१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

शीर्ष स्थानमा लिभरपुल

एएफपी

लन्डन — रेलिगेसनबाट जोगिन संघर्षरत फुलह्यामविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुल एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अघि बढेको छ । 

शीर्ष स्थानमा लिभरपुल

फुलह्यामको घरेलु मैदान कार्भेन कटेजमा आइतबार साडियो मानेले पहिलो हाफमा लिभरपुललाई अग्रता दिलाएका थिए । उनले २६ औं मिनेटमा रोबर्टो फिर्मिनोको पासमा गोल गरे । ७४ औं मिनेटमा आफ्नै गल्तीले लिभरपुलले गोल खान पुग्यो । रक्षक भान डाइक र गोलरक्षक अलिसनबीच मिल्न नसकेको तालमेलको फाइदा लिभरपुलकै पूर्वखेलाडी रायन रावेलले उठाए ।


८१ औं मिनेटमा पेनाल्टीमा गोल गरी मिल्नरले लिभरपुलको जित निश्चित गरे । शनिबार हडर्सफिल्डले दुई गोलको अग्रता गुमाउँदै वेस्टह्यामसँग ४–३ को हार बेहोर्‍यो र टिम रेलिगेसनको निश्चिततातर्फ अग्रसर भयो । बर्नली पनि यस्तै खराब स्थितिमा छ र उसले दस खेलाडीमा सीमित लेस्टरसँग २–० को हार आत्मसात् गर्‍यो । हडर्सफिल्ड १४ अंकसहित पुछारमा छ । बर्नली भने ३० अंकमा पुछारबाट चौथो स्थानमा रहेको छ । बर्नली रेलिगेसन क्षेत्रबाट दुई अंक मात्र अगाडि रहेको छ । कार्डिफ २८ अंकमा अन्तिम तेस्रो स्थानमा छ ।


एफएकप

लन्डन– म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै शनिबार एफएकपमा स्वान्सीलाई पन्छाएर सेमिफाइनल पुगेको छ । यससँगै उसको चार उपाधि जित्ने सम्भावना कायम रह्यो । अर्कोतर्फ म्यानचेस्टर युनाइटेड भने उल्भ्सको हातबाट पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । पेप ग्वार्डिओलाको टिम पहिलो हाफसम्म दुई गोलले पछाडि थियो । तर खेलको अन्त्यतिर सर्जियो एगुरोले गोल गर्दै सिटीलाई ३–२ को उत्कृष्ट जित दिलाए ।


युनाइटेडले भने आफ्नो छिमेकीको जस्तो प्रदर्शन गर्न सकेन र २–१ ले पराजित रह्यो । प्रशिक्षकमा ओले गन सोल्सार आएयता युनाइटेड पराजित भएको यो तेस्रो पल्ट हो । च्याम्पियनसिप टिम स्वान्सी दुई गेलले अगाडि थियो । त्यसमा म्याट ग्रिम्स र बेरसान्ट सलेनीले गोल गरे । तर बर्नार्डो सिल्भाले ६९ औं मिनेटमा पहिलो गोल फर्काए । एगुरोको निर्णायक गोल अगाडि क्रिस्टिफोर नोरडेफेल्डले आत्मघाती गोल गरे ।


स्पेन

म्याड्रिड– जिनेदिन जिदानको आगमनयता रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा पहिलो जित निकाल्यो । उसले सेल्टा भिगोलाई पन्छायो । खराब समयबाट गुज्रिरहेको रियलका लागि यो जितपछि केही राहत प्राप्त भएको छ । अर्कोतर्फ एटलेटिको म्याड्रिडको लिग उपाधि जित्ने सम्भावनामा लगभग पूर्णविराम लागेको छ । एटलेटिको एथलेटिको बिलबोओसँग पराजित भयो । इस्को र गेराथ बेलको गोलमा रियलले सेल्टा भिगोलाई २–० ले हराएको हो ।


‘मैले सबै खेलाडीले आफूले सक्दो मज्जाले खेल्नु भनेको छु । हामीले एक ढिक्का भएर खेल्ने हो भने टिमले राम्रो नतिजा निकाल्ने निश्चित छ,’ जिदानले खेलपछि भने । एटलेटिको भने समान अन्तरले बिलबाओसँग निराश हुनुपरेको हो । अंक तालिकामा बार्सिलोना २७ खेलबाट ६३ अंकसहित शीर्ष स्थानमा छ । उसका पछाडि एक खेल बढी खेलेको एटलेटिको ५६ अंकमा दोस्रोमा छ । रियलले भने छिमेकी क्लबसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो ।


इटाली

मिलान– स्टेफानो स्टुरारोले आफ्नो पूर्व क्लबविरुद्ध गोल गरेपछि २–० को जित निकाल्दै जिनोआले इटलीको सिरी ए मा युभेन्टसको अपराजित यात्रा पूर्णविराम लगाइदिएको छ । गत साता च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडविरुद्धको उत्कृष्ट पुनरागमनका लागि ह्याटिक गरेका क्रिस्टियानो रोनाल्डोलाई जिनोआविरुद्धको खेलमा आराम दिइएको थियो । हारका बाबजुद युभेन्ट्स सिरी एको शीर्ष स्थानमा आरामदायी अवस्थामा छ । उसले २८ खेलबाट ७५ अंक बनाएको छ । नापोलीको ५७ अंक छ ।


क्लाउडियो रेनेरीको रोमाले शनिबार इटालीको सिरी ए मा संघर्षरत एसपीएएलको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । यस हारपछि रोमा युरोपेली च्याम्पियन्स लिगका लागि छनोटको यात्राका लागि दुई मिलान क्लबलाई चुनौती पेस गर्न कमजोर बनेको छ । रोमाको २८ खेलबाट ४७ अंक छ र पाँचौं स्थानमा रहेको छ । उसको ठीक अगाडि एसी र इन्टर मिलान छन् ।


प्रकाशित : चैत्र ४, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?