साफ वुमेन्स च्याम्पियनसिप : भारत उस्तै बलियो

नेपाली टिमले पहिलोपल्ट घरेलु मैदानमा भएको प्रतियोगितामा सुधारिएको खेल प्रदर्शन गरे पनि समूह चरणसम्म डिफेन्डिङ च्याम्पियन भारत नै बलियो देखिएको छ ।
राजु घिसिङ

विराटनगर — अघिल्ला चारै संस्करणको च्याम्पियन भारत र तीनपल्टको उपविजेता नेपाल दक्षिण एसियाली महिला फुटबलका उत्कृष्ट टिम हुन् । त्यसैले हुनसक्छ, नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपपूर्व पत्रकार सम्मेलनमा भनेका थिए, ‘फाइनल नेपाल र भारतबीच हुन्छ भन्ने लागेको छ ।’ सेमिफाइनल समीकरणले पनि उनको बोलीलाई वास्तविकता नजिक पुर्‍याएको छ ।

साफ वुमेन्स च्याम्पियनसिप : भारत उस्तै बलियो

डिफेन्डिङ च्याम्पियन भारत र नेपाल आ–आफ्नो समूहमा अनुमान गरेजस्तै विजेता भए । सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध खेल्दै छ भने भारतले बंगलादेशलाई प्रतिस्पर्धी पाएको छ । दुवै सेमिफाइनल बुधबार सहिद मैदानमा हुँदै छ । फुटबलको मैदानमा जे पनि हुनसक्छ तर समूह चरणको प्रदर्शन र इतिहास हेर्ने हो भने नेपाल र भारत सेमिफाइनलका आफ्ना प्रतिद्वन्द्वीभन्दा उच्चकोटीका हुन् । त्यसैले बुधबारको खेल नेपाल र भारतका लागि साफमा चौथोपल्ट फाइनल भेट्ने औपचारिक बाटोमात्र हुनसक्छ ।


दक्षिण एसियाली फुटबलको महारथी भारत नै हो । त्यसलाई एसियाली फुटबलकै सबैभन्दा कमजोर क्षेत्रमा ९ वर्षसम्म अपराजित रहेको तथ्यांकले पनि साबित गर्छ । उसले तीन वर्षअघि सिलिगुढीमा भएको चौथो साफको समूह चरणमा बंगलादेशविरुद्ध बराबरी खेलेको थियो । त्यसबाहेक भारतले साफमा सबै खेल जितेको छ । साफमा नेपाल अर्को यस्तो टिम हो, जसले भारतविरुद्ध सबै खेल हारे पनि अरु टिमविरुद्ध शतप्रतिशत जित दर्ता गरेको छ ।


साफमा पाँचौंपल्ट सहभागी बंगलादेशी कप्तान साविना खातुनले नेपाली टिम पहिलाभन्दा प्राविधिक रूपमा राम्रो भएको भएको बताएकी छन् । तर त्यसको मतलब घरेलु टोली साफकै सबैभन्दा उत्कृष्ट भन्ने होइन । किनभने इतिहास र समूह चरणको खेलको आधारमा भारत फेरि पनि फेवरेट देखिएको छ । हुन त प्रशिक्षक मायमोल रक्कीले मैदानमा ओर्लनुपूर्व नै पाँचौंपल्ट उपाधि जित्न आएको भनेकी थिइन् । उनको टिम पहिलो खेलमा माल्दिभ्समाथि ६–० को जित निकाल्दा त्यस्तो राम्रो देखिएको थिएन । तर श्रीलंकाविरुद्ध ५–० को जितमा भने भारतीय खेलाडी मैदानको चारैतिर छाएका थिए ।


नेपालले पनि उद्घाटन खेलमा गतिलो प्रदर्शन गर्न सकेन । त्यसैले भुटानविरुद्ध जितको अन्तर ३–० मै सीमित भयो । जबकि भुटानविरुद्ध त्यसअघिका दुई खेलमा नेपालले ८–० को सफलता हात पारेको थियो । प्रशिक्षक खड्काले स्विकारे पनि, ‘केही मुख्य रणनीति सफल भएन ।’ सँगै उनले गल्ती नदोहोर्‍याउने वाचा गरेका थिए र भयो पनि त्यस्तै । भुटानविरुद्ध सुस्त देखिएको नेपाली टिमले बंगलादेशविरुद्ध गति लियो र ३–० को जित निकाल्यो । नेपाल चार महिनाअघि यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा त्यही बंगलादेशी टिमसँग १–१ मा रोकिएको थियो ।


पछिल्लोपल्टको उपविजेता बंगलादेशविरुद्ध सानदार जित हात पारे पनि नेपाल नै उपाधि होडको सबैभन्दा बलियो टिम हो भन्ने अवस्था छैन । साफ (३), दक्षिण एसियाली खेलकुद (२) र हिरो वुमेन्स गोल्डकप (१) गरी ६ पल्ट फाइनलमा चुकिसकेको नेपाली टिमले पहिलो उपाधि चुम्ने हो भने धेरै सुधार आवश्यक छ । अन्यथा फेरि भारत (सम्भवत्) सामु घुँडा टेक्नुपर्ने अवस्था आउने छ । त्यसअघि सेमिफाइनलमा श्रीलंकाको चुनौती पन्छाउनुपर्ने त छँदै छ ।


