साफ वुमेन्स च्याम्पियनसिप फाइनल आज : इतिहास रच्ने दिन

राजु घिसिङ

विराटनगर — डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर नेपाली महिला फुटबलरले साफ वुमेन्स च्याम्पियनसिपको उपाधि चुम्लान् ? विराटनगरको सहिद रंगशालामा शुक्रबार हुने ‘खेल–कौशल’ले नै इतिहास रच्ने दिनको छिनोफानो हुनेछ  ।

साफ वुमेन्स च्याम्पियनसिप फाइनल आज : इतिहास रच्ने दिन

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडै छ ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।

विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न सजिलो भने हुनेछैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगितामा पराजित गर्न हम्मे परेको टिम भारत नै हो ।

नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान (भुवनेश्वर) मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।

पछिल्लो सफलताले नै नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपल्ट च्याम्पियन बन्ने सपना देखाएको हो । ‘अन्तिम खेल जसरी पनि जित्नैपर्छ,’ कप्तान थापाले भनिन्, ‘टिमका सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्‍यौं भने जित्छौं, च्याम्पियन हुन्छौं ।’ ९ वर्षयता टिममा रहेर चौथोपल्ट साफको फाइनल खेल्न लागेकी उनले थपिन्, ‘पहिला भारत भन्नेबित्तिकै खेल्नुअघि नै डर लाग्थ्यो । अबचाहिँ खेल्यौं भने सक्छौं भन्ने आँट आएको छ ।’

टिम संरचनालाई कायम राख्दै आक्रामक खेल प्रदर्शन गर्न जोड दिइने प्रशिक्षक हरि खड्काले बताए । टिमको मुख्य चुनौती उपविजेताको छवि तोड्नु हो किनभने यसअघि छपल्ट फाइनल खेलेर पनि नेपालले उपाधि जित्न सकेन । साफमा सुरुका तीन संस्करण (२०१०, २०१२, २०१४), सागमा दुईपल्ट (२०१०, २०१६) र हिरो गोल्डकप (२०१९) को फाइनलमा नेपाल चुकेको थियो ।

हिरो गोल्डकपबाहेक सबै फाइनलमा नेपाललाई भारतले निराश पारेको थियो । भारत साफ वुमेन्स च्याम्पियनसिपको नौ वर्षे इतिहासमा कहिल्यै हारेको छैन । अघिल्ला चारै साफ (३ फाइनल, १ सेमिफाइनल) मा नेपालको बाधक भारत बनेको थियो । यसपालि भारतको त्यही वर्चस्व तोड्न प्रयास गर्ने खड्काले बताए ।

‘इतिहास रच्ने दिन हो, दबाब अवश्य हुन्छ,’ उनले भने, ‘भारत हामीभन्दा राम्रो टिम हो । हामीले जित्ने टेक्निकल, ट्याक्टिकल पक्षभन्दा मिहिनेतले नै हो । जुझारुपन हाम्रो सबैभन्दा बलियो पक्ष हो ।’ जेठयता नेपाली महिला टिम सम्हालिरहेका उनले थपे, ‘भारत दक्षिण एसियामा आफूलाई स्थापित गरिसकेको टिम हो, हामी आफूलाई स्थापित गर्ने क्रममा छौं । मैले टिम सम्हालेयता एक बराबरी र एक जितले भारतविरुद्ध हाम्रा खेलाडीको मनोबल उच्च बनाएको छ । भारतका मुख्य खेलाडीलाई रोक्दै हामी आफ्नो बलियो पक्षलाई उपयोग गरेर खेल्नेछौं ।’

फिफा वरीयतामा पनि नेपालभन्दा भारतीय टिम ४६ स्थान माथि छ । साग २०१० र साफ २०१२ को फाइनलमा अग्रता लिएर पनि नेपाल पराजित भएको थियो । भारतकी मुख्य प्रशिक्षक मायमोल रक्कीले भनिन्, ‘फाइनल सधैं खेल्न र हेर्नका लागि आकर्षक हुन्छ । मेरो चाहना सधैं खेल जित्ने नै हो । हाम्राविरुद्ध सबै दर्शक हुँदा पनि हामी उत्साही हुनेछौं । पाँचौंपल्ट साफको उपाधि जित्न चाहन्छौं ।’ दुवै टिम हिरो गोल्डकपमा सहभागी खेलाडीले भरिएका छन् । दुवै टिम सन्तुलित छन् ।

