१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माईभ्यालीमा रोकियो एपीएफ

विप्लव भट्टराई

(इलाम) — तेस्रो पटकको भेटमा पनि क्यामरुनको दाउफिन्स क्लब विभागीय टिम एपीएफविरुद्ध अब्बल साबित भएको छ । इलाममा जारी पाँचौं आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनलमा बिहीबार दाउफिन्सले एपीएफको चुनौती ३–१ ले समाप्त पारेको हो । यसअघि पोखराको मनकामना केबलकार पोखरा कप र धरानको बुढासुब्बा गोल्डकपमा पनि एपीएफ क्यामरुनी टोलीसँग रोकिएको थियो ।

प्रतिस्पर्धात्मक खेल भए अफ्रिकन खेलाडीसामु एपीएफले नतिजा आफ्नो पक्षमा पार्न सकेन । दाउफिन्सका मेसुकेले १४ औं मिनेटमा गोलको खाता खोले । १९ औं मिनेटमा पेटंगाले गोल गर्दै अन्तर बढाए । एपीएफका हरि कार्कीले ३६ औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेका थिए । तर खेलको ५७ औं मिनेटमा पेटंगाले गोल थप्दै क्यामरुनीको जित सुनिश्चित बनाए । म्यान अफ द म्याच दुई गोल गरेका पेटंगा घोषित भए ।


बलियो टोली दाउफिन्ससँग एपीएफले केही अवसर भने सिर्जना गर्‍यो । टिमका भरपर्दा खेलाडी आदित्य चौधरी, नवीन लामा, आशिष लामा र राजन गुरुङबिना नै एपीएफ मैदान उत्रेको थियो । आदित्य राष्ट्रिय टोलीको तयारीमा छन् भने आशिष र राजन यू–२३ को बन्द प्रशिक्षणमा छन् । लिगमा थ्रीस्टारसँग खेल्दा घाइते भएका नवीन लामा अझै फर्कन सकेका छैनन् ।


एपीएफले विवादस्पद गोलका कारण हार बेहोर्नुपरेको दाबी आरोप लगायो । ‘गोललाइन क्रस नभएको बललाई गोल दिइयो,’ प्रशिक्षक सुदीप श्रेष्ठले भने, ‘पहिलो गोल नै त्यसरी दिइएपछि खेलमा फर्कन सकिएन ।’ दाउफिन्सका अहोन्डा इसाको कर्नरमा मेसुकेले हेड गर्दा रेफ्री श्याम दनुवारले दिएको गोलप्रति चित्त नबुझाएका एपीएफ खेलाडीले तत्काल आपत्तिसमेत जनाएका थिए ।


खेलाडीले उच्च मनोबलसाथ अब्बल खेल पस्किएकाले जित निस्किएको दाउफिन्सका टिम म्यानेजर आशिक थापा मगरको प्रतिक्रिया थियो ।


माईभ्यालीको दोस्रो संस्करण फाइनलमा झापासँग पराजित एपीएफ तेस्रो संस्करणमा पहिलो खेलमा नै झापासँग हारेको थियो । अघिल्लो सिजन एपीएफ सेमिफाइनलमा थ्रीस्टारसँग पराजित हुँदै घर फर्केको थियो ।


यो सिजन एपीएफ पोखरा कपमा फाइनल पुग्यो । मोफसलका आठ प्रतियोगितामा सहभागिता जनाएको दाउफिन्सले भने पोखरा, बुढासुब्बा, तिलोत्तमा गोल्डकप जितेको थियो । झापा गोल्डकप र आहा–रारामा आर्मीसँग पराजित दाउफिन्सले इलाममा फाइनल पुग्नका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रकाशित : चैत्र १, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?