२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एएफसी यू–२३ छनोट : अपर्याप्त तयारी 

कुशल तिमल्सिना

काठमाडौँ — उमेर समूह फुटबलमा उपल्लो दर्जाको टिम हो यू–२३ । राष्ट्रिय टोलीको आधारका रहेकाले यसलाई ‘ब्याकअप’ का रूपमा लिइन्छ । नेपाली राष्ट्रिय फुटबलको यही ‘ब्याकअप’ टिम एएफसी यू–२३ च्याम्पियनसिप छनोट खेल्न मंगलबार कतार जाँदै छ । जहाँ नेपालको युवा टोलीले एसियाली महारथीदेखि उदाउँदो शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एएफसी यू–२३ छनोट : अपर्याप्त तयारी 

उमेर समूहको फुटबल विकासका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१३ देखि सुरु गरेको यस च्याम्पियनसिपको चौथो संस्करण २०२० मा थाइल्यान्डमा हुँदै छ । आयोजक थाइल्यान्डसहित एएफसीमा आवद्ध ४४ देशलाई ११ समूहमा विभाजन गरी अन्तिम स्पर्धाका लागि १६ टिमको छनोट गरिनेछ ।


हरेक समूहका विजेता र उत्कृष्ट चार उपविजेताले थाइल्यान्ड भ्रमण गर्नेछन् । समूह ‘के’ को छनोटमा थाइल्यान्ड शीर्षस्थानमा नरहेमा उत्कृष्ट ५ उपविजेताले प्रतियोगिता खेल्न पाउने व्यवस्था गरिएको छ । किनभने थाइल्यान्ड आयोजकको हैसियतमा स्वतः छनोट हुनेछ । तर उसले पनि छनोट प्रतियोगिता भने खेल्नेछ ।


छनोटमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा एसियाली च्याम्पियन कतार, ओमान र अफगानिस्तान छन् । उमेर समूहमा तीनै प्रतिस्पर्धी नेपालका लागि नयाँ हुन् । यसै त एसियाली स्तरमा नेपाली टोलीको प्रदर्शन राम्रो छैन, यसअघिका तीनै संस्करणमा नेपालले छनोट चरण पार गर्न सकेको छैन । सबै संस्करणको छनोटमा खेलेका १२ मध्ये नेपालले १ खेलमात्र जितेको छ ।


छनोट प्रतियोगिताका लागि नेपाली टोली तीन सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणरत छ । दैनिक दुई घण्टाको प्रशिक्षण हेर्दा नेपालले एसियाली स्तरको प्रतियोगिता छाडा गुम्ने विश्वसनीयताको डरले मात्र सहभागी हुँदै छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनिसकेका छन्, ‘सबैलाई थाहा छ कि तयारी पर्याप्त छैन, मैत्रीपूर्ण खेल खेल्न भ्याइएन ।’


‘एएफसीको प्रतियोगिता भएकाले प्रतिष्ठाका लागि पनि सहभागिता जनाउनै पर्ने अवस्था एकातिर छ, अर्कातिर हामीभन्दा बलिया प्रतिद्वन्द्वी छन्,’ प्रशिक्षक महर्जनले भने, ‘हामीले हाम्रो शतप्रतिशत दिनेछौं, जित्ने नै लक्ष्य राख्नु ठूलो महत्त्वाकांक्षा हुन्छ कि ?’

तयारी अवश्य राम्रो छैन तर निराश हुनुपर्ने अवस्था पनि नरहेको प्रशिक्षक महर्जन बताउँछन् । ‘छोटो समयमै भए पनि खेलाडीले राम्रो सन्तुलन कायम राखेका छन्, हालै सकिएको लिग र मोफसलमा भइरहेका नकआउट प्रतियोगिताका कारण सबै फिट छन्,’ उनले भने ।


प्रशिक्षक महर्जनले नयाँ र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समेटेर २३ सदस्यीय टोली बनाएका छन् । विमल घर्तीमगरले टोलीको कप्तानी गर्नेछन् । प्रारम्भिक छनोटमा परेका २९ खेलाडीबाट २३ को छनोट गरिएको हो । खेलाडीहरू पनि तयारीबाट सन्तुष्ट भने छैनन् । ‘हामीभन्दा उच्च स्तरीय टोलीहरू छन्, तर हामीले आफ्नो शतप्रतिशत दिएर खेल्ने हो । राष्ट्रिय टोलीबाट खेल्दा जहिले पनि एउटा उच्च जोस आउँछ, सकारात्मक नतिजाका लागि त्यसैलाई प्रयोग गर्ने प्रयास गर्नेछौं,’ कप्तान विमलले भने ।


दोहा स्पोर्ट्स सिटीको एक्पायर–४ मैदानमा शुक्रबार नेपालले आफ्नो पहिलो खेल ओमानसँग खेल्नेछ । घरमै सम्पन्न सन् २०१३ को संस्करण र २०१८ को संस्करणमा छनोट भएको ओमानले समूह चरण पार गर्न सकेको छैन ।


नेपालले दोस्रो खेलमा आइतबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दै छ । तीन वर्षपछि हुने फिफा विश्वकपको आयोजक राष्ट्र कतारले हालै एसियन कपको उपाधि जितेर तहल्का मच्चाइरहेको छ । यस समूहको सबैभन्दा बलियो टोलीका रूपमा कतारलाई हेरिएको छ ।


चार टोलीसम्मिलित समूह ‘ए’ को अन्तिम खेलमा नेपालले पुरानो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१५ देखि दक्षिण एसियाबाट मध्यएसियामा सरुवा भएको अफगानिस्तान पनि एसियाको उदाउँदो शक्ति हो । सिनियर टोलीसँग परिचित रहे पनि यस उमेर समूहमा अफगान पनि नेपालका लागि नयाँ प्रतिस्पर्धी नै हो ।


एसियाली प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्याप्त तयारीको वातावरण बनाउन नसक्दा नेपालका लागि यो संस्करण पनि यसअघिका तीन संस्करणजस्तै सहभागिताकै लागि हुने देखिएको छ । एन्फाले आफ्नो सम्पूर्ण शक्ति विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा केन्द्रित गरेकाले यस प्रतियोगिता ओझेलमा परेको छ ।


नेपाली यू–२३ टिमले छनोट प्रतियोगिता खेल्न कतार जाँदा मंगलबारै सिनियर राष्ट्रिय टोली भने मैत्रीपूर्ण खेल खेल्न कुवेत सिटी जानेछ । राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कालिनको पहिलो खेल हो यो । यही खेलको प्रदर्शनमा आधाररित रहेर उनले आगामी दुई वर्षका लागि नेपाली फुटबलको भविष्यबारे खाका कोर्नेछन् । कुवेतसँग नेपालको खेल भने शनिबार हुनेछ ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?