कतारसँग खेल्दै नेपाल, हेमन्तको स्थानमा नितिन

कुशल तिमल्सिना

दोहा,कतार — एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट गरेका छन् ।

कतारसँग खेल्दै नेपाल, हेमन्तको स्थानमा नितिन

नेपाल र कतारबीचको खेल दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैदानमा हुनेछ । एसियन च्याम्पियन घरेलु टोलीबिरुद्धको खेलका लागि प्रशिक्षक महर्जनले ४-१-४-१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछन् ।


ओमानसँगको खेलमा सुरुआती ११ मा परेका हेमन्तको स्थानमा नितिन थापाले अवसर पाएका छन् । अरु सबै समान खेलाडी छनोट गरिएको छ । गोलरक्षक अर्पण कार्की, डिफेण्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ हुनेछन् ।


तेज तामाङले डिफेन्सिभ मिडफिल्डको भूमिकामा हुनेछन् । मिडफिल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल हुनेछन् । अग्रपंक्तिको जिम्मेबारी कप्तान बिमल घर्तीमगरको हुनेछ । शुक्रबार ओमानबिरुद्धको खेलमा सुरुआती मिनेटमै खराव ट्याकलको मारमा परेका भरपर्दा मिडफिल्डर हेमन्त थापा मगरले बाँकी खेल गुमाउने भएका छन् ।


'गोलीगााठाको चोट उसको पुरानै समस्या हो र त्यही दोहोरियो, गहिरो नभएपछि पर्याप्त आरामको आवश्यकता छ त्यसैले उसले बाँकी खेल खेल्ने सम्भावना कम छ,' नेपाली टोलीका चिकित्सक राजु डंगोलले भने ।


छनोट प्रतियोगिता समूह 'ए' बाट आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ओमानसँग १-० को पराजय ब्यहोरेको थियो । चार टोली रहेको समूहबाट अर्को चरणमा स्थान बनाउनका लागि नेपाललाई यो खेल गर या मरको अवस्थामा छ । फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्धको खेल अवश्य पनि कठिन हुनेछ ।


'भर्खरै एसियन च्याम्पियन भएको कतारबिरुद्धको खेल हाम्रो लागि पक्कै पनि सजिलो छैन, हामीले रक्षात्मक रणनीति लिनेछौं, काउन्टर एट्याक र सेट पिसेस गोलमा ध्यान दिनेछौं,' प्रशिक्षक महर्जनले भने, 'वान टू वान मार्क गरेर खेििलयो भने कतारबिरुद्ध उसकै मैदानमा राम्रो नतिजा ल्याउन सक्ने विश्वास छ ।'


कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्वी पनि हो । नेपालको सिनियर उमेर समूहको टोलीले अहिलेसम्म कतारलाई जित्न सकेको छैन । त्यसमाथि सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारलाई घरेलु मैदान र समर्थकको साथ रहनेछ । पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २-० गोलअन्तरले पराजित गरेर मनोबल उच्च बनाएको छ ।


प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्वर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतूर रहेको बताएका थिए । उनले यस प्रतियोगितालाई सन् २०२० को गि्रष्मकालीन ओलम्पिकका लागि तयारी पनि भनेका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?