इंग्ल्यान्डको सानदार सुरुआत

एएफपी

लन्डन — रहिम स्टर्लिङको ह्याट्रिकमा इंग्ल्यान्डले चेक गणतन्त्रलाई ५–० ले पराजित गरी युरो २०२० छनोट चरणमा उत्कृष्ट सुरुआत गरेको छ ।अर्को वर्ष युरोपिनय च्याम्पियनसिप विभिन्न १२ स्थानमा हुनेछ ।

इंग्ल्यान्डको सानदार सुरुआत

त्यसको सेमिफाइनल र फाइनल इंग्ल्यान्डको वेम्बलीले आयोजना गर्नेछ । इंग्ल्यान्डले शुक्रबार वेम्बलीबाटै सानदार सुरुआत गरेको हो । समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले सोमबार मोन्टेनेग्रोसँग खेल्नेछ । मोन्टेनेग्रोले बुल्गेरियासँग उसैको मैदानमा १–१ को नतिजा निकाल्यो ।


२४ औं मिनेटमा गोलको खाता खोलेका म्यानचेस्टर सिटीका विंगर स्टर्लिङले ६२ र ६८ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले इंग्ल्यान्डबाट पहिलो ४५ खेल खेल्नेक्रममा केबल दुई गोल गरेका थिए । तर पछिल्ला ३ खेलमा राष्ट्रिय टोलीबाट उनले ५ गोल गरिसकेका छन् ।


कप्तान ह्यारी केनले पहिलो हाफको इन्ज्युरी टाइममा पेनाल्टीमा एक गोल गरे । अर्को गोल इंग्ल्यान्डले चेक खेलाडीको आत्मघाती गोलबाट पाएको हो । प्रशिक्षक गारेथ साउथगेटले बोरुसिया डर्टमन्डबाट प्रभाव जमाइरहेका १८ वर्षे जेडोन सान्चोलाई पहिलोपल्ट प्रतियोगितात्मक खेलमा उतारे । त्यस्तै चेल्सीका अर्का युवा खेलाडी कालुम हडसन ओडोइले इंग्ल्यान्डबाट ‘डेब्यु’ गरे ।


युरोपियन च्याम्पियन पोर्चुगललाई युक्रेनले गोलरहित बराबरीमा रोक्यो । विश्वकपपछि राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलिरहेका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले पनि पोर्चुगललाई जिताउन सकेनन् । युक्रेनका गोलरक्षक एन्ड्रिय पायटोभले दुई उत्कृष्ट बचाउ गर्दै रोनाल्डोलाई गोल गर्न दिएनन् ।


समूह ‘बी’ को अर्को खेलमा लक्जेम्बर्गले लिथुवानियालाई २–१ ले हरायो । समूह ‘सी’ मा डिपेयको दुई तथा लिभरपुलका जोडीद्वय वाइनाल्डम र भर्जिल भान डाइकको १–१ गोलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४–० ले पराजित गर्‍यो । यस समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले इस्टोनियालाई २–० ले हरायो ।


विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ ले पन्छायो । फ्रान्सले समूह ‘एच’ मा माल्दोभालाई ४–१ ले पराजित गर्‍यो । एन्टोनी ग्रिजमन, राफेल भाराने, ओलिभियर जिरुड र केलियन एमबाप्पेले फ्रान्सबाट गोल गरे । इडेन हाजार्डको दुई गोलमा बेल्जियमले समूह ‘आई’ मा रुसमाथि ३–१ को जित निकाल्यो ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?