कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एएफसी यू–२३ च्याम्पियनसिप : ओमानसँग साँघुरो हार

कुशल तिमल्सिना

दोहा — नेपालले एएफसी यू–२३ च्याम्पियनसिप छनोटको पहिलो खेलमा ओमानसँग १–० को पराजय बेहोरेको छ । दोहा स्पोर्टस सिटीस्थित एस्पायर ४ मैदानमा शुक्रबार साँझ कमजोर प्रदर्शन गरेको नेपालका कुनै पनि खेलाडी आफ्नो पोजिसनमा प्रभावशाली देखिएनन् । नेपालले सुरुआती १३ मिनेटमै गोल सामना गरेको थियो । कुनै पनि समय नेपालले गतिलो आक्रमण बुन्न सकेन ।

एएफसी यू–२३ च्याम्पियनसिप : ओमानसँग साँघुरो हार

ओमानका गोलरक्षक इब्राहिम अल मुखाइनीले खेल अवधिभर आरामदायी समय बिताए । त्यस विपरीत नेपाली गोलरक्षक अर्पण कार्कीे भने खेलभर व्यस्त बने । फिफा वरीयतामा नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा रहेको ओमानविरुद्ध मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रक्षात्मक रणनीति लिएका थिए ।


अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी र कमल श्रेष्ठको रक्षाफंक्तिले ओमानको आत्रमण रोक्न हरसम्भव प्रयास गरे पनि सफल भएन । खेलको १३ औं मिनेटमा रक्षापंक्तिकै कमजोरीका कारण गोल सामना गरेको हो । ओमानका कप्तान सलाह अल यायाईले पेनाल्टी क्षेत्रमा अनमार्क रहेका युसुफ नसर अल माल्कीलाई उपलब्ध गराएको पासमा गल्ती नगरी पोस्टको दिशा दिए । त्यसयता पनि माल्कीले गोलका अवसर पाएका थिए । ३४ औं मिनेटमा मुसेन सालेह अल घासानीको पासमा माल्कीको प्रहार पोलमा लागेर बाहिरियो । ७८ औं मिनेटमा माल्कीले करिब २० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिन पुग्यो ।


पहिलो हाफको अन्तिम १५ मिनेटमा नेपालले खेलमा फर्कने प्रयास गरेको थियो । बाँकी समय कुनै पनि त्यस्तो अवसर रहेन जहाँ नेपालले ओमानको रक्षापंक्तिलाई असजिलो बनाएको होस् । खेलको तेस्रो मिनेटमै हेमन्त थापामगर गोलीगाँठाको चोटका कारण मैदान छाड्न बाध्य भए । ओमानका डिफेन्डर अम्मर साइफ अल सायादीसँगको ट्याकलका क्रममा हेमन्तलाई चोट लागेको हो ।


उनको चोट डरलाग्दो नभएको नेपाली टोलीका चिकित्सक राजु डंगोलले बताएका छन् । उनको स्थानमा नितिन थापा मैदान

छिरेका थिए । मुख्यतः मिडफिल्ड प्रभावकारी हुन नसक्दा स्ट्राइकर विमल घर्तीमगर र अन्जन विष्टले प्रभावकारी प्रदर्शन गर्न सकेनन् । तेस्रो मिनेटमै मैदान छिरेका नितिनले सेन्टर मिडफिल्डमा बल नियन्त्रणमा राख्न सकेनन् ।


सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्यान्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि ११ समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली छनोट हुनेछन् । समूह ‘ए’ मा रहेको नेपालले आइतबार एसियाली च्याम्पियन तथा घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार नेपालको भेट अफगानिस्तानसँग हुनेछ ।


ओमानका प्रशिक्षक हमाद अजानी आफ्नो टिमको प्रदर्शनबाट त्यति सन्तुष्ट देखिएनन् । उनले भने, ‘टिमको प्रदर्शनबाट सन्तुष्ट छैन । हामीले अझ धेरै गोल गर्न सक्थ्यौं । पहिलो खेल हो । विनिङ अंक बटुलेका छौं । त्यसमा सन्तुष्ट हुनुपर्छ । अर्को खेलमा प्रदर्शन अझै सुधार्नुपर्छ ।’ हमादले नेपालले संगठित फुटबल खेल्न नसकेको बताए । उनले थपे, ‘मैले एसियाडमा नेपालले जापानसँग खेलेको हेरेको थिएँ । त्यस्तै खेलको अपेक्षा थियो मेरो । तर नेपालले अर्गनाइज्ड तरिकाले खेल्न सकेन ।’


नेपालका प्रशिक्षकका प्रशिक्षक बालगोपाल महर्जनले भने टिमको प्रदर्शनप्रति सन्तुष्टि जनाए । उनले भने, ‘ओमानजस्तो ठूलो टिमविरुद्ध हामीले राम्रो खेलेका हौं । ऊसँग कम गोल खानु हाम्रा लागि राम्रो नतिजा हो । यसलाई सकारात्मक मान्नुपर्छ ।’ महर्जनले सुरुमै हेमन्त घाइते भएर बाहिरिनु टोलीका लागि घाटा भएको बताए ।


उनले भने, ‘हेमन्त घाइते भएपछि मिडफिल्डबाट राम्रोसँग बल सप्लाई गर्न सकेनौं । त्यसले गर्दा स्ट्राइकरहरू दबाबमा परे । यद्यपि गोलकिपर अर्पणले दुई–चार वटा राम्रो बचाउ गरे ।’ ओमानसँगको कमजोरी अर्को खेलमा सुधार्ने उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?