मकवानपुर च्याम्पियन

प्रताप विष्ट

हेटौंडा — आयोजक मकवानपुर ११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबलको उपाधिमा जितेको छ । क्यामरुनी क्लब दाउफिन्सको चुनौती २–१ ले पन्छाउँदै आयोजक च्याम्पियन भएको हो । 

मकवानपुर च्याम्पियन

फाइनलमा मकवानपुर भाग्यमानी साबित भयो । मकवानपुरले दुवै गोल पेनाल्टीमा गरेको थियो । च्याम्पियन मकवानपुरले उपाधिसहित ८ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता दाउफिन्स ४ लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो ।


विजेतालाई प्रदेश ३ का प्रतिपक्ष दलका नेता एवं मकवानपुर कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले एक लाख रुपैयाँ प्रदान गरे । आयोजकले फाइनल खेल जितेमा एक लाख उपलब्ध गराउने घोषणा गरेका थिए । नेता बानियाँले उक्त टिमलाई फाइनलमा पुग्दा पनि १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए ।


शनिबार खेलमा अग्रता भने दाउफिन्सले लिएको थियो । उसले चौथो मिनेटमा गोल गर्दै अग्रता लियो । आहेन्डल इसाहाले दिएको पासमा यानिक ओवानाले गोल गरेका थिए । आठौं मिनेटमा मकवानपुरको तर्फबाट योगेश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । दाउफिन्सका सिलो नाङ्गाको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा मकवानपुरले खेल बराबरी गर्ने अवसर पाएको थियो ।


मकवानपुरले छोटो पास खेल्दै दाउफिन्सलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको थियो । उचाइ र शारीरिक बनावटको फाइदा लिँदै दाउफिन्सले लामो पास खेलेर मकवानपुरमाथि दबाब बनाउने कोसिस गर पनि गोलरक्षक अशोक बराल बाधक भए । खेलको ८१ औं मिनेटमा दाउफिन्सका ओको बोटाको ह्यान्ड भएपछि मकवानपुरले पुनः पेनाल्टीको अवसर पायो । पेनाल्टीमा फेरि योगेश गुरुङले गोल थप्दै जित पक्का गराए ।


खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुरकै कप्तान अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ७५ हजार जित्न सफल भए । उनी नै उत्कृष्ट गोलरक्षक भए । त्यसवापत २० हजार पाए । मकवानपुरका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । दाउफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर भए । उत्कृष्ट सबैले जनही २० हजार प्राप्त गरे ।


विजेताका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीको मिहिनेतका कारण उपाधि जित्न सफल भएको बताए । उनले विपक्षी खेलाडीलाई मार्क गरेर खेल्दा उत्कृष्ट नतिजा आएको सुनाए । उपाधि चुम्दै मकवानपुरका कप्तान अशोक बरालले मिडफिल्ड र फरवार्डले रणनीतिअनुसार खेलेको र पाएका अवसर सदुपयोग गर्दा जित सम्भव भएको बताए । उनले शारीरिक बनावटले मात्र नभएर प्राविधिक रूपमा पनि खेल खेल्न जरुरी रहेको औंल्याए ।


मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा भएको प्रतियोगितामा १० टोलीले भाग लिएका थिए । विजेतालाई हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, उपमेयर मीना लामा, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पूरनबहादुर जोशीलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित : चैत्र १७, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?