२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१३ औं साग खेलकुद आयोजना : पूर्वाधारमात्र होइन बाधक

कुशल तिमल्सिना

काठमाडौँ — नियमित कार्यतालिकाअनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१८ मै आयोजना हुनुपर्ने थियो । भूकम्पपछिको पुनर्निर्माण प्रक्रियाले गति नलिएपछि सन् २०१९ को मार्चमा आयोजना गर्न मिति तोकियो । फेरि पूर्वाधारलाई नै कारण देखाउँदै प्रतियोगिता डिसेम्बरमा धकेलिएको छ । नेपालले तेस्रोपल्ट साग खेलकुद आयोजना गर्न झन्डै १० महिनाको समय बाँकी छ ।

१३ औं साग खेलकुद आयोजना : पूर्वाधारमात्र होइन बाधक

मार्चमा आयोजना गर्न नसक्ने भएपछि सरकारले दक्षिण एसियाली ओलम्पिक परिषद्लाई प्रतियोगिता सार्न अनुरोधसहित पत्र पठाएको थियो । पत्रमा पूर्वाधार निर्माण नसकिएकाले सार्नुपर्ने कारण जनाइएको थियो ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको तर्क मान्ने हो भने पूर्वाधारको कारणले मात्रै साग सरेको होइन । सागका लागि अन्य धेरै महत्त्वपूर्ण काम बाँकी छन्, जो अहिलेसम्म सुरु गरिएकै छैन । तर, सरकारी अधिकारीहरूको एकोहोरो रटान पूर्वाधार तयार भएन भन्नेमात्र देखिन्छ ।


‘देशकै प्रतिष्ठाको रूपमा रहेको साग खेलकुद सरकारले आयोजना गर्ने हो । नयाँ मिति डिसेम्बरसम्म आवश्यक सबै पूर्वाधार बन्ने निश्चितता हामी गर्छौं,’ सदस्य–सचिव विष्टले भने, ‘त्यो भन्दा धेरै र महत्त्वपूर्ण काम सुरु भएकै छैन, सरकारी इच्छाशक्ति र तदारुकता पनि साग आयोजना गर्न पर्याप्त रहेन ।’


सन् २०१६ मा तत्कालीन खेलकुदमन्त्री सत्यनारायण मण्डलले १३ औं संस्करण नेपालमा आयोजना गर्ने अधिकार लिएर आएदेखि तीन वर्षको अवधिमा पूर्वाधार निर्माणमा मात्र सबैको चासो देखिएको छ । त्यसपछि तीन मन्त्री फेरिए, सबैले चासोमात्र दिए, कामको गति भने उस्तै सुस्त रह्यो । मुख्य खेलस्थलका रूपमा रहेको दशरथ रंगशालाको पुनर्निर्माणको काम अझै सकिएको छैन ।


अन्य पूर्वाधार पनि बजेटको समस्या र नीतिगत ढिलासुस्तीले समयमा सम्पन्न हुन नसकेको स्विकारोक्ति स्वयं सदस्य–सचिवकै छ ।

पूर्वाधारको पाटो छाडेर अन्य प्रशासनिक काम यो तीन वर्षबीच सुरु नै भएको छैनभन्दा नयाँ मितिमा पनि नेपालले साग आयोजना गर्न नसक्ने हो कि भन्ने चिन्ता सुरु भइसकेको छ । प्रतियोगिताका लागि कार्यविधि छैन भने आर्थिक निर्देशिका बनेकै छैन । गत वर्ष नै मूल आयोजक समिति बनाइएको थियो, त्यस समितिको बैठक अहिलेसम्म तीनपल्ट बसेको छ । उसले ५ उपसमिति बनाएर त्यसको संयोजक तोक्नेबाहेक अन्य काम गरेको छैन ।


