१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : फेरि फाइनलमै झट्का

नेपाल १–३ भारत

विराटनगर — नेपाली महिला टिम अन्तर्राष्ट्रिय फुटबलको ३३ वर्षे यात्रामा फेरि एकपल्ट उपाधि नजिक पुगेर रोकिएको छ । नेपालको पहिलोपल्ट च्याम्पियन बन्ने सपनालाई सहिद मैदानमा शुक्रबार पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा आएर भारतले तुहाइदियो ।

पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : फेरि फाइनलमै झट्का

पहिलो हाफमा नेपालले दबाबमा राखेको भारत दोस्रो हाफमा लय समात्दै ३–१ को जितसहित लगातार पाँचौंपल्ट दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

पहिलोपल्ट घरेलु भूमिमा प्रतियोगिता खेल्ने अवसर पाएको नेपालले उपविजेताको छवि पाँचौं साफमा आएर बदल्ने अपेक्षा गरिएको थियो । सुरुका तीन खेलमा सुधारिएको प्रदर्शन पनि गर्‍यो । तर फाइनलमा आएर फेरि कथा दोहोरियो । नेपाली महिला टिमले फाइनलमा हार बेहोरेको यो सातौंपल्ट हो । यो भारतविरुद्ध उपाधि होडमा छैटौं हार हो । नेपालको दुईपल्ट दक्षिण एसियाली खेलकुद (साग २०१०, २०१६), चारपल्ट साफ वुमेन्स च्याम्पियनसिप (२०१०, २०१२, २०१४, २०१६) को उपाधि होडमा भारत बाधक बन्यो । हिरो वुमेन्स गोल्डकप २०१९ को फाइनलमा नेपाललाई म्यानमारले सिकार बनाएको थियो ।

सन् १९८६ मा हङकङमा भएको एएफसी एसियन कपदेखि अन्तर्राष्ट्रिय फुटबलको यात्रा थालेको नेपाली महिला टिमले १२ प्रतियोगिता (एसियन कप ३, साफ ५, साग २, हिरो गोल्डकप १, ओलम्पिक छनोट १) खेलेको छ । ओलम्पिक छनोटमा दोस्रो चरण प्रवेश गरेको नेपालले त्यसमा फेरि भारत रहेकै समूहमा अप्रिल, २०१९ मा प्रतिस्पर्धा गर्दै छ ।

गत महिना भुवनेश्वरमा भएको हिरो गोल्डकपको समूह चरणमा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । उनले यो साफको फाइनलमा पनि एक गोल गरिन् । त्यसले नेपाललाई ऐतिहासिक उपाधि दिलाउन सकेन । भुवनेश्वरको सफलता भारतविरुद्ध दसौं खेलमा आएर बल्ल नेपालको हात पारेको पहिलो जित थियो । त्यसलाई नेपालले विराटनगरमा निरन्तरता दिन सकेन । यी दुईको ११ भेटमा नेपालले एक खेलमात्र जितेको छ । दुई खेल बराबरी थियो । यो साफको फाइनलसहित भारतले ८ खेल जित्यो । हरेक साफमा नेपालको बाधक भारत नै बनेको छ ।

१० हजार दर्शक क्षमताको प्यारापिट खचाखच भरिएको रंगशालामा पहिलो हाफमा नेपाली टिम हाबी भयो । पहिलो आक्रमण भने पाहुना टिमले गर्‍यो । रतनवाला देवीको पासमा सान्धिया रंगनाथानले १२ औं मिनेटमा कठिन कोणबाट प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको थियो । सावित्राको पासमा मञ्जलीकुमारी योञ्जनले १३ औं मिनेटमा प्रहार गरेको बल सिधै गोलकिपरको हातमा पुगेको थियो । भारतीय विंगर सन्जु यादवले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पनि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रण गरेकी थिइन् ।


