१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युरोपमा इंग्लिस वर्चस्व

गोलपछि लिभरपुलका भिर्जिल भान डाइक र रोबर्टो फिर्मिनो ।  
एएफपी

लन्डन — पछिल्लो १० वर्षमा पहिलोपल्ट एउटै देशका चार टिमले युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रतिस्पर्धा गर्ने भएका छन् । लिभरपुलले बायर्न म्युनिखलाई पन्छाएयता क्वाटरफाइनलमा सहभागी हुने टिममध्ये ५० प्रतिशत इंग्ल्यान्डकै हुने भएको हो । यसअघि अरु तीन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले पनि क्वाटरफाइनल यात्रा तय गरिसकेका छन् ।

युरोपमा इंग्लिस वर्चस्व

यस उपलब्धिले धेरैलाई सन् २००० को सिजन फेरि सम्झाएको छ, जति बेला लगातार दुई अवसरमा इंग्ल्यान्डका चार टिम क्वाटरफाइनल पुगेका थिए । त्यसबीच ५ वर्षमा छपल्ट इंग्लिस टिम फाइनल पुगेको छ । त्यसमा पनि दुईपल्ट च्याम्पियन भए लिभरपुल (२००५) र म्यानचेस्टर युनाइटेड (२००८) मा । यसपल्ट फेरि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा इंग्लिस टिम बलियो देखिएका छन् ।


सन् २००० को मध्यतिर च्याम्पियन्स लिग इंग्लिस टिमका लागि सर्वाधिक सुखद रह्यो । सन् २००७–०८ र २००८–०९ को सिजन लगातार चार टिमले अन्तिम चारको यात्रा गरे । यी थिए चेल्सी, आर्सनल, लिभरपुल र म्यानचेस्टर युनाइटेड । सन् २००४ देखि २००९ बीच कम्तीमा एक इंग्लिस टिम फाइनल पुगेको छ । चेल्सीले अन्तिम पटक सन् २०११–१२ मा म्युनिखमा उपाधि जितेको थियो । गत सिजन भने लिभरपुल उपविजेता रह्यो ।


पछिल्लो पटक भने प्रतियोगितामा स्पेनको प्रभुत्व थियो । ला लिगाका तीन टिम पछिल्लो ६ सिजन लगातार अन्तिम आठमा पुगेका थिए । त्यसमध्ये स्पेनी टिम पछिल्ला पाँचमध्ये सबैमा च्याम्पियन बनेको छ । त्यसमा पनि रियल म्याड्रिडले चार र बार्सिलोनाले एकपल्ट उपाधि जितेका थिए । पछिल्लो १० सिजनमा फाइनल खेल्नेमध्ये सातपल्ट स्पेनी टिम छ । यसमा एट्लेटिको म्याड्रिड भने अभाग्यशाली रह्यो, दुई अवसरमा उपविजेता भयो ।


युरोपमा रियलको प्रभुत्व भने यसपल्ट मात्र समाप्त भयो, जति बेला उसलाई अयाक्सले अन्तिम १६ मा हरायो । यस्तोमा यसपल्ट अन्तिम आठमा स्पेनको एकमात्र प्रतिनिधित्व बाँकी छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चार टिम पुग्ने प्रिमियर लिग एकमात्र घरेलु प्रतियोगिता रहेको छ । यसअघि सन् २००५–०६ मा इटालीका तीन टिम अन्तिम आठमा पुगेका थिए । जर्मनीका टिममध्ये बढीमा दुई क्लबले मात्र यस्तो उपलब्धि हात पारेका छन् ।


सिटी बलियो

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी यसपल्ट उपाधिका लागि सर्वाधिक बलियो दाबेदार रहेको छ । सट्टेबाजहरूका लागि पनि यही क्लब प्रिय बनेको छ । पछिल्लो चार सिजनमध्ये सिटी तेस्रोपल्ट यो चरणमा पुगेको हो । उसका व्यवस्थापक पेप ग्वार्डिओला बार्सिलोनामा छँदा क्लबले दुईपल्ट च्याम्पियन्स लिग जितेको थियो । सिटीले अहिलेको चरण पुग्नु अगाडि साख्तर डोनेस्कलाई ७–० र हालैका खेलमा साल्केलाई त्यस्तै अन्तरले हराएको थियो ।


सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले प्रतियोगितामा प्रत्येक ७० मिनेटमा एक गोल गरेका छन् । लिरभपुलको उद्देश्य गत सिजनको तुलनामा अझ राम्रो गर्नुहुनेछ । गत फाइनलमा रियल म्याड्रिडसँग पराजित थियो लिभरपुल । त्यति बेला खालि एकपछि अर्को भूल गर्ने गोलरक्षक लोरिस कारियस थिए । अहिले टिममा सबैभन्दा राम्रा गोलरक्षक छन् एलिसन । त्यतिमात्र होइन, त्यस फाइनलयता लिभरपुलले फाबिन्हो र नेबी केइटा पनि भित्र्याइसकेको छ ।


पाँचपल्टको युरोपेली विजेता लिभरपुलले समूह चरण पार गर्न नेपोलीमाथि १–० को महत्त्वपूर्ण जित निकालेको थियो भने बुधबार रातिको खेलमा बायर्नलाई उसकै घरमा पराजित गर्न सफल रह्यो । म्यानचेस्टर युनाइटेडले हालै मात्र ओले गनर सोल्सायरको नेतृत्वमा पेरिस सेन्ट जर्मेनमाथि ३–१ को प्रख्यात जित निकालेको छ । यसक्रममा अविश्वसनीय रूपमा यो चरणको यात्रा तय गरेको छ । म्यानचेस्टर यसअघि पहिलो लेगमा दुई गोलले पछाडि थियो ।


इंग्ल्यान्डको चौथो प्रतिनिधि टोटेनहमले युरोपमा यसपल्ट राम्रो खेलिरहेको छ । भलै, घरेलु लिगमा पछिल्लोपल्ट उसको खेल खस्केको छ । गत सिजन टोटेनहम लिग चरणबाटै बाहिरिएको थियो । स्पर्सले यसपल्ट क्वाटरफाइनल पुग्नका लागि जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई पन्छाएको थियो । लिग चरणमा भने टोटेनहमको प्रदर्शन संघर्षपूर्ण रह्यो । पीएसभीविरुद्ध अन्तिम समयमा दुई गोल गरेर टोटेनहमले आफ्नो भाग्य फेरेको थियो । अब टोटेनहमसामु आफ्नो नयाँ रंगशालामा खेल्ने अवसर पनि हुनेछ ।


बुधबार रातिका नतिजा

बायर्न म्युनिख १–३ लिभरपुल (समग्रमा १–३)

बार्सिलोना ५–१ लियोन

(समग्रमा ५–१)



क्वाटरफाइनल पुगेका टिम

बार्सिलोना (स्पेन)

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)

म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)

टोटेनहम (इंग्ल्यान्ड)

लिभरपुल (इंग्ल्यान्ड)

युभेन्ट्स (इटाली)

एफसी पोर्टो (पोर्चुगल)

अयाक्स (नेदरल्यान्ड्स)

(ड्र शुक्रबार)


प्रकाशित : चैत्र १, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?