फुटबलकी 'हिरा'

हिराकुमारी भुजेल नेपाली राष्ट्रिय महिला फुटबल टिमकी बहुमूल्य रत्न बनेकी छन् । उनको जिम्मेवारी लेफ्टब्याकका रूपमा विपक्षीलाई रोक्ने हो । उनी ओभरल्यापमा बढदै गोलको अवसर सिर्जना गर्न पनि माहिर छिन् । 
राजु घिसिङ

विराटनगर — उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरूसँग । गाउँमा फुटबल खेल्ने केटी अरू थिएनन् । बजार -कटारी) मा भने केटीहरू फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् । गाउँका केटी जम्मा पारिन् ।

फुटबलकी 'हिरा'

उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफैं साथीहरूलाई खेल सिकाउँथिन् ।

'छोरी मान्छे पनि फुटबल खेल्ने ? लाज हुँदैन ?' धेरैले उनलाई भन्थे । 'भागेर, लुकेर भए पनि केटाहरूसँगै खेलिरहेँ,' उनले सुनाइन् ।

हिराले भोर्लेमा २०-२२ जना केटी तयार पारे पनि बल थिएन । 'स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो । ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्यौं र बल तयार पारेर खेल्न थाल्यौं,' उनले सम्भिmइन् । त्यसअघि उनी मोजा र प्लास्टिकको बल खेल्थिन् । त्यो पनि खाली खुट्टै । प|mक लगाएर । उनी भन्छिन्, 'कहिलेकाहीँ डोरी र प्लास्टिकले बाँधेरै भए पनि कामचलाउ बल बनाएर खेल्थ्यौं ।'

हिराले बजारको टिमविरुद्ध खेल्ने भने पाइनन् । राम्रो खेल्न थालेपछि उनलाई बजारकै टिमले खेल्न बोलायो । त्यहाँ राम्रो गरेपछि धनुषा जिल्लाको टिममा पुगिन् । २०६८ सालको छैटौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टिमबाट खेलिन् ।

उनको करिअरले उचाइ लिन थालेपछि गाउँमा केटीहरूको टिम भने टुटदै गयो । उनी भने २०७० सालमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा पुगिन् । तीन वर्षअघि राष्ट्रिय टिममै छानिइन् । उनी अहिले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी बहुमूल्य रत्न 'हिरा' बनेकी छन् ।

रक्षापंक्तिमा बाँया क्षेत्रबाट खेल्ने उनले सहिद मैदान, विराटनगरमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । तीनपल्टको उपविजेता नेपाली टिम भुटान र बंगलादेशलाई समान ३-० ले हराएर समूह 'ए' मा पहिलो भयो । पहिलोपल्ट साफ च्याम्पियन बन्ने दाउमा रहेको नेपालले बुधबार हुने सेमिफाइनलमा श्रीलंकाविरुद्ध खेल्नेछ ।

२३ वषर्ीया हिराको जिम्मेवारी लेफ्टब्याकका रूपमा विपक्षीलाई रोक्ने हो । उनी ओभरल्यापमा अघि बढदै गोलको अवसर सिर्जना गर्न पनि माहिर छिन् । उनले बंगलादेशविरुद्ध सावित्रा भण्डारीको गोलमा लोभलाग्दो पास दिएकी थिइन् । उनले सिलीगुढी -भारत) मा भएको चौथो साफ वुमेन्स च्याम्पियनसिप २०१६ मा माल्दिभ्सविरुद्ध एक गोल पनि गरेकी थिइन् ।

उनले सन् २०१६ फेब्रुअरीमा सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद -साग) मा बंगलादेशविरुद्ध ३-० ले जित हात पारेको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । त्यसमा पहिलो रोजाइमै मैदानमा ओर्लिएकी उनले त्यसयता नेपालले खेलेका सबै खेल -२१) खेलेकी छन् । त्यो पनि पूरा समय ।

गत जेठयता नेपाली टिम सम्हालिरहेका मुख्य प्रशिक्ष्ाक हरि खडकाले भने, 'उनको स्पिड एकदमै राम्रो छ । उनी रचनात्मक फुटबल खेल्ने भएकी छन् । एकदमै मिहिनेत गर्ने उनी भरपर्दो डिफेन्डर हुन् । अगाडि बढदै उनले गर्ने क्रस, पेनेट्रेसन राम्रो हुन्छ ।' टिममा उनको आगमनपछि नेपालले १२ औं साग २०१६ मा रजत पदक जित्यो ।

चौथो साफमा सेमिफाइनलमै रोकिए पनि नेपाली टिम पहिलोपल्ट सहभागी हुँदै ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो । नेपाल गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकप २०१९ मा उपविजेता भयो । यी चारै प्रतियोगितामा हिराको प्रदर्शन उच्चकोटीको थियो । 'अझै मिहिनेत गर्नुछ फुटबल खेल्नुछ । देशका लागि सफलता हात पार्नुछ । अहिले मेरो ध्यान यसैमा छ,' हँसिली स्वभावकी उनले सुनाइन् ।

हिरा मध्यमाञ्चलबाट २०६९ सालमा इलाममा राष्ट्रिय लिग खेल्दादेखि नियमित डिफेन्समा खेलिरहेकी छन् । इलामकै प्रदर्शनले उनलाई एपीएफसम्म पुर्‍याएको थियो । घरेलु महिला फुटबलको बलियो टिम एपीएफमा रिता मगर घाइते भएपछि उनले सुरुबाटै खेल्ने अवसर पाएकी थिइन् । त्यसैबाट उनको खेल निखारिएको हो ।