नेपाल समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० र सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराएर साफमा चौथोपल्ट फाइनलमा प्रवेश गरेको हो । भारतले सेमिफाइनलमा बंगलादेशलाई ४–०, समूह चरणमा माल्दिभ्सलाई ६–० र श्रीलंकालाई ५–० ले हराएको थियो ।

‘कीर्तिमान तोड्न तयार’

हरि खड्का
मुख्य प्रशिक्षक, नेपाली टिम

फाइनलसम्मको यात्रा तय भएको छ । भारत दक्षिण एसियामा आफूलाई स्थापित गरिसकेको टिम हो । हामी आफूलाई स्थापित गर्दै लाने क्रममा छौं । मैले टिम सम्हालेयता भारतविरुद्ध दुई खेल खेलिसकेका छौं । त्यसमा एक बराबरी र एक जितले खेलाडीको मनोबल उच्च बनाएको छ । भारत अहिले यो क्षेत्रमा राम्रो देखिएको छ । उसका ३–४ मुख्य खेलाडीलाई रोक्दै हामी आफ्नो बलियो पक्षलाई उपयोग गरे खेल्नेछौं । मिडफिल्डमा भारतको संगता बास्फोर र इन्दुमथी काथिरेसन उत्कृष्ट देखिएका छन् । उनीहरूलाई समय र स्थान नदिइकन खेल्नेछौं ।

हामी आक्रामक फुटबलमा विश्वास गर्छौं । आक्रामक नै खेल्छौं । आफ्नो संरचना कायम राखेर खेल्छौं । आत्मविश्वास उच्च नै छ । त्यसकारण पनि आक्रामक फुटबल खेल्नेछौं । सेमिफाइनलमा श्रीलंकाले रक्षात्मक खेलेपछि सावित्रा (भण्डारी) ले खेल्न पाएको थिएन । भारतले त्यसरी (रक्षात्मक) खेल्दैन ।

आफ्नो खेलमा विश्वास राख्ने भएकाले भारतले पनि आक्रामक फुटबल नै खेल्छ । त्यसैले भारतको डिफेन्सलाइन अलि खुला हुनसक्छ र सावित्रालाई खेल्न अरु टिमविरुद्धभन्दा फाइनलमा सजिलो नै हुन्छजस्तो लाग्छ । साफ वुमेन्स च्याम्पियनसिपमा भारतले हारेको रेकर्ड (कीर्तिमान) छैन । यो हाम्रो भूमि हो । त्यसैले भारतको त्यो कीर्तिमान तोड्न तयार छौं । किनभने खेलाडीको आत्मविश्वास स्तर उच्च छ । पछिल्ला दुई खेलको नतिजाले आत्मविश्वास बढाएको हो । दिन हाम्रो हुनेछ । पक्कै पनि हामी जित्नेछौं ।

भारत ठूलो देश हो, ठूलै लगानी छ । उसका खेलाडीले विभिन्न देशमा गएर खेलिरहेका छन् । उनीहरू र हामीबीच अलिकति स्तरमा फरक छ । त्यसैले हाम्रो मुख्य हतियार भनेको जुझारुपन (फाइटिङ स्पिरिट) नै हो । गोर्खालीपन गर्ने नै हो । प्राविधिक रूपमा अहिले पनि उनीहरू हामीभन्दा माथि छ तर दैन्दिन हाम्रो प्रगति देखेको कारणले भारती टिमको दबदबा (डोमिनेटङ नेचर) हटेको छ ।

