पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र भारत फेरि भिड्ने

नेपाल ४–० श्रीलंका
राजु घिसिङ

विराटनगर — घरेलु टिम नेपाल र डिफेन्डिङ च्याम्पियन भारत पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् । सहिद मैदानमा बुधबार भएको सेमिफाइनलमा नेपालले श्रीलंका र भारतले बंगलादेशविरुद्ध समान ४–० को जित हात पार्दै उपाधि होडमा भिड्ने पक्का गरेका हुन् ।

पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र भारत फेरि भिड्ने

दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा भारत र नेपाल चौथोपल्ट फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई साफको सुरुका तीन संस्करणको फाइनलमा भिडेका थिए । सबैमा भारतले बाजी मारेको थियो ।


सन् २०१६ मा भएको चौथो साफको सेमिफाइनलमै यी दुईको आमनेसामने भएका थिए । त्यसमा पनि भारतले सफलता पाएको थियो । साफमा नेपाली टिम भारतबाहेक अरुसँग हारेको छैन । यसपालि उसैलाई पराजित गरेर अन्तर्राष्ट्रिय फुटबलमा पहिलो उपाधि हात पार्ने अभियानमा छ ।


सुस्त सुरुआत

ओलम्पिक छनोटको दोस्रो चरण पुगेको । तीनपल्ट साफ वुमेन्स च्याम्पियनसिपमा उपविजेता । गत महिना हिरो वुमेन्स गोल्डकपको फाइनल खेलेको । त्यसैले घरेलु मैदानमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध एकतर्फी खेल प्रदर्शन गर्ने अनुमान गरिएको थियो । सहिद मैदामान बिहान ११ बजे सुरु पहिलो सेमिफाइनल सोचेअनुसार भएन ।


फिफा वरीयतामा नेपाली महिला टिम १ सय आठौं स्थानमा छ । श्रीलंका वरीयताविहीन टिम हो । नेपाली टिम दुई वर्षयता व्यस्तजस्तै छ भने श्रीलंका चौथो साफ २०१६ यता पहिलोपल्ट प्रतियोगितामा सहभागी भएको हो । पहिलो हाफमा त्यस्तो भिन्नता देखिएन । नेपाली टिमको प्रदर्शन निराशाजनक रह्यो । निकै सुस्त थियो ।


नेपाली खेलाडीले रक्षात्मक रणनीति लिएको श्रीलंकाको डिफेन्सको तगारो पन्छाउन सकेको थिएन । श्रीलंकाका ९ खेलाडी आफ्नै पेनाल्टी क्षेत्रवरिपरि झुम्मिरहेका थिए । अधिकांश घरेलु खेलाडी पाहुना टिमको क्षेत्रमै खेलिरहेका थिए । धेरै पास सटिक भएन । न त गोलपोस्टमै सशक्त रूपमा आक्रमण नै गर्न सक्यो ।


मध्य दिनको मौसममा खेले पनि ‘कुलीन ब्रेक’ लिनु नपरेको प्रतिस्पर्धाको पहिलो हाफमा नेपाली खेलाडी अत्तालिएको देखियो । त्यसैले पहिलोपल्ट साफ च्याम्पियन बन्ने सपना बुनेको नेपाली टिममाथि वास्तवमै उपाधिको दाबेदार हो भन्नेमा शंका उब्जियो ।


डिफेन्डरको गोल

बराबरीतर्फ अग्रसर भएको पहिलो हाफको अन्त्यतिर नेपाली डिफेन्स फनि आक्रामक बन्ने त्रममा विपक्षी पोस्टसम्मै पुग्न थाल्यो । मैदानको मध्यभाग नजिक पाएको फ्रि–किक सेन्टरब्याक गीता रानाले प्रहार गरिन् । त्यसलाई फिनिसिङ गर्ने काम अर्की सेन्टरब्याक पुनम जर्घामगरले गरिन् ।


गीताले प्रहार गरेको बलमा कप्तान निरु थापाले ‘ओभरहेड किक’ गरिन् । त्यसमा सावित्रा भण्डारीको हेडरपछि डिफेन्स र गोलकिपर बिट भइसकेको अवस्थामा पाएको बललाई ‘सिक्स यार्ड बक्स’ मा पुगेकी पुनमले हल्का रूपमा पोस्टको दिशा दिँदै नेपाललाई अग्रता दिलाइन् । २६ वर्षीया पुनमले २२ खेल खेल्दै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी हुन् ।


