महिला खेलाडीलाई जनही १ लाख

विनोद भण्डारीे

विराटनगर — अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार विराटनगरमा सम्पन्न १८ औ वार्षिक साधारणसभाले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।
शुक्रबार सहिद मैदानमा सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । 

महिला खेलाडीलाई जनही १ लाख

नेपाली टोलीका प्रत्येक खेलाडीलाई प्रदेश १ सरकारले १–१ लाख र विराटनगर महानगरपालिकाले ५०–५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेका छन् ।


एन्फाका प्रवक्ता किरण राईले साधारणसभाले एन्फा विधानको धारा २४ को उपधारा ५ मा रहेको पुरानै प्रावधान अनुमोदन गरेको बताए । केन्द्रीय पदाधिकारीहरू जिल्लाबाट मताधिकारसहित साधारणसभामा जाँदा केन्द्रीय प्रतिनिधिबाट राजीनामा गर्नुपर्ने पुरानो प्रावधान थियो । राईले भने एन्फाले राजीनामा गर्नु नपर्ने मस्यौदा तयार गरेको थियो । तर फिफाले पुरानै प्रावधान यथावत राख्न निर्देशन दिएपछि त्यसलाई सभाले अनुमोदन गरेको हो ।


सभाले आउँदो एक वर्षका लागि २३ करोड ७४ लाख ५० हजार रुपैयाँको बजेट परिमार्जनसहित स्वीकृत गरेको राईले बताए । उनका अनुसार खोटाङ, नवलपुर र मनाङ जिल्लामा जिल्ला फुटबल संघ गठन गरी फुटबल खेलको विकास र विस्तार गर्ने र ती जिल्लालाई एक वर्ष सम्मका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।


पाँचौं साफ वुमेन्स च्याम्पियनसिप प्रतियोगिताको आयव्ययको विवरण एन्फाले चाँडै सार्वजनीक गर्ने प्रवक्ता राईले बताए । उनका अनुसार फाइनल दिनमाक्र टिकट बित्रीबाट १९ लाख ५५ हजार रुपैयाँ संकलन भएको थियो ।


प्रतियोगिताका लागि करिब १ करोड ६५ लाख रुपैयाँ खर्च हुने एन्फाको अनुमान थियो । प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणमा विराटनगर महानगरपालिकाले १ करोड २० लाख र प्रदेश १ सरकारले ५० लाख रुपैयाँ लगानी गरेका थिए ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?