‘दिनरात काम गर्ने हो भने एकमहिनामा कार्यविधि बन्छ, अर्थ मन्त्रालयबाट पास हुन अर्को १ महिना लाग्छ, अनि बाँकी ७ महिनामा त्यसलाई कार्यान्वयन गर्ने चुनौती कति हुन्छ भनिराख्नुपर्दैन,’ विष्टले भने, ‘त्यसैले विशेष निर्णय गरेर काम सुरु गर्नुको विकल्प छैन ।’

चैत २ मा जगतबहादुर विश्वकर्माले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेयता पूर्वाधार निर्माणका कामले गति लिएकै हो ।


प्रशासनिक कामका लागि भने मुख्य सरोकार संस्था मन्त्रालय र खेलकुद परिषद्को समन्वय कम भएको छ । मन्त्रीले साग खेलकुदका प्रस्तावित आयोजनास्थल काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकाका जनप्रतिनिधि समावेश गरी मूल आयोजक समितिलाई पूर्णता दिएको बताएका छन् । कार्यविधि नबन्दा समितिको काम, कर्तव्य, अधिकार पनि तोकिन सकेको छैन ।


सरकारले साग खेलकुदका लागि चालु आर्थिक वर्षमा करिब १ अर्ब १५ करोडको बजेट विनियोजन गरेको थियो । त्यसमा दशरथ रंगशाला पुनर्निर्माण, सातदोबाटोस्थित वातानुकूलित पौडीपोखरी निर्माण, पोखरा रंगशाला पुनर्निर्माण, टेनिस हल, ह्यान्डबल कोर्टलगायतका संरचना निर्माण भइरहेको छ । स्वाभाविक रूपमा यो बजेट पर्याप्त होइन । त्यसमा पनि नेपालको सार्वजनिक खरिद नियमावलीका कारण छिटो काम गर्न निकै अप्ठेरो परेको सदस्य–सचिव विष्टको भनाइ छ ।


‘एउटै टेण्डर विडिङ गर्न ६ महिनाको समय लाग्छ, त्यसमा संरचना बनाउने अनुमानित समयसमेत जोडेर सामान्य पूर्वाधार बनाउन पनि लामो समय कुर्नुपर्ने झन्झटिलो कानुनी व्यवस्था छ । १० महिनाबीचमा पूर्वाधार निर्माण त सकिन्छ । तर अन्य खेल सामग्री आयात, अतिथि सत्कार व्यवस्थापनको काम पनि उत्तिकै चुनौतीपूर्ण छ,’ सदस्य(सचिवले भने, ‘फास्ट ट्र्याकमा निर्णय गरेर काम सुरु नगर्ने हो भने डिसेम्बरमा पनि साग आयोजना गर्न हामीलाई कठिन हुन्छ ।’


उनले पूर्वाधारबाहेक अन्य काममा विशेष जोड दिनुपर्ने कुरा बताइरहँदा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ (अध्यक्ष, दक्षिण एसियाली ओलम्पिक परिषद्) को नयाँ मितिमा पनि नेपालले आयोजना गर्न नसकेमा प्रतियोगिता आयोजना अधिकार नै गुम्ने आसयको भनाइ स्मरणीय हुनेछ ।


अन्तिम समयमा हतारमा काम गर्नुपर्दा हुनसक्ने अनियमितता र कामको गुणस्तरतामा पनि अहिले नै सचेत बन्नुपर्छ । तर त्यसका लागि हतार भइसकेको छ । साग खेलकुद आयोजनाका लागि ४ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष अन्त्य हुने र सुरु हुने संक्रमणकालीन समय पर्छ । बर्खा मौसममा भौतिक पूर्वाधारको काम गर्नु चुनौतीपूर्ण छ ।


हालै पक्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका नवनियुत्त सचिव कृष्ण देवकोटाले जसरी पनि समयमै साग खेलकुद आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले पूर्वाधारसहित सबै कामका लागि कानुन बाधक बन्छ भने संशोधन गरेर या विशेष निर्णय गरेर पनि देशको प्रतिष्ठामा कमी आउन दिन नहुने बताएका थिए ।


