२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कुवेतसँग सचेत नेपाल

काठमाडौँ — पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपाल सोमबार हुने दोस्रो खेलअगाडि सचेत रहेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा पनि नेपालको लक्ष्य कम्तीमा बराबरी गर्ने नै छ । 

कुवेतसँग सचेत नेपाल

विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, सुमन अर्याललगायतका खेलाडी नेपाली यू–२३ बाट एसियन यू–२३ च्याम्पियनसिप छनोट खेल्न ओमानमा रहेकाले नेपालका लागि शुक्रबारको नतिजा उत्साहजनक थियो । स्विडिस योहान कालिनको नेपालको प्रशिक्षकको रूपमा आफ्नो पहिलो खेलमा अजित भण्डारी, विमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रवि पासवानलाई डेब्यु गर्न दिएका थिए । रक्षक अजितले प्लेयिङ ११ बाटै खेलेका थिए ।


शारीरिकका साथै अरू पक्षले पनि नेपालभन्दा बलियो टिम कुवेतविरुद्ध नेपालले पहिलो खेलमा जस्तो किसिमको प्रदर्शन गरेको थियो, त्यसलाई नै दोस्रो खेलमा पनि दोहोर्‍याउने लक्ष्यमा रहेको छ । पहिलो खेलमा नयाँ खेलाडीलाई पनि मौका दिएको नेपाली टिमले दोस्रो खेलमा पनि टिममा केही परिवर्तन गर्ने देखिएको छ ।


नेपाललाई पहिलो खेलमा घरेलु टिमले केही कमजोर आँकेर खेलेको थियो, जसका कारण कुवेतले मुख्य सेटभन्दा पनि युवा खेलाडीलाई मैदानमा उतारेको थियो । तर दोस्रो खेलमा कुवेतले पनि नेपालविरुद्ध ठूलो जितको लक्ष्यका साथ उत्रने देखिएको छ, जसका कारण नेपाली प्रशिक्षक केही सजग देखिएका छन् ।


प्रशिक्षक कालिनले कान्तिपुर टीभीसँग भनेका छन्, ‘दोस्रो खेलमा स्तरीय प्रदर्शन देख्न सक्नुहुन्छ । पहिलो खेलभन्दा दोस्रो खेल चुनौतीपूर्ण हुनेछ । किनकि कुवेतले पनि बदला लिने रणनीति बनाएको हुन सक्छ ।’ कप्तान विराज महर्जनले भने, ‘कुवेत हामीभन्दा शारीरिक र मानसिक दुवै रूपमा राम्रो छ । यी दुवै पक्षमा जो राम्रो हुन्छ, उसैले राम्रो नतिजा ल्याउँछ फुटबलमा । तर यसो भन्दैमा हामीले चुनौती दिन नसक्ने भन्ने होइन । हामी सकारात्मक नतिजा ल्याउनेमा विश्वस्त छौं ।’


नेपालले कुवेतविरुद्ध खेलको यसअघिका ५ खेलमा लगातार हार बेहोर्दै आएकोमा छैटौं खेलमा आएर बराबरी गर्न सफल भएको हो, जुन आफैंमा राम्रो उपलब्धि पनि हो । नेपालले १९८२ दिल्लीमा पहिलो पटक कुवेतसँग खेलेको थियो । एसियाली खेलकुदको त्यो प्रतिस्पर्धा नेपाली फुटबलको आधिकारिक पहिलो अन्तर्राष्ट्रिय खेल पनि थियो । वाईबी घलेको गोलमा नेपालले अग्रता लिए पनि नेपाल त्यस खेलमा ३–१ ले पराजित भएको थियो ।

प्रकाशित : चैत्र ११, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?