अग्रता लिएलगत्तै नेपालले राम्रो अवसर पाएको थियो । हीराकुमारी भुजेलको क्रसमा सावित्राको ‘फ्रि हेडर’ सटिक भएन । बल बाहिरियो । सावित्राले अनिता बस्नेतको पासमा १६ औं मिनेटमा पाएको बल पनि सिधै गोलकिपरको हातमा दिँदा नेपालले खाता खोल्ने अवसर गुमाएको थियो । विंगर मञ्जलीकुमारी योञ्जनको कर्नरमा ३४ औं मिनेटमा गीताको हेडरमा बल सिधै गोलकिपरको हातमा पुग्यो ।


नेपालले अग्रता लिनुअघि श्रीलंकाले एउटा राम्रो मुभ बनायो । स्टेफेनी डायसले ३७ औं मिनेटमा पेनाल्टी क्षेत्र नजिक दिएको बललाई कप्तान इरान्डी लियानागेले प्रहार गर्न सकिनन् । उनी लड्न पुगिन् र बल गोलकिपर एन्जिला तुम्बापो सुब्बाले मुस्किललेनियन्त्रणमा लिँदै नेपालको संकट टारेकी थिइन् ।


अनिताको उत्कृष्ट खेल

नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्दै चर्को घाममा उपस्थित झन्डै तीन हजार दर्शकलाई उत्साही बनायो । विंग्समा अनिता र मञ्जली बारम्बार साइड परिवर्तन गरिरहेका थिए । अघिल्ला तीनै खेलमा गोल गरेकी मञ्जली दोस्रो हाफमा खासै चल्न सकिनन् । अनिताले भने ठीक त्यही बेला लय समातिन् । उनको क्रस, पास र प्रहार सटिक हुनथाल्यो । एक गोल गर्दै उनले थप दुई गोलको अवसर पनि सिर्जना गरिन् ।


मञ्जलीले ५३ औं मिनेटमा गरेको क्रसमा सावित्राको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने मौका चुकाएको थियो । प्लेमेकर रेनुका नगरकोटेले प्रहार गरेको बल श्रीलंकाली कप्तान इरान्डीले हातले रोक्दा नेपाली खेलाडीले गरेको पेनाल्टी अपिललाई बंगलादेशी रेफ्री जलाल उद्दिनले अस्वीकार गरिदिए ।


विंगर अनिता बस्नेतले ६० औं मिनेटमा प्रहार गरेको बल गोलकिपर अयोमी विजेरत्नाको हात हुँदै बारमा लागेर बाहिरिएको थियो । अनिताले ७३ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । मिडफिल्डर दीपा राईको प्रहारमा गोलकिपरले फर्काएको बल सब्स्टिच्युट रेखा पौडेलले पेनाल्टी क्षेत्रमा अनितालाई उपलब्ध गराएकी थिइन् । त्यसमा अनिताको फिनिसिङ उत्कृष्ट रहेपछि नेपाल २–० ले अघि बढ्यो ।


अनिताले २३ अन्तर्राष्ट्रिय खेलमा दोस्रो गोल गरेकी हुन् । यसअघि उनले हिरो गोल्डकपको दोस्रो खेलमा इरानविरुद्ध ३–० को जित हात पारेको खेलमा गोल गरेकी थिइन् । ‘बंगलादेशविरुद्ध राम्रो खेल्न सकेकी थिइनँ । त्यसैले पनि केही गर्नुपर्छ भन्ने थियो,’ २५ वर्षीया अनिताले भनिन्, ‘सेमिफाइनलमा आएर टिमलाई आवश्यक परेको बेला गोल गर्नसकें । दुई एसिस्ट (गोलमा फाइनल पास) पनि गरें । एकदम खुसी लाग्यो ।’ उनको गोलपछि नेपाली खेलाडीहरू आत्मविश्वासी देखिए । ‘टचलाइन’ मा मुख्य प्रशिक्षक हरि खड्काको चिच्याहट पनि कम बनाइदियो ।


सावित्राको २५ औं गोल

फरवार्ड सावित्रा भण्डारीले ८२ औं मिनेटमा हेडद्वारा गोल गर्दै नेपालालाई ३–० को अग्रता दिलाइन् । त्यसमा उनले अनिताकै क्रस उपयोग गरिन् । यो उनको २५ औं अन्तर्राष्ट्रिय गोल हो । पाँचवर्षे करिअरमा २६ अन्तर्राष्ट्रिय खेल खेलकी उनले यससँगै महिला फुटबलमा सर्वाधिक गोलको कीर्तिमानको दोस्रोमा रहेकी पूर्वकप्तान जमुना गुरुङसँग बराबरी गरिन् । जमुनाले फुटबल बुट थन्क्याइसकेकी छन् । त्यसैले सर्वाधिक गोलको सूचीमा अब सावित्राभन्दा अगाडि पूर्वकप्तान अनु लामा (३५ गोल) मात्र रहेकी छन् । यो साफको समूह चरणमा उनले भुटान र बंग्लादेशविरुद्ध पनि १–१ गोल गरेकी थिइन् ।


