२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मुख्यमन्त्री कपको उद्घाटन

मोहन बुढाऐर

धनगढी — सभामुख कृष्णबहादुर महराले औपचारिक रूपमा शुक्रबार उद्घाटन गरे पनि मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलको पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । 

मुख्यमन्त्री कपको उद्घाटन

धनगढी रंगशालामा शुक्रबार भएको लिग चरणपछि समूह ‘ए’ बाट विजेता बन्दै प्रदेश २ र उपविजेता बन्दै प्रदेश १ अन्तिम चारमा पुगेका छन् । प्रदेश १ र २ बीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । दुवैको समान ७ अंक भए पनि गोलअन्तरमा समूह विजेता टुंगो लागेको हो ।


प्रदेश १ बाट राम तामाङ, सन्तोष तामाङ र दीपेन्द्र घिसिङले गोल गरे । प्रदेश २ का सुनील लामाले दुई गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको हो । समूह ‘बी’ बाट शुक्रबारको खेल जित्दै सुदूरपश्चिम उपविजेता भएर सेमिफाइनल पुगेको छ । धनगढी रंगशालामा सुदूरपश्चिमले प्रदेश ३ लाई ३–० ले हरायो । चेतन कठायतले दुई र जीवन चौधरीले एक गोल गरे । एक जित र एक बराबरी गर्दै ४ अंकसहित समूह विजेता बनेर कर्णाली प्रदेश सेमिफाइनल पुग्यो । सुदूरपश्चिम प्रदेश कर्णालीसँग १–० ले हारेको थियो ।


धनगढी रंगशालामा सुदूरपश्चिम र प्रदेश २ तथा प्रदेश १ र कर्णाली प्रदेश फाइनल पुग्नका लागि खेल्नेछन् ।


क्रिकेट

संघीय प्रहरी खेल मैदानमा महिलातर्फ सुदूरपश्चिम फाइनल पुगेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा सुदूरले गण्डकी प्रदेशलाई २ सय १० रनले हरायो । यसअघि कर्णालीलाई सुदूरले २ सय २७ रनकै अन्तरले हराएको थियो । टस जितेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाई २ सय ४८ रन बनायो ।


सुदूरपश्चिमकी कविता कुँवरले १ सय १ रनको शतकीय इनिङ्स खेलिन् । उनले ५८ बल सामना गरिन् । विन्दु रावलले ६१ बलमा ७९ रन बनाइन् । गण्डकीकी एलिसा लामिछानेले २ विकेट लिइन् । जवाफमा गण्डकी प्रदेश १५.५ ओभरमा ३८ रनमै समेटियो । झिनमाया थापाले १३ रन बनाइन् । सुदूरपश्चिमका कविता जोशीले ४ र कविता कुँवरले ३ विकेट लिए ।


पुरुषतर्फ प्रदेश १ सेमिफाइनल पुगेको छ । प्रदेश १ ले प्रदेश ३ लाई ७ विकेटले हरायो । यसअघि प्रदेश १ ले गण्डकी प्रदेशलाई ५ रनले हराएको थियो ।


शुक्रबार फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश ३ ले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनायो । सम कंसाकारले ३६ रन बनाए । प्रदेश १ का दीपेन्द्र कँडेल र पुष्प थापाले ३–३ विकेट लिए । प्रदेश १ ले १७.४ ओभरमा ३ विकेटमै लक्ष्य पूरा गर्‍यो । मिनास थापाले ३८ र पुष्प थापाले ३६ रन बनाए । प्रदेश ३ का नन्दन यादव र अनिल पौडेलले १–१ विकेट लिए । गण्डकी प्रदेश र प्रदेश ३ बीचको खेलबाट अर्को सेमिफाइनल टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’ बाट सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनल पुगेका छन् ।


भलिबल

पुरुष र महिला भलिबलका ३–३ खेल सम्पन्न भए । महिलातर्फ प्रदेश ५ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । गण्डकी प्रदेशविरुद्ध प्रदेश ३ टोली ३–१ को सेटमा विजयी भयो । प्रदेश १ ले प्रदेश २ लाई ३–१ को सेटले पराजित गरेको छ ।

पुरुषतर्फ सुदूरपश्चिमले कर्णालीलाई ३–१ को सेटले हरायो । प्रदेश ३ विरुद्ध गण्डकी प्रदेश ३–१ ले विजयी भएको छ । अर्को खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई ३–० को सोझो सेटमा हराएको हो ।


ब्याडमिन्टन

पुरुष र महिलातर्फ प्रि–क्वाटरफाइनल खेल भए । प्रदेश ५ का सरोज अधिकारी, सुदूरपश्चिमका प्रकाश चन्द, अंकित चौधरी,

देशराज राना र योगेश खड्का विजयी भए । महिलातर्फ कर्णालीका सामना भट्टराई, पुष्प शाही र अग्रिमा भण्डारी विजयी भए ।

प्रकाशित : चैत्र २, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?