सुधार आवश्यक

मुख्यतः नेपालको साइड डिफेन्समा सुधार अत्यावश्यक छ । लेफ्टब्याक हीराकुमारी भुजेलमा धेरै बेर बल राख्ने खेल टिमका लागि महँगो पर्नसक्छ भने राइटब्याक मनमाया लिम्बुमा छरितोपन चाहिएको छ । सेन्टरब्याक गीता राना परिपक्व र भरपर्दा खेलाडीमा परिणत भएकी छन् ।


प्लेमेकर रेनुका नगरकोटे र दीपा राई राम्रो लयमा छन् तर मिडफिल्डमा सधैं खुलेर खेल्ने अवसर नपाउन सक्छन् । विंगरद्वय मञ्जलीकुमारी योञ्जन र अनिता बस्नेतको वास्तविक गति, डिफेन्सलाई छिचोल्ने कला र बल प्रहार गर्ने खुबी अझै देखिएको छैन । दोस्रो खेलमा भने दुवैमा सुधार देखियो । मञ्जलीले दुवै खेलमा गोल पनि गरिन् ।


प्रशिक्षक खड्का सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मान्छन् । उनले दुवै खेलमा एक एक गोल गरिन् र आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या २४ पुर्‍याइन् । तर उनको उत्कृष्ट खेल समूह चरणमा देखिएन । कप्तान निरु थापा निकै भलाद्मी देखिएकी छन् । उनले बिनास्वार्थ सावित्रालाई साथ दिइरहेकी छन् । अग्रपंक्तिमा सावित्रा एक्लीजस्तै देखिएकी छन् । त्यसैले उनको अनुपस्थितिमा पनि डिफेन्सलाई त्रसित पार्नसक्ने खेलाडीको अभाव नेपाली टिममा छ ।


पहिला भारतविरुद्ध मैदानमा ओर्लनुअघि नै खेलाडीमा पराजित मानसिकता हाबी भइसकेको हुन्थ्यो । नेपालले भारतलाई भुवनेश्वरमा गत महिना भएको हिरो गोल्डकपमा २–१ ले हराएको थियो, जुन भारतविरुद्ध नेपाली महिला टिमको पहिलो सफलता हो । त्यसअघि नेपालले छिमेकीविरुद्ध यांगुनमा १–१ को नतिजा निकालेको थियो । त्यसैले खेलाडी र प्रशिक्षक खड्कामा ‘हामी सक्छौं’ भन्ने आत्मविश्वास जागेको छ । यो ऊर्जा नै नेपाली टिममा अहिलेको सबैभन्दा ठूलो शक्ति हो । सजिलै ५–७ पास गर्दै रचनात्मक फुटबल खेल्ने शैलीको विकास पनि भएको छ ।


सन्तुलित टिम

हिरो गोल्डकपमा फाइनल खेलेपछि नेपाली टिम साफमा सहभागी हुन आइपुगेको हो । भारत भने ठूला टिमसँगै टर्किस कप खेलेर विराटनगर ओर्लिएको हो । समूह चरणमा उसका चार खेलाडीले २–२ गोल गरे । टिम सन्तुलित देखिएको छ । विंग्समा सञ्जु यादव र रतनबाला देवीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । संगीता बास्फोर र इन्दुमथी मिडफिल्डमा छाइरहेका छन् ।


अग्रपंक्तिमा ग्रेस डाङ्मी र फरवार्ड सान्धिया रंगनाथनलाई रोक्न साफका जुनसुकै टिमलाई पनि गाह्रो छ । डिफेन्समा रहे पनि कप्तान असलता देवी र स्विटी देवीका हरेक पास उपयोगी बनेका छन् । इंग्लिस क्लब वेस्टह्याममा दुई सिजन बिताएकी अदिती चौहानले पोस्ट सम्हालेकी छन् । शारीरिक रूपमा पनि भारतीय खेलाडी यो साफकै बलिया देखिए ।


यो साफमा पहिलो चरणबाटै बाहिरिए पनि भुटानले सुधारिएको प्रदर्शन गर्‍यो । कोरियाली प्रशिक्षक सुङ जी लीले भविष्यलाई लिएर साफको टिम बनाइएको बताएका थिए । समूह चरणबाटै बाहिरिएको अर्को टिम माल्दिभ्सको खेलमा भने खास प्रगति थिएन । तेस्रोपल्ट सेमिफाइनल प्रवेश गरे पनि श्रीलंकालाई फड्को मारेको टिम भन्ने अवस्था छैन । बंगलादेशले निकै सुधार गरेको मैदानमै देखियो । नेपाली टिम फेरि राम्रो बनेको छ । सबैभन्दा बलियो भने भारत नै देखियो ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?