सावित्राले श्रीलंकाविरुद्ध गोल थप्ने अर्को अवसर तुरुन्तै पाएकी थिइन् । उनी ८३ औं मिनेटमा खाली पोस्टमा गरेको हेडरमा बल पोस्ट नजिकबाट बाहिरिँदा नोपालको धेरै गोल गर्ने खेलाडीमा जमुनालाई उछिन्ने अवसर गुमाएकी थिइन् ।


रेखाको पहिलो गोल

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी रेखा पौडेलले ६५ औं मिनेटमा कप्तान निरु थापाको स्थान लिँदै लगातार तेस्रोपल्ट सब्स्टिच्युटको रूपमा मैदानमा प्रवेश गरिन् । पूर्वकप्तान अनु लामाको स्थानमा टिममा छनोट भएकी उनले प्रशिक्षक हरि खड्काको निर्णयलाई न्याय गर्दै ८६ औं मिनेटमा गोल गरिन् । अनिताले प्रहारमा पाएको बललाई उनले पोस्टको दिशा दिँदै नेपाललाई ४–० को अग्रता दिइन् ।


‘उनीसँग फरवार्डमा हुनुपर्ने सबै गुण छ । सही समयमा सही स्थानमा पुग्छिन्,’ रेखाको कौशलबारे प्रशिक्षक खड्काले भने, ‘यो साफमा डेब्युसँगै गोल गरिन् । अब उनको खेल स्तर आत्मविश्वास बढ्दै जानेछ ।’ रेखाले समूह चरणको पहिलो खेलमा भुटानविरुद्ध ८८ औं मिनेटमा मैदानमा प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् ।


उनले भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप २०१८ मा ८ गोल गरेकी थिइन् । उनले थाइल्यान्डमा सम्पन्न एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा भारतविरुद्ध दुई गोल गरेकी थिइन्, जसमा नेपाल दोस्रो चरण प्रवेश गरेको छ ।


'मिहिनेतको फल’

‘खेलाडीको मिहिनेतले फाइनल पुगेका छौं,’ नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘पहिलो हाफमा श्रीलंकाको डिफेन्सलाई तोड्न सकेनौं । बल बीचबाट लान खोजे पनि विपक्षी खेलाडीको घुइँचो भएकाले सकेनौं । दोस्रो हाफमा रणनीति परिवर्तन गरेर साइडबाट खेल्यौं । राम्रो भयो । क्रसहरू राम्रो भए । गोल निस्कियो । प्रदर्शनमा सन्तुष्ट छु । फुटबलमा ४–० को नतिजा राम्रो हो ।’ उनले सेमिफाइनलको गल्ती फाइनलमा नदोहोर्‍याउने वाचा गरे ।


कप्तान निरु थापाले भनिन्, ‘पहिलो हाफमा गोल नभएपछि हामी बढी हतारिएजस्तो भयो । दोस्रो हाफमा प्रशिक्षकको निर्देशनअनुसार खेल्यो र सफलता हात लाग्यो । अब फाइनलका लागि तयार छौं । ट्रफी लिन तयार छौं ।’


श्रीलंकाका सहायक प्रशिक्षक दामिका आत्रुकोरोलाले पनि आफ्नो टिमको प्रदर्शनप्रति सन्तोष व्यक्त गरे । उनले भने, ‘हाम्रा खेलाडीले रक्षात्मक खेल्ने योजनामा निकै मिहिनेत गरेर खेले । टिममा सुधार भएको छ । साफ २०१६ यता पहिलो प्रतियोगिता खेलेकोले टिममा अनुभवको अभाव देखियो ।


हाम्रा लागि यो साफ राम्रो अनुभव र राम्रो पाठ भयो ।’ नेपाली महिला टिम र श्रीलंकाबीचको यो पाँचौं खेल हो । यसमा नेपालले शतप्रतिशत जित हासिल गरेको छ । ५ खेलमा २३ गोल गरेको नेपालविरुद्ध श्रीलंकाले कुनै गोल गर्न सकेको छैन ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?