तीन मौका र दुई गल्ती

नेपालले पहिलो हाफमै तीन राम्रो अवसर पाएको थियो । तीनै अवसर सावित्राले पाइन् । सुरुको अवसरमा उनी हतारिइन् । प्रहार सटिक भएन । दोस्रोमा अलि स्वार्थी देखिइन् । आफ्नै प्रहार पनि फितलो रह्यो । तेस्रो मौकामा भने उनको प्रहार भारतीय टिमकी गोलकिपर अदिती चौहानको बचाउ उत्कृष्ट रह्यो । पाहुना टिमको दुवै गोल नेपाली डिफेन्सको गल्तीमा भए ।

नेपालले १९ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको पाएको हो । कप्तान निरु थापाको पासमा सावित्राले अघि बढाउँदै पोस्टमा गालकिपरमात्र छँदा प्रहार गरेको बल बाहिरिँदा नेपाल अग्रता लिन चुकेको थियो । स्टार फरवार्ड सावित्रा २१ औं मिनेटमा पाएको अवसरमा भने अलि स्वार्थी देखिइन् । अनिता बस्नेतले दिएको पासमा उनी डिफेन्सको कडा निगरानी थिइन् । त्यही अवस्थामा उनको प्रहार फितलो रह्यो र बल सिधा इंग्लिस क्लब वेस्टह्यामका पूर्व गोलकिपर अदितीको हातमा पुग्यो । सावित्राले पोष्ट नजिकै अनमार्क रहेकी निरुलाई बल दिएको भए खेलको कथा फेरिन सक्थ्यो ।

लेफ्टब्याक हिराकुमारी भुजेलले बल क्लियर गर्न ढिलाइ गरिन् । बल ग्रेस डाङ्मीले खोसिन् । त्यसमा हिराको ट्याकल असफल रहेपछि भुटानी रेफ्री चोकी ओमले भारतलाई फ्रिकिक दिइन् । करिब ३५ यार्डबाट फ्रिकिकमा डालिमा चिब्बरले सेकेन्डबार च्याप्दै प्रहार गरेको बल आकर्षक गोलमा रूपान्तर भएपछि घरेलु टिमलाई समर्थन गरिरहेका दर्शक स्तब्ध भए ।


सावित्राको कीर्तिमान

भारतको अग्रता धेरैबेर टिकेन । मैदानको मध्यभागबाट डिफेन्डर पुनम जर्घामगरले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बलमा किपर अदिती केही अघि बढेको अवस्थामा बललाई हेडद्वारा पोस्टको दिशा दिँदै ३२ औं मिनेटमा नेपाललाई १–१ को अवस्थामा पुर्‍याइन् । त्यसमा उनले निकै मिहिनेत गरेकी थिइन् ।

फाइनलको गोलसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडीको सूचीमा पूर्वकप्तान जमुना गुरुङ (२५ गोल) लाई उछिन्दै दोस्रोमा पुगिन् । पाँच वर्षयता २७ खेलमा २६ गोल गरेकी उनी अनु लामाको कीर्तिमानसँग ९ गोल नजिक पुगेकी छन् । यसपालि चारै खेलमा गोल गर्दै उनी साफको एउटै संस्करणका सबै खेलमा गोल गर्ने पहिलो नेपाली बनिन् । उनी भारतकी इन्दुमथी काथिरेसनसँगै यो साफको सर्वाधिक (४) गोलकर्ता भइन् । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने भारतकी डालिमा चिब्बरले हात पारिन् ।

भारतले फेरि अग्रता लिने अवसर ४० औं मिनेटमा पाएको थियो । सन्जुको क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क डाङ्मीको प्रहार सटिक भएन । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले नेपाललाई अघि बढाउने मौका पाएकी थिइन् । विंगर अनिता बस्नेतले मिहिनेतपूर्वक दिएको पासमा नियन्त्रण गर्दै उनले गरेको प्रहार किपर अदितीले रोकिन् । त्यही रिबाउन्डमा फेरि उनले प्रहार गरेको बल अदितीलाई लाग्दै नजिकबाट बाहिरियो ।

