कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खेलकुदमन्त्रीको एक वर्ष

काठमाडौँ — जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेको १ वर्ष पूरा भएको छ । मन्त्री विश्वकर्माले आइतबार आफ्नो कार्यकालका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरी एकवर्षे कार्यकाल सफल भएको दाबी गरे ।

खेलकुदमन्त्रीको एक वर्ष

खेलकुद क्षेत्रमा अपेक्षित प्रगति हुन नसक्नुमा अघिल्ला सरकारको ढिलासुस्तीलाई मन्त्री विश्वकर्माले प्रमुख कारण मानेका छन् । ‘बनिसकेका संरचनामा खेलकुद आयोजना गर्नु र संरचना बनाएर आयोजना गर्नुमा धेरै फरक हुन्छ,’ आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद समयमै आयोजना गर्न नसक्नुका कारण प्रस्ट्याउँदै मन्त्री विश्वकर्माले भने, ‘आरोप लगाएको त होइन, अघिल्ला सरकारले पूर्वाधार र तयार गरी व्यवस्थित गरिदिएको भए अहिले समस्या हुन्थेन ।’


विश्वकर्माले पूर्वाधार निर्मार्णमा निकै प्रगति भएको विवरण प्रस्तुत गरिरहँदा १३ औं दक्षिण एसियाली खेलकुदको प्रशासनिक तयारीका बारेमा चाहिँ केही उल्लेख गरेनन् । भक्तपुरमा १ हजारदेखि १५ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय खेलकुद परिसर निर्माणको निश्चितता, दशरथ रंगशालाको पुनर्निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको, नेपालगन्जमा रंगशाला निर्माण भएको, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधुनिक रंगशाला निर्माण सुरु भएको, देशभर ६ स्थानमा रंगशाला, १९ कबर्डहल र ७ क्रिकेट मैदानको निर्माण सुरु भएको विवरणमन्त्रीको कार्यप्रगतिमा उल्लेख छ ।


भक्तपुरमा प्रस्तावित परिसरका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट जग्गा प्राप्त भएपछि निर्माण सुरु हुने मन्त्री विश्वकर्माले जानकारी दिए । त्यस्तै राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका १ सय ८१ खेल संघको लिखत राख्ने प्रक्रिया सम्पन्न भएको र अन्तर्राष्ट्रिय सफलता र लोकप्रियताका आधारमा ती खेललाई तीन समूहमा वर्गीकरण गरी प्राथमिकतामा राख्ने तयागरी भएको मन्त्री विश्वकर्माले बताए ।


विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा महेश्वर महर्जनले स्वर्ण जितेको, नेपाली क्रिकेट टोलीले युएईविरुद्ध शृंखलामा जित हासिल गरेको, एसियाली खेलकुदमा २० वर्षपछि रजत पदत आएको लगायतका उपलब्धि मन्त्रीले कार्यकालमा राखेका छन् ।


मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद चैत अन्तिम साता वा वैशाख पहिलो सातामा सुरु गर्ने गरी तयारी भइरहेको बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारिणी समितिको बैठकले चैत २५ गतेको मिति सिफारिस गरेको थियो । खेलकुदमन्त्री अध्यक्ष रहेको राखेप बोर्डको बैठकले मिति तय गर्न बाँकी छ । ‘मुख्य खेल स्थल नेपालगन्ज रंगशालाको भीआईपी प्यारापिटको छानो चीनबाट आज मात्र आइपुगेको छ, छानो हाल्ने काम सकिएसँगै प्रतियोगिता सुरु हुन्छ,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा

उनले भने ।


विवादित खेल संघहरूको विवाद समाधान प्रक्रिया सुरु भएकोलाई पनि विश्वकर्माले प्रमुख उपलब्धिको रूपमा उल्लेख गरेका छन् । कराते, जिम्न्यास्टिक, मोडर्न पेन्टाथनलको विवाद समाधान भएको र तेक्वान्दो, क्रिकेट र कुस्तीको विवाद पनि समाधानको क्रममा रहेको मन्त्रीले जानकारी दिए ।


मन्त्रालयले राष्ट्रिय खेलकुद ऐन परिमार्जन गर्न बनेको विधेयक संघीय संसद्मा पेस भएको जनाएको छ । साथै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधिलगायतका केही दूरगामी नीतिगत निर्णयहरू भएका छन् ।


मन्त्रीले आफ्नो १ वर्षे कार्यकालमा खेलाडीको विदेश पलायन र खेलाडीका नाममा हुने मानव तस्करजस्ता अवैध क्रियाकलाप रोक्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिएका छन् ।

प्रकाशित : चैत्र ४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?