० गोलको फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘मेरो टोली च्याम्पियन्स लिगमा कसैसँग डराउँदैन ।’


अन्तिम समयमा दुई गोल गरेर पहिलो लेग सिटीले ३(२ ले जितेको थियो । इतिहाद रंगशालामा अधिक प्रभावशाली देखिएको सिटीले अन्तिम १६ मा १०(२ गोलको समग्र नतिजा निकाल्न सक्यो ।


सर्जियो अगुइरोले पेनाल्टीमार्फत ३५ औं मिनेटमा सिटीका लागि गोलको खाता खोले । त्यसको तीन मिनेटपछि नै उनैले अग्रता दोब्बर बनाए । आफ्नो पूर्व क्लबका लागि लेरोय सानेले गोल गरेपछि पहिलो हाफमा सिटीले ३(० को अग्रता बनायो । त्यसपछिका तीन गोलमा उनै सानेले बल उपलब्ध गराएका थिए ।


रहिम स्टर्लिङ, बर्नान्डो सिल्भा, फिल फोडेन र ग्याब्रियल जेससले एक एक गोल गरी सिटीले च्याम्पियन्स लिग इतिहासमै घरेलु मैदानमा सबैभन्दा फराकिलो अन्तरको जित निकाल्यो ।


ग्वार्डिओलाको टिम सिटीले फेब्रुअरीमा लिग कप उपाधि उचालेको थियो । प्रिमियर लिगको शीर्षस्थानमा लिभरपुलभन्दा १ अंकले अगाडि रहेको सिटी यसै साताको अन्तिममा एफए कप क्वाटरफाइनलमा स्वान्सीसँग प्रतिस्पर्धा गर्दै छ । ‘पहिलो गोलपछि हामीले उच्च स्तरको खेल खेल्यौं, हामी गम्भीर थियौं र जिम्मेवारी पूरा गर्‍यौं,’ खेलपछि प्रशिक्षक ग्वार्डिओलाले भने, ‘पहिलो हाफको अन्तिम १५ मिनेट र दोस्रो हाफमा हामी उत्कृष्ट थियौं । हामीले तीव्र र गतिशील खेल देखायौं, त्यसै कारण गोल निस्कियो ।’

१०(२ गोलको समग्र नतिजा च्याम्पियन्स लिगको नकआउट चरणमा अहिलेसम्मकै सबैभन्दा फराकिलो हो । रक्षात्मक रूपमा कमजोर देखिएको साल्केविरुद्धको यस नतिजा लामो समयसम्म स्मरणीय रहने छैन ।


बार्सिलोनामा रहँदा दुईपल्ट च्याम्पियन्स लिग जितेका ग्वार्डिओलाले यसै साता दाबी गरेका थिए कि युरोपेली महाशक्ति टोलीको अगाडि उनको टोली ‘किशोर’ हो । ग्वार्डिओलाका पूर्ववर्ती म्यानुयल पेलेग्रिनीको कार्यकालमा सन् २०१६ मा सिटीले अहिलेसम्मकै ठूलो उपलब्धिका रूपमा सेमिफाइनलसम्म यात्रा गरेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?