कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुधारिएको बंगलादेश

राजु घिसिङ

(विराटनगर) — नेपाल र बंगलादेशबीच एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनल सुरु हुन दुई घण्टामात्र बाँकी थियो । महाभूकम्प (वैशाख १२, २०७२) ले ९ हजार बढी नेपालीको ज्यान लियो र दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनायो । त्यसले यू–१४ को फाइनल पनि रोकियो । त्यसको ६ महिनापछि नेपाली सेनाको लगनखेलस्थित शारीरिक तथा खेलकुद तालिम केन्द्रमा भएको फाइनलमा घरेलु टिम नेपालमाथि १–० को जित रच्दै बंगलादेशले अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि हात पारेको थियो ।

बंगलादेशी महिला फुटबल टिमले नेपालमाथि पाएको पहिलो जित त्यही लगनखेलको थियो । त्यहाँ निर्णायक गोल गरेकी सविना खातुन बंगलादेशी राष्ट्रिय टिमको कप्तानी गर्दै विराटनगर आइपुगेकी छन् । उनको टिमले एसियाली फुटबल महासंघ (एएफसी) को दक्षिण तथा मध्य एसियाली प्रतियोगिता सन् २०१६ मा पनि जितेको थियो । त्यसपछि बंगलादेशले छनोट पार गरेर एएफसी यू–१६ च्याम्पियनसिप २०१७ को फाइनल चरणमा प्रतिस्पर्धा नै गर्‍यो । विराटनगर आइपुगेको बंगलादेशी टिममा त्यही महादेशीय च्याम्पियनसिप खेलेको टिमका खेलाडीको वर्चस्व छ ।


उनै खातुन र मिसरात जाहन मौसुमीको गोलमा बिहीबार बंगलादेशले भुटानमाथि २–० को जित रच्दै पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको थात्रा थालेको छ । यो टिममा गतवर्ष थिम्पुमा भएको साफ यू–१८ वुमेन्स च्याम्पियनसिपमा सहभागी खेलाडीको वर्चस्व छ । थिम्पुको भेटमा समूह चरणमा बंगलादेशले २–१ को सफलता हात पारेको थियो भने नेपालले त्यसको बदला फाइनलमा १–० ले लिएको थियो । नेपाली टिममा पनि थिम्पु यात्राका ६ खेलाडी छन् । अधिकांस नेपाली युवा खेलाडी बेन्चमा छन् भने बंगालीहरू भुटानविरुद्ध पहिलो रोजाइमा उत्रिए ।


केही वर्षयता बंगलादेशले महिला फुटबलमा ठूलै छलाङ मारिरहेको छ । उसको युवा टिमले फिलिपिन्स र आयोजक म्यानमारलाई हराएर एएफसी यू–१६ वुमेन्स च्याम्पियनसिपमा खेल्ने फेरि पक्का गरेको दुई साता पनि बितेको छैन । त्यसबाट उसको सिनियर टिम पनि उत्साही बनेको छ ।


बंगलादेशले पहिलोपल्ट साफ वुमेन्स च्याम्पियनसिपमा दुई वर्षअघि फाइनल खेलेको थियो । समूह चरणमा भारतलाई बराबरीमा रोकेर हौसिएको बंगलादेश फाइनलमा भने उही भारतको सिकार बन्यो । सिलिगुढीमा भएको त्यस चौथो साफमा नेपालले भने सेमिफाइनलमा हारेपछि पहिलोपल्ट साफको फाइनल खेल्ने मौका चुकाएको थियो । अघिल्ला तीनै संस्करणमा नेपाल उपविजेता भएको थियो । तीनै फाइनलमा भारत तगारो बनको थियो ।


बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोतनले पहिलेभन्दा राम्रो गर्नका लागि विराटनगर आएको बताए । त्यसको सोझो अर्थ उपविजेता भइसकेपछि विजेता बन्ने भन्ने नै हो । हरि खडाले सम्हालेको नेपाली टिम पनि पहिलोपल्ट दक्षिण एसियाली च्याम्पियन बन्ने अभियानमा छ । साफ (३), दक्षिण एसियाली खेलकुद (२) र हिरो गोल्डकप (१) गरी ६ पल्ट फाइनलमा चुकेको नेपाली टिमले पहिलो उपाधि जित्दै उपविजेताको छविमा सुधार गर्न चाहेको छ । यी दुवै टिम सेमिफाइनलमा भारतको सामना गर्न चाहँदैनन् । त्यसैले नेपाल र बंगलादेशबीच शनिबार हुने समूह ‘ए’ को अन्तिम खेल रोचक बन्नसक्छ ।


भुटानमाथि बंगलादेशको जितले समूह ‘ए’ मा एक खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टिमको टुंगो लगायो । लगातार दुई हार बेहोर्दै भुटान बाहिरिएसँगै नेपाल र बंगलादेशले अन्तिम चारको यात्रा तय गरे । गोलअन्तरको आधारमा नेपाल समूहको शीर्षस्थानमा छ । बंगलादेशविरुद्ध शनिबार जित वा बराबरी नतिजा आएको अवस्थामा नेपाल समूह विजेता हुनेछ । अर्को समूहमा अघिल्ला चारै संस्करणको उपाधि जितेको भारतसहित श्रीलंका र माल्दिभ्स छन् । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६–० को जित निकालेको भारत समूह ‘बी’ मा पहिलो हुने अपेक्षा गरिएको छ । साफकै सर्वाधिक सफल टिमविरुद्ध नेपाल र बंगलादेश सेमिफाइनलमै भिड्न चाहँदैनन् ।


हार टारेको त्यो खेल

बंगलादेशको सिनियर टिमको प्रदर्शनमा पनि निरन्तर सुधार भइरहेको छ । यांगुनमा नोभेम्बर, २०१८ मा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपाललाई बंगलादेशले इन्ज्युरी टाइममा गोल गर्दै १–१ को बराबरीमा रोकेको थियो । त्यो नै बंगलादेशी महिलाको सिनियर टिमले नेपालविरुद्ध हार टारेको खेल थियो र गोल गरेको पनि पहिलोपल्ट नै ।


‘म्यानमारविरुद्ध ५–० र भारतविरुद्ध ७–१ ले हारिसकेको भएर बंगलादेशले हामीसँग अगाडि बढेर खेलेन,’ ओलम्पिक छनोटको प्रतिस्पर्धाबारे नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘हामी दोस्रो चरणका लागि छनोट भइसकेकाले मैले एक गोलको अग्रतामै चित्त बुझाउने कोसिस गरेको थिएँ । त्यसैले आक्रामक खेलेका थिएनौं । त्यसमा मेरो रणनीति असफल भएको हो ।’

यांगुनमै सहभागी बंगलादेशी टिम साफ च्याम्पियनसिपलाई विराटनगर आइपुगेको हो ।


प्रकाशित : चैत्र १, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?