कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अजितको जित

नेपाली धावकले एसियालीस्तरको प्रतियोगितामा पहिलोपटक दिलाए स्वर्ण
कुशल तिमल्सिना

काठमाडौँ — एथ्लेटिक्स संघको विवादका कारण अन्तिम समयमा मात्र सहभागी हुन पाएका युवा खेलाडी अजितकुमार यादवले तेस्रो एसियन जुनियर एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । नेपाली धावकले एसियालीस्तरको प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो हो । 

अजितको जित

सप्तरीका १७ वर्षीय यी किशोर हङकङमा आइतबार सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने एक्ला खेलाडी थिए । ३ हजार मिटरमा प्रतिस्पर्धा गरेका अजितले आफ्नो व्यक्तिगत टाइमिङ सुधार गरी ८ मिनेट ३०.३२ सेकेन्डमा भारत, जापान र यमनका धावकलाई पछि पार्दै स्वर्ण पदक चुमेका हुन् । यस स्पर्धामा उनको व्यक्तिगत उच्च प्रदर्शन यसअघि ८ मिनेट ४४ सेकेन्डको थियो ।


स्पर्धामा भारतका अमित जांगिरले ८ मिनेट ३६.३४ सेकेन्डमा र यमनका गामिल अल–हामातीले ८ मिनेट ३८.६० सेकेन्डमा दूरी पूरा गरी क्रमशः रजत र कांस्य पदक जिते । जुनियर एथ्लेटिक्समा नेपालले एसियालीस्तरमा पहिलो पदक जितेको हो । सन् १९७३ मा फिलिपिन्समा भएको एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले कांस्य जितेका थिए । शुक्रबारदेखि ३ दिनसम्म चलेको च्याम्पियनसिपमा २० स्वर्ण, १० रजत र ९ कांस्य जितेर ३१ पदकका साथ चीन शीर्ष स्थानमा रहँदा ८ स्वर्ण, १० रजत र ९ कांस्यसहित २७ पदक जितेको भारत दोस्रो भयो ।


तेस्रो स्थानमा आएको जापानले ६ स्वर्ण, ८ रजत र ६ कांस्यसहित २० पदक हात पारेको छ । चाइनिज ताइपेईले ३ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो भने काजकिस्तान र इरानले समान २ स्वर्णमा चित्त बुझाए । एक खेलाडीको सहभागिता र एक स्वर्ण जितेको नेपाल पदक तालिकामा १० औं स्थानमा रह्यो । जुन दक्षिण एसियाली मुलुकमध्ये दोस्रो स्थान हो ।


एथ्लेटिक्स संघको विवादका कारण नेपाल सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । अध्यक्ष राजीवविक्रम शाह, वरिष्ठ उपाध्यक्ष सञ्जीव तुलाधर र कार्यवाहक महासचिव धनीराम चौधरीको पहलमा अजितले सहभागी हुने मौका पाएका थिए । नाम दर्ता, भिसा प्रक्रिया पूरा गरेर प्रशिक्षकसमेत रहेका महासचिव चौधरीसँग शुक्रबार मात्र उनी हङकङ प्रस्थान गरेका थिए ।


‘नाम दर्ताको समय सकिसकेको थियो, मैले एथ्लेटिक्स एसियाका अध्यक्षमार्फत पहल गर्दा नाम दर्ता हुन सकेकाले मात्र अजितले दौडन पाए, मेरो कार्यकालमा भएको यो सफलताले निकै खुसी छु,’ संघका अध्यक्ष शाहले भने ।


हालै दार्जिलिङमा भएको १० हजार मिटर दौडमा उत्कृष्ट प्रदर्शन गरेपछि अजित प्रशिक्षक तथा पदाधिकारीको नजरमा परेका थिए । गत वर्षको राष्ट्रपति रनिङ सिल्डमा सप्तरीबाट ३ हजार मिटर दौडमा ८ मिनेट ४४ सेकेन्डको कीर्तिमानी प्रदर्शन गरेसँगै सात महिनाअघि एपीएफले उनलाई करारमा नियुक्ति दिएको थियो ।


‘पछिल्लो समय निकै राम्रो प्रदर्शन गरिरहेको प्रतिभावान खेलाडीका रूपमा छनोट गरेर पठाएका थियौं,’ मुख्य प्रशिक्षक विक्रमजंग थापाले थपे, ‘स्वर्ण नै जितिहाल्ला जस्तो लागेको थिएन, किनभने त्यहाँ उसले भारत, जापानका धावकसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो तर पदकको आशाचाहिँ बिल्कुल थियो ।’


कार्यसमितिको पदावधि सकिएको एक वर्ष भइसक्दा पनि संघमा चुनाव हुन सकेको छैन । जिल्लाको निर्वाचन सकिए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति नदिँदा केन्द्रीय चुनाव हुन सकेको संस्थापन पक्षको भनाइ छ । यता विरोधी पक्षले भने अध्यक्ष शाहको पदलिप्साले एथ्लेटिक्स संघ ध्वस्त हुने क्रममा रहेको आरोप लगाएको छ । अप्रिलसम्ममा चुनाव गर्न नसकिए एसियाली एथ्लेटिक्स महासंघबाट कालोसूचीमा पर्ने जोखिम छ ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?