कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नयाँ च्याम्पियन पाउँदै माईभ्याली

विप्लव भट्टराई

इलाम — क्यामरुनी टोली दाउफिन्स नेपालका फुटबल क्लबहरूलाई निकै टाउको दुखाइ बन्दै आएका छन् । नेपाली खेलाडीको तुलनामा बलियो शारीरिक बनोटसँगै खेल कौशल पनि अब्बल भएको अवस्थामा नेपाली क्लबले उनीहरूसँगको प्रतिस्पर्धा कठिन मान्ने गरेका छन् । यो सिजन आठ प्रतियोगितामा भाग लिएको दाउफिन्सले तीन उपाधि जितिसकेको छ । माईभ्याली गोल्डकपका लागि यी दुवै टिम नयाँ हुन् । 

नयाँ च्याम्पियन पाउँदै माईभ्याली

यता माईभ्यालीमा उत्कृष्ट फर्ममा रहेको हिमालयन शेर्पाले इलामबाट उपाधिको खाता खोल्न चाहन्छ । फाइनल पुग्नका लागि दाउफिन्सभन्दा १ खेल बढी खेलेको हिमालयनले ३ खेल जित्दा ११ गोल गरेको छ । यति हुँदा पनि प्रशिक्षक भने टिमको खेलसँग अझै सन्तुष्ट बन्न सकेका छैनन् ।


फिनिसिङ लाइनमा अझै समस्या भएको स्विकार्दै टिम व्यवस्थापनले फाइनलमा यसअघिको कमजोरी सुधार्ने विश्वास लिएको छ । पहिलो खेलमा हङकङविरुद्ध ५–१ को जित निकालेको हिमालयनले क्वाटरफाइनलमा थ्रीस्टारलाई ३–१ गोलले पाखा लगायो । सेमिफाइनलमा झापाको मेची नेत्रालयलाई ३–० ले पराजित गरेको हिमालयन मंगलबार उच्च मनोबलसाथ फाइनल उत्रने योजनामा छ । ‘दाउफिन्ससँगको खेल त्यति सहज नभए पनि उनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता छ,’ हिमालयनका प्रशिक्षक विजेन्द्र पुडासैनीले प्रिम्याच कन्फ्रेन्समा भने ।


यो सिजन हिमालयन शेर्पाले वीरगन्जको विराट मेमोरियलको सेमिफाइनलमा त्रिभुवन आर्मीसँग टाइब्रेकरमा पराजित हुनुपरेको थियो । पोखरामा आर्मीसँगै क्वाटरफाइनलमा पराजित हिमालयनले सिमरामा थ्रीस्टार र राइनो गोल्डकपमा च्यासलसँग पराजय भोगेको थियो । तीन अफ्रिकन खेलाडीसहित आएको हिमालयनको भरपर्दा खेलाडी झापासँगको सेमिफाइनलमा घाइते भएर मैदान छाडेका थिए । उनी फाइनलमा उत्रन नसके हिमालयनलाई थप समस्या पर्नसक्छ ।


यता दाउफिन्स चौथो गोल्डकप उचाल्ने दाउमा छ । पछिल्लो पटक झापा गोल्डकपमा आत्मघाती गोलमार्फत सेमिफाइनलमा त्रिभुवन आर्मीसँग चुकेको दाउफिन्सले पहिलोपल्ट हिमालयनसँग प्रतिस्पर्धा गर्न लागे पनि उसका सबै खेल हेरेर रणनीति तय गरेको छ । क्यामरुनी टोलीले साइड विङ्गर ओकोन्डा र मेसुकेसँग धेरै अपेक्षा गरेको छ । ‘खेल हुने बेलामा मैदान भिजाइने गरेकाले खेलाडीले खुलेर खेल्नै पाएका छैनन्,’ व्यवस्थापक आशिक थापा मगरले भने, ‘हामी उपाधि जित्नेमा धेरै आशावादी छौं ।’


दाउफिन्सले पोखराको मनकामना, धरानको बुढासुब्बा र बुटवलको तिलोत्तमा गोल्डकप जितेको थियो । खप्तड गोल्डकपबाट दाउफिन्सको नेपाल प्रवेश भएको हो । त्यहाँ टोली संकटासँग हारेको थियो । माईभ्यालीमा सर्वाधिक गोलकर्ता हिमालयनका सुनील खड्का छन् । उनले ४ गोल गरेका छन् । दाउफिन्सका टिनाटिना र पेटङ्गाको नाममा २–२ गोल छ ।


विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ जित्नेछन् । २०७१ सुरु माईभ्यालीको पहिलो संस्करण त्रिभुवन आर्मीले जितेको थियो । दोस्रो र तेस्रोमा झापा ११ च्याम्पियन भयो भने चौथो संस्करणको उपाधि थ्रीस्टारको नाममा रह्यो ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?