अब डर मान्नुपर्ने अवस्था छैन । त्यो नै हाम्रो बलियोपन हो जस्तो लाग्छ ।होम ग्राउन्डको दबाब । महिला टिमले पहिलोपल्ट यति धेरै क्राउडमा खेलेको छ । यहाँ देखिएको दर्शकले महिला टिमलाई सपोर्ट नै गरेको छ । ड्रिब्लिङ, पास मिसलगायतमा दर्शकबाट आउने नकरात्मक हुटिङले अलिकति प्रेसर हुन्छ । खेलाडीले सम्हालिन सिकिसकेका छन् । त्यसैले राम्रो फुटबल खेल्छौं र जित्छौं ।

डिफेन्स सच्याउने योजना
भारतका विंगर उत्कृष्ट छन् । हाम्रो साइड डिफेन्स अलि ढिला । त्यसैले अलिकति सेन्टरब्याक गीता (थापा) लाई राइटब्याक मनमाया (लिम्बु) को क्षेत्रमा च्याप्न लगाएर सन्जु (यादव) को गति रोक्नेछौं । अनिता (बस्नेत) ले आक्रमणमा पूरा खेल्नेछिन् भने सन्जुलाई रोक्ने जिम्मेवारी पनि उनलाई दिनेछु । यो योजनाले कति काम गर्छ मैदानमा हेर्नुपर्छ ।

इतिहास रच्ने दिन हो त्यसैले दबाब अवश्य हुन्छ । भारत हामीभन्दा सधैं राम्रो टिम हो । खालि हामीले जित्ने भनेको टेक्निकल, ट्याक्टिकल पक्षभन्दा पनि मिहिनेतले नै हो । अलि बढी मिहिनेत गरेन भने हामीले पराजित गर्न सक्दैनौं । मैले भारतविरुद्ध दबाब लिएको छैन । भारत नेपाललाई मौका बराबर छ, जसले अवसर उपोग गर्छ उसैले जित्छ । त्यसैले हामीले अलि बढी मिहिनेत गर्नुपर्छ ।

‘जित्नेमा ढुक्क’

मायमोल रक्की
मुख्य प्रशिक्षक, भारतीय टिम

फाइनल सधैं खेल्न र हेर्नका लागि आकर्षक हुन्छ । हामी तयारी गरेर आउने छौं । पक्कै पनि नेपाल तयार भएर आउने छ र उसको सामना गर्नेछौं । मेरो चाहना सधैं खेल जित्ने नै हुन्छ । हाम्रा लागि यो नयाँ प्रतियोगिता हो । हाम्रा लागि सबै नयाँ हो ।

यसमा हामीले राम्रो सुरुआत गरेका थियौं र प्रतियोगिताको अन्त्यलाई पनि राम्रो बनाउन चाहन्छौं । हामीले हङकङ र इन्डोनेसियामा खेलेका थियौं । त्यहाँ केटीहरूले मातृभूमिमा जस्तै खेलेका थिए । त्यसैले हाम्रोविरुद्धमा सबै दर्शक हुँदा पनि हामी उत्साही नै हुनेछौं । यो हाम्रा लागि राम्रो हो ।

दुई राम्रो टिम फाइनल पुगेका छन् । पक्कै पनि नेपाल प्रतियोगिताको एउटा बलियो टिम हो । तर जसले राम्रो खेल्छ उसैले प्रतियोगिता जित्नेछ । हामी पाँचौंपल्ट साफको उपाधि जित्नेमा विश्वस्त छौं । खेलमा जे पनि हुनसक्छ किनभने यो फुटबल हो । हामी ट्रफी हात पार्ने तयारीमा छौं ।

‘अन्तिम खेल जित्नैपर्छ’


निरु थापा, कप्तान, नेपाल
अन्तिम खेल जसरी पनि जित्नैपर्छ । त्यसका लागि कडा मिहिनेत गर्नुपर्छ । सर (प्रशिक्षक) ले दिनुभएको जिम्मेवारी पूरा गर्‍यौं र सिकाउनुभएको कुरा गर्‍यौं भने अवश्य जित्नेछौं, च्याम्पियन हुनेछौं । हिरो कपमा भारतविरुद्ध खेल्यौं र जित्यौं पनि । त्यसरी नै टिम वर्कमा खेल्यौं भने फाइनल हामी अवश्य जित्नेछौं ।

‘दबाब छैन’


