कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दाफिन्स सेमिफाइनलमा

प्रताप विष्ट

हेटौंडा — क्यामरुनी क्लब दाफिन्स दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपीएफको चुनौती १–० गोलअन्तरले पन्छाउँदै दाफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

दाफिन्स सेमिफाइनलमा

दाफिन्सका लागि निर्णायक गोल यानिक ओवानाले गरे । उनले ७९ औं मिनेटमा गोल गरे । पेतेंगाले पेनाल्टी बक्सभित्र उपलब्ध गराइदिएको बललाई उनले सशक्त प्रहार गर्दै गोल गरे । म्यान अफ द म्याच घोषित भई उनले दस हजार रुपैयाँ प्राप्त गरे ।


सेमिफाइनलमा दाफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दाफिन्स र एपीएफले मोफसलमा जारी विभिन्न प्रतियोगितामा चार पटक खेलिसकेका छन् । हालसम्म दाफिन्स एपीएफसँग कुनै पनि खेलमा पराजित भएको छैन ।


खेल पूर्णरूपमा दाफिन्सले नियन्त्रणमा लिए पनि खेलभर खासै राम्रो आकर्षक प्रहार एपीएफको पोस्टमा गर्न सकेन । एपीएफका सुदीप सिख्राकारले खेलको ५७ औं मिनेटमा फ्रिकिक प्रहारलाई दाफिन्सका गोलरक्षकले मुस्किलले बचाए । अन्तिम मिनेटमा दाफिन्सका सिलो न्याङ्गोले वान भर्सेस वानको अवस्थामा गोल गर्न असफल भए ।


खेलपश्चात् दाफिन्सका टिम व्यवस्थापक आसिक थापामगरले मैदानका कारण खेलाडीले आकर्षक खेल प्रस्तुत गर्न नसकेको बताए । उनले पहिलो हाफको दस मिनेट खेललाई पूर्ण रूपमा नियन्त्रणमा राखे पनि खेलाडीहरू टिम खेलको मर्मविपरीत खेल्दा समस्या भएको बताए । उनले आगामी खेलमा दाफिन्सको प्रदर्शन सुधार आउने दाबीसमेत गरे ।


एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले खेलमा राम्रो भए पनि स्कोर गर्न नसक्दा हार्न पुगेको बताए । उनले दाफिन्ससँग प्रतिस्पर्धात्मक फुटबल खेले पनि स्कोरिङमै समस्या भएको दाबी गरे । प्रशिक्षक श्रेष्ठले शारीरिक रूपमा दाफिन्स बलियो हुँदा आफूहरूलाई

समस्या भएको बताए ।


सोमबार नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दसवटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?