उनी राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा -कीर्तिमान ३५ गोल गरेकी) र जमुना गुरुङ -२५ गोल) लाई आदर्श मान्छिन् । भन्छिन्, 'अनु र जमुना दिदीको फोटो र नाम पत्रिकामा आइरहन्थ्यो । उहाँहरूलाई एकपल्ट भेट्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोंच्थे । जमुना दिदीको खेल हेर्न पाइएन तर अनु, भगवती -थापा) दिदीसँगै खेल्ने अवसर पाएँ । भाग्यमानी ठान्छु ।' उनले आफ्नो करिअरमा प्रशिक्षकहरू धनुषाका रोशन लामा, जय लामा, कल्याण खडका, मध्यमाञ्चलका स्वर्गीय शेरबहादुर लामाको योगदान महत्त्वपूर्ण रहेको बताइन् ।

पारिवारिक पीडा

हँसिली छिन् । सुकिली देखिन्छिन् । उनको बाल्यकाल सुखद रहेन । उनी दुई वर्षकी छँदा आमाले छाडिन् । ५ वर्षकी छँदा बुवाको निधन भयो ।

'मैले बुबा, मम्मी भनेको यो रहेछ भन्ने थाहा पाउँदा मेरो जीवनमा न बुबा हुनुहन्थ्यो न मम्मी,' हिरा भावुक बनिन्, 'अहिले पनि कसैले मम्मी, बुबा भनेको सुन्दा अप्ठ्यारो महसुस हुन्छ ।' उनकी आमा भोर्लेनजिकै वीरेन्द्रबजारमा छिन्, अर्कै परिवारमा । रोजगारीका लागि खाडी पुगेका बुबाको २०५८ जेठमा उतै मृत्यु भएको थियो । 'उहाँलाई उतै हृदयाघात भएको रे,' उनले सुनाइन्, 'बुबालाई एकदमै मिस गर्छु । अहिले उहाँ भएको भए म कति खुसी हुन्थे होला भन्ने लागिरहन्छ ।'

बुबाको मृत्युपछि तीन छोरी र दुई छोराको भुजेल परिवार सम्हाल्ने बाध्यता करिब ६० वर्षकी हजुरआमालाई पर्‍यो । 'हामीलाई सम्हाल्न फुपू आफ्नो परिवार छाडेरै माइत फर्किनुभयो । बजु र फुपूले खेती गरेर हामीलाई हुर्काउनुभयो,' उनले सुनाइन् ।

उनी आमासँग सम्पर्कमै छिन् । 'उहाँले नै मलाई जन्म दिनुभयो । सँगै बस्न पाएनौं तर भेट्छौं बोल्छौं,' आमाबारे उनले भनिन् । उनले काठमाडौंमा आमालाई आफ्नो एक खेल प्रत्यक्ष हेराएकी छन् ।


४ सय सापटी

हिराले १५ वर्षकी छँदा धनुषा जिल्ला टिममा छनोट भएपछि पहिलोपल्ट फुटबल सुज लगाएकी थिइन् । 'जुत्ता किन्ने २५० रुपैयाँ पनि थिएन । त्यसअघि खालि खुट्टै खेल्थें,' उनले सुनाइन्, 'पहिलोपल्ट निभियाको गोटीवाला जुत्ता लाएर खेल्न पाउँदा कम्ती रमाइलो लागेन !' छैटौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न धनगढी जाँदा सान्दाई प्रकाशले सापटी लिएर ४ सय रुपैयाँ खर्च दिएको उनलाई ताजै छ ।

सशस्त्र प्रहरीको जवान हुनाले अहिले उनी सानोतिनो आवश्यकता आफैं जोड्न सक्छिन् । राष्ट्रिय टिमकै गीता राना, रेखा पौडेल र पूर्वखेलाडी विद्या रानामगरसँगै स्वयम्भूमा फ्ल्याट लिएर बसेकी छन् ।

उनको पढाइ राम्रो थिएन । हजुरआमा फुटबल नखेल्नू भन्थिन् । उनी लुकेर, ढाँटछल गरेर खेलिहाल्थिन् । अहिले उनलाई भोर्लेमा राष्ट्रिय खेलाडी भनेर सबैले चिन्छन् । 'पहिला फुटबल खेल्दा मलाई गाली गर्नेहरू अचेल हाम्रो गाउँकी केटी यो ठाउँमा पुगिसकी भनेर गर्व गर्छन् । आफ्ना बच्चाहरूलाई पनि मजस्तै खेलाडी बन्न लैजानु भन्छन्,' उनले भनिन् ।


हिराकुमारी भुजेल

जर्सी नम्बर : ६

पोजिसन : लेफ्टब्याक

अन्तर्राष्ट्रिय डेब्यू : ५ फेब्रुअरी, २०१६ । सिलोङ

बंगलादेशविरुद्ध ३-० को जित

१२ औं दक्षिण एसियाली खेलकुद

खेल : २१

गोल : १ -माल्दिभ्सविरुद्ध । चौथो साफ २०१६ । सिलीगुढी)

उपलब्धि : रजत पदक -१२ औं दक्षिण एसियाली खेलकुद २०१६)

ओलम्पिक छनोटको दोस्रो चरण प्रवेश -२०१८)

उपविजेता -हिरो वुमेन्स गोल्डकप २०१९)

क्लब : एपीएफ

उमेर : २३ वर्ष

प्रकाशित : चैत्र ५, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?