कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ वुमेन्स च्याम्पियनसिप : सुधारिएको खेलमा नेपालको जित

नेपाल ३–० बंगलादेश

विराटनगर — नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले हराएको थियो, जुन भुटानविरुद्ध विगतका दुई भेटको तुलनामा ५ गोल थोरै थियो । कमजोर मानिएको भुटानविरुद्ध बंगलादेशले आक्रमक खेल्दै २–० को जित हात पारेको थियो । त्यसपछि नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भनेका थिए, ‘भुटानविरुद्ध खेलेजस्तो हामीसँग हुँदैन ।’

साफ वुमेन्स च्याम्पियनसिप : सुधारिएको खेलमा नेपालको जित

त्यसको सीधा अर्थ थियो, नेपालविरुद्ध बंगलादेशी खेलाडीको वर्चस्व हुने छैन । सहिद मैदानमा शनिबार त्यस्तै भयो र नेपाल ३–० को जित रच्दै समूह ‘ए’ को विजेता बन्यो ।


सुरुका तीन संस्करणको उपविजेता नेपाल पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा दुवै खेल जित्दै समूह ‘ए’को शीर्षस्थानमा रह्यो । नेपालले बुधबार हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेताविरुद्ध खेल्नेछ । चौथो साफको फाइनल खेलेको बंगलादेशले समूह ‘ए’ को उपविजेता रूपमा फाइनल प्रवेशका लागि बुधबारै समूह ‘बी’ को विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अघिल्ला चारै संस्करणको च्याम्पियन भारत र श्रीलंकाले समूह ‘बी’ बाट एक खेल बाकी छँदै अन्तिम चारको यात्रा गरिसकेका छन् । यी दुईबीच आइतबार हुने खेलले समूह विजेताको टुंगो लगाउने छ ।


पाँचौं साफको उद्घाटन खेलमा भुटानको रक्षापंक्ति छिचोल्न नेपाललाई निकै मुस्किल परेको थियो । तर, बंगलादेशविरुद्ध भने मैदानको चारैतिर नेपाली खेलाडी छाए । विशेषगरी रक्षापंक्तिमा गीता रानाको प्रदर्शन लोभलाग्दो देखियो । बंगलादेशले कमै आक्रमण गर्‍यो । दोस्रो हाफमा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् । ‘कुलिन ब्रेक’ अघि सुरुका ३० मिनेट नेपाली टिम निकै आक्रामक बनेको थियो । पाहुना टिमका डिफेन्सलाई बारम्बार छिचोलेको थियो ।


मिडफिल्डमा रेनुका नगरकोटेले फेरि एकपल्ट प्लेमेकरको भूमिका निर्वाह गरिन् । विंगरद्वय अनिता बस्नेत र मञ्जलीकुमारी योञ्जनले सुधारिएको खेल पस्कँदै शारीरिक बलियोपनको पनि फाइदा लिए । भुटानविरुद्ध पहिलो रोजाइमा प्रशिक्षक

खड्काले एक खेलाडी परिवर्तन गर्दै बंगलादेशविरुद्ध नेपाली टिम उतारेका थिए । उनले डिफेन्डर अमृता जैसीको स्थानमा पुनम जर्घामगरलाई पहिलो रोजाइमा अवसर दिए । तैपनि दुईतिरै साइड डिफेन्समा सुधार गर्नुपर्ने आवश्यकता देखियो ।


प्रशिक्षक खड्का सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मान्छन् । अग्रपंक्तिमा उनले अझै आफ्नो क्षमताअनुसारको खेल प्रदर्शन गर्न सकेकी छैनन् । कप्तान निरु थापा पनि आफ्नो गोल गर्ने कला थप निखार्न सक्छिन् । त्यसैले सावित्रा र निरुले थप मिहिनेत गर्ने हो भने नेपाली टिमको अग्रपंक्ति थफ आक्रामक हुनसक्छ ।


आक्रमक रूप

नेपाली टिमले पाँचौं मिनेटमै अग्रता लिने मौका पाएको हो । अनिता बस्नेतको चलाखीपूर्ण पासमा फरवार्ड सावित्राले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै डिफेन्स र गोलपिकरलाई समेत बिट गरिसकेकी थिइन् । तर उनले खाली पोस्टमा प्रहार गर्न ढिलाइ गरेपछि बल डिफेन्सले क्लियर गरिदिए ।


