कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बागलुङ रंगशालाको डीपीआर तयार

प्रकाश बराल

बागलुङ — बांगेचौर मैदानलाई व्यवस्थित रंगशाला बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । जिल्ला खेलकुद विकास समितिले समितिले सदरमुकामस्थित उक्त मैदान र ढोरपाटनमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि प्रतिवेदन तयारीको काम गरिरहेको थियो । 

बागलुङ रंगशालाको डीपीआर तयार

ढोरपाटनको काम जग्गा व्यवस्थापनमा ढिलाइ भएकाले रोकिए पनि बांगेचौरको डीपीआर तयार भएको समिति अध्यक्ष धनबहादुर परियारले बताए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समितिको सहकार्यमा डीपीआर तयार पारेको जानकारी उनले दिए ।


‘बांगेचौर मैदानमा सुविधायुक्त प्यारापिट, एथलेटिक्स र इन्डोर खेलहरूका लागि पूर्वाधारसहितका संरचना बनाउन सकिने डीपीआरमा छ,’ उनले भने, ‘तयारीका लागि समितिले २० लाख खर्चेको छ । डीपीआरअनुसार काम गर्न १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।’


योजनाअनुसारको काम र बजेट माग गर्न अब प्रदेश र संघीय सरकारमा जाने तयारी गरिएको अध्यक्ष परियारले बताए । समितिले चालु वर्षभित्रै खर्च गर्नेगरी बागलुङमै कभर्डहल निर्माणका लागि ३० लाख, दुर्लेबेसी खेल मैदान निर्माण गर्न २० लाख, मदन भण्डारी स्पोर्टस एकेडेमीका लागि २० लाख र बांगेचौर खेल मैदान सम्याउन २० लाख बजेट लगानी गरिरहेको छ । ती स्थानमा प्राविधिक र निर्माणको काम पनि थालिएको छ ।


समितिले चालु वर्षमै ढोरपाटनमा पनि चिसो मौसममा खेल खेल्न सकिने मैदानको डीपीआर बनाउन लागेको हो । उक्त स्थानमा भने आवश्यक जग्गा उपलब्ध गराउन कानुनी र प्रक्रियागत झन्झटले ढिला हुने भएको छ । कम्तीमा एकसय रोपनी जमिन उपलब्ध गराएपछि उक्त स्थानमा मैदान बनाउने मन्त्रालय र परिषदले प्रतिवद्धता जनाइसकेका छन् । जग्गा छनोटका लागि ढोरपाटन नगरपालिका, खेलकुद विकास समिति र स्थानीयको पहल भइरहेको हो ।


अवलोकनका लागि परिषदले इन्जिनियर प्रनिश ताम्राकारको नेतृत्वमा प्राविधिक खटाएर प्रारम्भिक अध्ययन गरिसकेको छ । ‘जग्गा भयो भने काम गर्न समस्या छैन, जग्गा व्यवस्थापनका लागि भनेका छौं,’ परियारले भने, ‘आवश्यक पूर्वाधार बनाउन सकियो भने नेपालकै उत्कृष्ट खेल गन्तव्य हुनेछ ।’ यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटबल मैदान र सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने मन्त्रालयको योजना छ ।


कभर्डहलमा ‘इन्डोर’ खेलहरू सञ्चालन हुनेछन् भने मैदानमा क्रिकेट, फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगता गर्न सकिन्छ । प्रारम्भिक अध्ययनका लागि मन्त्रालयले चालु वर्ष ३० लाख रुपैयाँ बजेट दिएको छ । समितिले उत्तरगंगा नजिकैको एक स्थान र छेन्टुङको अर्को मैदानलाई सिफारिस गरेपछि जग्गा प्राप्तिको तयारी भएको हो ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?