दोस्रो हाफमा ठीक उल्टो रह्यो । साफ वुमेन्स च्याम्पियनसिपमा अपराजित भारतले लय समात्यो भने नेपाली टिम सुस्तायो । सेन्टरब्याकबाट अघि बढ्कै गीता रानाले मध्यभागमा ड्रिब्लिङ गरेर पास दिन ढिलाई गरिन् । त्यही बल सन्जुले लिएर सान्धियालाई दिइन् र उनले डाङ्मीलाई उपलब्ध गराइन् । त्यसमा डाङ्मीको फिनिसिङ उत्कृष्ट रह्यो र भारतले २–१ को अग्रता लियो ।

सब्स्टिच्युट फरवार्ड अन्जु तामाङले ७८ औं मिनेटमा ३–१ को अग्रता दिलाएर भारतको उपाधि रक्षा पक्का गरिन् । उनले इन्दुमथीको पासमा नियन्क्रण गर्दै सशत्त रूपमा प्रहार गरेको बलले गोलकिपर एन्जिलाको हातमा छुँदै जालीको सम्पर्कमा पुगेको थियो ।


‘दोस्रो गोल निर्णायक’

फाइनललमा चुकेपछि नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘समग्रमा खेलाडीले राम्रो खेले । मिहिनेत गरे । पहिलो हाफमा अवसर सिर्जना गरेको हो, उपयोग हुन सकेन । पाएका अवसर जसले उपयोग गर्छ, त्यसैले जित्ने हो ।’

‘हाम्रो ठूलो हतियार भनेको जुझारुपन हो । त्यसमा हामी अलि चुकेजस्तो लाग्छ,’ उनले थपे, ‘त्यसैले दोस्रो हाफमा राम्रो भएन । आफ्नै मूर्खताले गोल खायौं । सहज पास दिनुपर्ने बल नदिँदा रक्षात्मक संरचना बिग्रियो । त्यही दोस्रो गोलले खेल परिवर्तन गरिदियो । तैपनि खेलाडीले राम्रो खेलेको हो । हाम्रो हतियार विंगर पनि नचलेको अवस्था देखियो ।’

हिरो गोल्डकपमा जस्तै प्राविधकि रूपमा भारत राम्रो टिम भएको उल्लेख गर्दै उनले भने, ‘प्रशिक्षकको रुपमा यो नतिजाको जिम्मेवारी म लिन चाहन्छु । खेल हार्‍यौं । त्यसका लागि फुटबलप्रेमीप्रति क्षमा माग्न चाहन्छौं । हामी खेलअनुसार हारेको होइन, गोलअनुसार हारेजस्तो लाग्छ । अब ओलम्पिक छनोट (दोस्रो चरण) खेल्नुपर्छ । त्यसमा खेलाडीले मिहिनेत र स्पिरिटलाई निरन्तरता दिएको हेर्न चाहन्छु ।’ गल्ती सच्याउन ठूला टिमविरुद्ध खेल्ने अवसरको अभाव रहेको उनले औंल्याए ।

विराटनगर ओर्लंदा नै पाँचौंपल्ट ट्रफी हात पार्नका लागि आएको बताएकी भारतीय टोलीका मुख्य प्रशिक्षक मायमोल रक्कीले भनिन्, ‘हामी जित्न लायक थियौं र जित्यौं पनि । दर्शकले फरक पार्छ कि भन्ने लागको थियो तर खेलाडीले राम्रो गरे । हामीले हिरो गोल्डकपमा नेपालविरुद्ध बेहोरेको हारको बदला साफमा लियौं ।’


प्रदेश र महानगरको पुरस्कार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको उपविजेता नेपाली टिमका खेलाडीलाई जनही १–१ लाख रुपैया दिने घोषणा गरेका छन् । उनले नेपालले उपाधि जित्नसके २–२ लाख दिने बताएका थिए । विराटनगर महानगर प्रमुख भीम पराजुलीले पनि प्रत्येक खेलाडीलाई सम्मानस्वरुप ५०–५० हजार दिने घोषणा गरे ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?