सावित्रा खेलको पहिलो स्पष्ट अवसरमा चुके पनि नेपालले अग्रता लिन धेरैबेर कुर्नुपरेन । मैदानको मध्यभागबाट डिफेन्डर मनमाया लिम्बुले पेनाल्टी क्षेत्रमा दिएको बललाई हेडद्वारा क्लियर गर्ने प्रयासमा बंगलादेशी डिफेन्डर मसुरा परविनले आफ्नो पोस्टमा गोल गर्न पुगिन् र नेपालले १–० को अग्रता लियो । डिफेन्डर पुनमको पासमा गोलकिपर अघि बढेको अवस्थामा निरुले २० औं मिनेटमा ‘चिप’ गरेको बल पोस्टबाट टाढिँदा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।


हीराकुमारी भुजेलको क्रसमा सावित्राले १५ औं मिनेटमा नजिकबाट प्रहार गरेको बलमा बंगलादेशी गोलकिपर रुपना चकमाले राम्रो बचाउ गरिन् । तर उनले २३ औं मिनेटमा भने सावित्रालाई रोक्न सकिनन् । हीराले उपलब्ध गराएको बललाई सावित्राले कठिन कोणबाट लोभलाग्दो गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाइन् ।


भुटानविरुद्ध पनि एक गोल गरेकी उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या २४ पुर्‍याइन् । चौथो साफ च्याम्पियनसिपमा एकै खेलमा ६ गोलसहित १२ गोल गरेकी उनी धेरै गोल गर्ने नेपाली खेलाडीको सूचीमा तेस्रोमा पर्छिन् । उनीभन्दा बढी पूर्व कप्तान अनु लामा (३५ गोल) र जमुना गुरुङ २५ गोल) गरेका छन् । २३ वर्षीया उनले २५ खेल खेलेकी छन् ।


लगातार तेस्रो खेलमा गोल

सावित्राले २६ औं मिनेटमा पनि गोल गर्ने अवसर पाएकी थिइन् । तर मञ्जलीको पासमा उनले बल बाहिर प्रहार गरिन् । सावित्राले २८ औं मिनेटमा दिएको बलमा मञ्जलीले गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । उक्त गोलको मुभ आकर्षक थियो । मञ्जलीले लगातार तेस्रो खेलमा गोल गरेकी हुन् ।


उनले यसअघि पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको पहिलो खेलमा भुटानविरुद्ध र भुवनेश्वरमा गत महिना भएको हिरो वुमेन्स गोल्डकपको फाइनलमा म्यानमारविरुद्ध १–१ गोल गरेकी थिइन् । ‘मेरो प्रदर्शन धेरै राम्रो भएको छैन । दोस्रो हाफमा सोचेजस्तो खेल्न सकिनँ । तर पहिलो खेलको भन्दा सुधार भएको छ,’ १८ वर्षीया मञ्जलीले भनिन्, ‘लगातार तीन खेलमा गोल गरें । देशका लागि गोल गरिरहेकोमा खुसी छु । अब योभन्दा राम्रो गर्दै जानेछु ।’


दोस्रो हाफमा नेपालको खेल केही सुस्तायो । पाहुना टिमका डिफेन्सले पनि केही राम्रा बचाउ गरे । सावित्राले ५८ औं मिनेटमा प्रहार गरेको बलमा खाली पोस्टअघिबाट डिफेन्डर परविनले बाहिर फालिन् । सावित्राले ६४ औं मिनेमटा प्रहार गरेको बल पनि डिफेन्डरले क्लियर गरिदिए ।


बंगलादेशले पनि दोस्रो हाफमा दुईपल्ट आक्रमण गर्‍यो । मोसरात जाहन सिरातले ६३ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बलमा गोलकिपर एन्जिलाले उत्कृष्ट बचाउ गरिन् । जाहनले ९० औं मिनेटमा प्रहार पेनाल्टी क्षेत्रनजिकबाट प्रहार गरेको बल बारमा लाग्दै फर्किएको थियो ।


