कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भुटानको हार, नेपाल सेमिफाइनलमा

बंगलादेश २–० भुटान
विनोद भण्डारी

विराटनगर — भुटान सहिद रंगशालामा बिहीबार बंगलादेशविरुद्ध २–० को हार बेहोर्दै पाँचौं साफ वुमेन्स च्याम्पियनसिपबाट बाहिरिएको छ । भुटानले यसअघि आयोजक नेपालसँग ३–० को हार भोगेको थियो । बंगलादेश र नेपाल भने एक खेल बाँकी छँदै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने निश्चित भयो । नेपाल र बंगलादेश समूहको अन्तिम खेलमा शनिबार भिड्ने छन् । त्यसको नतिजाले समूह विजेताको टुंगो लगाउने छ ।

भुटानको हार, नेपाल सेमिफाइनलमा

सुधारिएको खेल पस्किएको भुटानले बंगलादेशलाई पहिलो हाफमा गोलविहीन अवस्थामा रोकेको थियो । दोस्रो हाफमा भने उसले सम्हालिन नपाउँदै गोल बेहोर्‍यो । मिडफिल्डर मिसरात जाहन मौसुमीले ४६ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । उनले मोनिका चकमाको कर्नरमा घम्साघम्सीबीच हेडबाट गोल गरिन् । कप्तान सविना खातुनले ८५ औं मिनेटमा गोल थप्दै बंगलादेशको जित पक्का गरिन् । उनले एक्लै बल अघि बढाएर दुई डिफेन्स र गोलकिपर छक्याउँदै लोभलाग्दो गोल गरिन् ।


खेलको ११ औं मिनेटमा बंगलादेशकी सोपना सिरातले अवसर गुमाउँदा टिमले गोलका लागि दोस्रो हाफ कुर्नुपरेको हो । भुटानकी गोलकिपर संगीता मगर अघि बढेको अवस्थामा सोपनाको प्रहार पोस्ट बाहिरियो । २३ औं मिनेटमा सोपनाको सशक्त प्रहार संगीताले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेकी थिइन् । ३० औं मिनेटमा मारिया मान्डाको कर्नरलाई कप्तान सविनाले नियन्त्रण गर्न नसक्दा गोल अवसर चुकेको थियो । ३४ औं मिनेटमा सविनाको प्रहार संगीताले उत्कृष्ट बचाउ गर्दै टिमका लागि दोस्रो संकट टार्दा ४१ औं मिनेटमा जाहन मौसुमीको गोललाई श्रीलंकन रेफ्री मोदइ शाहद फारुखले अफसाइडको करार गरिदिएका थिए ।

भुटानी गोलकिपर संगीताको उत्कृष्ट प्रदर्शनका कारण बंगलादेशले फराकिलो गोल अन्तरको जित दर्ता गर्न सकेन । भुटानले साफ वुमेन्स च्याम्पियन्समा हालसम्म कुनै पनि खेल जितेको छैन । पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १–१ को बराबरी गरेयताका सबै खेलमा भुटान हारेको छ ।


बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोतनले भने, ‘केटीहरूले उत्कृष्ट प्रदर्शन गरे । हामीले सुरुबाटै खेल नियन्त्रणमा लियौं । भुटानले रक्षात्मक खेल्यो । मध्यान्तरमा मैले खेलाडीलाई पहिलो हाफमा जस्तै खेल्यो भने नतिजा निस्किन्छ भनेको थिएँ, खेलाडीले त्यसै गरे र नतिजा पनि आयो ।’


भुटानका प्रशिक्षक सुङ जाए लीले नेपालसँगको तुलनामा बंगलादेशविरुद्ध सुधारिएको खेल देखाएकोभन्दै सन्तुष्टि जनाए ।


प्रकाशित : चैत्र १, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?