साग खेलकुद नेपालकै सक्रियतामा जन्मिएको प्रतियोगिता हो । तर नेपालको आयोजना पालोमा अनेक कारणले प्रतियोगिता समयमा हुन नसकेका उदाहरणहरू छन् । सन् १९८४ मा पहिलो संस्करण भएयता सन् १९९९ मा पनि नेपालले आयोजना अवसर पाएको थियो । खासमा नेपालले सन् १९९७ मै आयोजना गर्नुपर्ने थियो ।


पूर्वाधार निर्माणको अपडेट

साग खेलकुदका लागि मुख्यस्थल काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला हो । दुवैको पुनर्निर्माण जारी छ । दशरथ रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको भनिएको छ । पोखरा रंगशालाको काम बल्ल सुरु भएको छ ।

‘पोखरा रंगशाला पुनर्निर्माणको टेण्डर प्रक्रिया पूरा गरी मन्त्रीज्यूले शिलान्यास गरिसक्नुभएको छ, ढिलोमा साउनसम्म निर्माण सम्पन्न हुनेछ,’ सदस्य(सचिव विष्टले भने, ‘पोखरा रंगशालामा प्यारापिट, चेन्जिङ रुम र मैदानमा घाँस बिछ्याउने काम हुनेछ । नेपालगन्ज रंगशालाकै मोडलमा पुनर्निर्माण गरिनेछ ।’ आठौं राष्ट्रिय खेलकुदको मुख्यस्थल नेपालगन्ज रंगशालामा ‘बर्मुडा ग्राँस’ आयात गरी बिछ्याइएको छ ।


दशरथ रंगशालामा साधारण प्यारापिटको काम सम्पन्न भएको छ । भीआईपी प्यारापिटको छत हाल्न टेण्डर प्रक्रिया सम्पन्न भएको विष्टले जानकारी दिए । अहिले चीन सरकारको सहयोगमा बन्न लागेको एथलेटिक्सको सेन्थेटिक ट्र्याक परिवर्तन गर्ने काम सुरु भएको छ । स्कोर बोर्ड निर्माण अन्तिम चरणमा पुगेको छ । राखेपका इन्जिनियर अरुण उपाध्यायले असारसम्म पुनर्निर्माणले पूर्णता पाउने बताइसकेका छन् ।


सातदोबाटोमा निर्माणाधीन वातानुकूलित पौडीपोखरीको काम ५० प्रतिशत पनि पूरा भएको छैन । १० महिनाअघि काम सुरु भएर फागुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको यस योजना बजेट अभावले निर्धारित समयमा सम्पन्न गर्न नसकिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।


२० करोड लागतमा बन्न लागेको २५ मिटरको वातानुकूलित पौडीपोखरीको बाहिरी संरचना बनेको छ । ‘पोखरी बनाउने, हिटिङ सिस्टम जडान गर्नेलगायतका धेरै काम बाँकी छ,’ अध्यक्ष बज्राचार्यले भने, ‘अक्टोबरसम्म सबै काम सम्पन्न गर्ने लक्ष्य छ तर त्यसका लागि द्रुत गतिमा काम हुनुपर्छ, आवश्यक बजेट निकासा छिटो हुनुपर्छ ।’


पोखरामा निर्माणाधीन लन टेनिस कोर्ट, हयान्डबल कोर्ट, बहुउद्देश्यीय कभर्डहललगायतका काम बजेट अभावका कारण रोकिएका छन् । पोखराको नवनिर्मित बहुउद्देश्यीय कभर्डहलको साउन्ड सिस्टम र लाइट जडानको काम बाँकी छ । ‘सरकारले बजेट उपलब्ध गराउने भनेको छ, त्यसैले पूर्वाधारमा रोकिएका कामहरू हामी साउनसम्म सम्पन्न गर्नेछौं, अन्य व्यवस्थापकीय काममा मेरो चिन्ता हो,’ सदस्य–सचिव विष्टले दोहोर्‍याए ।

प्रकाशित : चैत्र २, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?