पूजाको डेब्यु

राइटब्याक पूजा रानाले ८३ औं मिनेटमा मनमाया लिम्बुको स्थान लिँदै बंगलादेशविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी छन् । एएफसी वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको दोस्रो चरण प्रवेश गरेको नेपाली टिमकी यी १८ वर्षीया डिफेन्डरले भनिन्, ‘राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने सपना आज आएर साकार भयो । अब थप मिहिनेत गर्नेछु । आफ्नो खेल सुधार गर्दै निरन्तर राष्ट्रिय टिमबाट खेल्न चाहन्छु ।’ उनी गत महिना भएको हिरो गोल्डकपबाट टिममा परेकी हुन् ।


फरवार्ड रेखा पौडेलले भुटानविरुद्धको खेलमार्फत् अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेकी थिइन् । उनी बंगलादेशविरुद्ध पनि सब्स्टिच्युटको रूपमा मैदानमा ओर्लिइन् । यो साफमा सहभागि नेपाली टिममा डेब्यु गर्न बाँकी खेलाडी गोलकिपर उषा नाथमात्रै हुन् ।


‘रणनीतिअनुसारकै खेल’

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले समूहमा शतप्रतिशत जितपछि भने, ‘१५ मिनेटभित्र गोल गर्ने रणननीतअनुसार खेल भयो । त्यसको लागि सम्पूर्ण खेलाडीलाई बधाई । उनीहरूकै मिहिनेतको फल हो यो (जित) ।’


‘हामीले धेरै राम्रो खेल्यौं,’ पहिलोपल्ट साफ च्याम्पियन बन्ने योजना बनाएका प्रशिक्षक खड्काले भने, ‘दोस्रो हाफमा पनि धेरै अवसर पाएका थियौं । तर बंगलादेशी डिफेन्डरले राम्रो गरे र हामीले गोल थप्न पाएनौं । तीन गोल गरेपछि पेस अलि घटेको हो तर त्यसले अर्थ राख्दैन । निर्देशनअनुसारै खेलाडीले खेले ।’


बंगलादेशविरुद्ध यांगुनमा नोभम्बर, २०१८ मा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणको खेलमा नेपाल १–१ मा रोकिएको थियो । त्यसमा आफ्नो रणनीति असफल भएको पनि उनले फेरि दोहोर्‍याए । यांगुनअघिका चारै भेटमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।


आफ्नो फरवार्डबारे खड्काले भने, ‘सावित्राले कोसिस गरेकी हो । मौका पनि पाएकी हो । उनी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । उनको स्किल, स्पिडलगायत सबै पक्ष राम्रो छ ।’


खड्काका बंगलादेशी समकक्षी गोलाम रब्बानी छोतोनले भने, ‘नेपाल धेरै राम्रो टिम हो । उसका खेलाडी अनुभवी र परिपक्व छन् । हाम्रो टिम पनि राम्रो हो । शतप्रतिशत दिएर संघर्ष गर्‍यौं । हामीले थुप्रै स–साना गल्ती गर्‍यौं । तीनै गोल आफ्नै गल्तीमा भए ।’


उनले पहिलो गोलमा परविन, दोस्रोमा गोलकिपर र तेस्रो गोलमा डिफेन्डर आखी खातुनको गल्ती रहेको बताए । कम अनुभवी र जुनियर खलाडी (यू–१६, यू–१९) खेलाडी भएकाले नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल देखाउने योजना बनाएको छोतोनले सुनाए ।


नेपाली महिला टिमले बंगलादेशलाई पहिलो साफ २०१० को सेमिफाइनल र १२ औं दक्षिण एसियाली खेलकुद (साग) २०१६ को समूह चरणमा पनि समान ३–० ले हराएको थियो । ११ औं साग को समूह चरण र तेस्रो साफ २०१४ को सेमिफाइनल भेटमा पनि नेपालले समान १–० को सफलता हात पारेको थियो । यांगुनमा बराबरी भए पनि नेपालले विराटनगरमा आएर बंगलादेशमाथि पाँचौं जित हात पारेको हो ।


आजको खेल

भारतविरुद्ध श्रीलंका

१५ः०० बजे, सहिद मैदान

नेपाली टिम

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), पुनम जर्घामगर, हीराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु (८३ मिनेट, पूजा राना), रेनुका नगरकोटे, दीपा राई, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, निरु थापा–कप्तान (७२ मिनेट, अनिता केसी), सावित्रा भण्डारी (८६ मिनेट, रेखा पौडेल)

प्रकाशित : चैत्र ३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?