असलता देवी, कप्तान, भारत
हामीले पछिल्ला चार च्याम्पियनसिप (साफ) जितेको हो । यसपालि पनि कोसिस गर्नेछौं । मलाई ट्रफी जित्ने आशा छ । दबाबमा छैन र आराम पनि छैन । किनभने नेपाल राम्रो टिम हो । विपक्षी टिमको सम्मान गर्छु । हामी राम्रो प्रदर्शन गरेर खेल जित्ने कोसिस गर्नेछौं ।

हेड–टु–हेड

नेपाल भारत
१० खेल १०
१ जित ७
२ बराबर २
७ हार १
६ गोल २७

फाइनल यात्रा

नेपाल

गोल प्रतिद्वन्द्वी
३–० भुटान, समूह चरण
३–० बंगलादेश, समूह चरण
४–० श्रीलंका, सेमिफाइनल


भारत
गोल प्रतिद्वन्द्वी
६–० माल्दिभ्स, समूह चरण
५–० श्रीलंका, समूह चरण
४–० बंगलादेश, सेमिफाइनल

प्लेयर्स टु वाच

नेपाल
सवित्रा भण्डारी (जर्सी ९), फरवार्ड
दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड । यो साफको तीनै खेलमा गोल गरेकी । नेपालको लागि २५ गोल । जस्तोसुकै डिफेन्सलाई पनि चिर्न सक्ने ।

अनिता बस्नेत (जर्सी ११), विंगर
शारीरिक रुपमा बलिया । तीब्र गतिमा खेल्नसक्ने । सटिक क्रस, पास दिने । सेमिफाइनलमा श्रलिंकाविरुद्ध एक गोल गर्दै दुई गोलमा फाइनल पास दिएकी ।

गीता राना (जर्सी १२), डिफेन्डर
टिमकै अग्ली र बलिया खेलाडी । टफ गेम खेल्नसक्ने डिफेन्डर । उत्कृष्ट फरवार्डलाई पनि रोक्नसक्ने खुबी भएको ।

भारत
सन्जु यादव (जर्सी ८), विंगर
तीव्र गतिमा बल बढाउदै डिफेन्सलाई दुःख दिनसक्ने । ड्रिब्लिङ, पास राम्रो । छरिता । यो साफमा दुई गोल गरेकी ।

इन्दुमथी काथिरेसन (जर्सी १२), मिडफिल्डर
गोल गर्नका लागि चतुर खेलाडी । शारीरिक रूपमा बलियो । बल वितरण राम्रो । यो साफमा सर्बाधिक चार गोल गर्ने खेलाडी । चौथो साफ र १२ औं सागको विजेता टिमका मुख्य खेलाडी ।


संगीता बास्फोर (जर्सी ६), मिडफिल्डर
प्लेमेकर । टिमको आक्रमणको आर्किटेक्ट । सटिक पास दिन सिपालु । यो साफको समूह चरणमा श्रीलंकाविरुद्ध एक गोल गरेकी ।

विगतका भेट (नेपालको १ जित, २ बराबर, ७ हार)

नतिजा प्रतियोगिता/स्थान चरण
भारत ५–० नेपाल ११ औं साग २०१०/ढाका समूह चरण
भारत ३–१ नेपाल ११ औं साग २०१०/ढाका फाइनल
भारत १–० नेपाल पहिलो साफ २०१०/कक्सबजार फाइनल
भारत ३–१ नेपाल दोस्रो साफ २०१२/कोलम्बो फाइनल
भारत ६–० नेपाल तेस्रो साफ २०१४/इस्लामाबाद फाइनल
भारत ०–० नेपाल १२ औं साग २०१६/सिलोङ समूह चरण
भारत ४–० नेपाल १२ औं साग २०१६/सिलोङ फाइनल
भारत ३–१ नेपाल चौथो साफ २०१६ सिलिगुढी सेमिफाइनल
भारत १–१ नेपाल ओलम्पिक छनोट २०१८/यांगुन प्रारम्भिक चरण
नेपाल २–१ भारत हिरो गोल्डकप २०१९/भुवनेश्वर समूह चरण

प्रकाशित : चैत्र ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?