महिला क्रिकेटको ऐतिहासिक अक्सन

काठमाडौँ — पहिलोपटक महिला क्रिकेट खेलाडीमाथि भाउ लागेको छ  । पहिलोपटक अक्सनबाट खेलाडी छनोट गरेपछि नेपाली महिला क्रिकेटरले आफ्नो क्षमताअनुसारको पारिश्रमिक पाउन लागेका हुन्  ।

महिला क्रिकेटको ऐतिहासिक अक्सन

नेपालमै पहिलोपल्ट आयोजना हुन लागेको फ्रेन्चाइज टिममा आधारित महिला क्रिकेट लिगको खेलाडी अक्सनमा आइतबार समावेश भएका ८० खेलाडीमध्ये ४ टिमले १३/१३ जना खेलाडी अनुबन्ध गरेका छन् ।


विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने नेपाल क्रिकेट लिग (एनसीएल) का लागि चार सहरको नामबाट फ्रेन्चाइज टिम बनाइएको छ । भैरहवा क्विन्स, विराटनगर रोरिङ लायोनेस, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोलीले १३ खेलाडी अनुबन्ध गर्नका लागि अधिकतम ६ लाख ५० हजारसम्म खर्च गर्न पाइने नियम बनाइएको थियो । चारै टोलीले खर्चको सीमा पूरा गर्नुपरेन ।


अक्सनमा ‘ए’ श्रेणीका १७, ‘बी’ श्रेणीका २८ र ‘सी’ श्रेणीका ३५ खेलाडी समावेश थिए । राष्ट्रिय टोलीबाट कम्तीमा २ वर्ष लगातार खेलेका खेलाडी ‘ए’ श्रेणीमा थिए । राष्ट्रिय टोलीबाट २ वर्षभन्दा कम खेलेका तथा राष्ट्रिय टोलीको क्याम्पमा परेका खेलाडी ‘बी’ श्रेणीमा थिए भने अनक्याप्ड खेलाडी ‘सी’ श्रेणीमा थिए । भैरहवाकी रुविना क्षेत्री, विराटनगरकी करुणा भण्डारी, धनगढीकी सीता रानामगर र काठमाडौंकी नेरी थापा मार्की खेलाडीका रूपमा छन् । उनीहरूले कम्तीमा १ लाख पारिश्रमिक पाउनेछन् । ‘ए’ श्रेणीका खेलाडीका लागि कम्तीमा ४० हजार र बढीमा ७५ हजारसम्मको बोली लगाउन पाइने व्यवस्था थियो भने ‘बी’ श्रेणीका लागि २५ देखि ५० हजार र ‘सी’ श्रेणीका लागि १५ देखि २५ हजारसम्मको बोली लगाउन पाइने थियो ।


‘ए’ श्रेणीका १७ मध्ये अक्सनमा १५ खेलाडीका लागि मात्र बोली लागेको थियो । आरती बिडारी र लक्ष्मी चौधरीलाई भने दोस्रो चरणमा आधारभूत मूल्यमा अनुबन्ध गरिएको हो । अक्सनमा ‘ए’ श्रेणीका खेलाडी एउटा टिमले कम्तीमा ३ र बढीमा ४ जनासम्म अनुबन्ध गर्न पाउने व्यवस्था थियो । अन्य दुई श्रेणीका लागि भने त्यस्तो व्यवस्था थिएन । ‘ए’ श्रेणीका १७ मध्ये १० खेलाडीलाई दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाएपछि गोलाप्रथाबाट टिम छनोट गर्नुपरेको थियो । पहिलो चरणमा बोली नलागेकी लक्ष्मी दोस्रो चरणमा आधारभूत मूल्यमा खरिद गर्न चारै टोलीले प्रयास गरेका थिए । गोलाप्रथाबाट उनी काठमाडौंमा अनुबन्धित भइन् ।


‘बी’ श्रेणीमा समावेश २८ मध्ये २० खेलाडी अक्सनमार्फत बिक्री भएका छन् । तीमध्ये ८ खेलाडीलाई दुईभन्दा बढी टिमले ५० हजारको अधिकतम मूल्यमा बोली लगाए । यस श्रेणीका १३ खेलाडी पहिलो चरणमा र बाँकी दोस्रो चरणमा न्यूनतम मूल्यमा अनुबन्धित भए । ‘सी’ श्रेणीमा समावेश ३५ खेलाडीमध्ये १५ जना विभिन्न टिममा अनुबन्धित हुन सफल भए । अनुबन्धित भएकामध्ये ७ खेलाडी पहिलो चरणमा र बाँकी ७ खेलाडी दोस्रो चरणमा अनुबन्धित भएका हुन् । यस श्रेणीका कृतिका मरासिनी, प्यारी चौधरी, रुवि पोद्दार, मनीषा राना र कृति सेनलाई २५ हजारको अधिकतम मूल्यमा दुईभन्दा बढी टिमले बोली लगाएका थिए । गोलाप्रथामार्फत उनीहरूको टिम छनोट भएको थियो ।


६ लाख ५० हजार खर्चको सीमितता भए पनि सबै टोलीले कम्तीमा ८० हजारदेखि बढीमा १ लाख ४५ हजारसम्म जोगाए । भैरहवाले ५ लाख ५० हजार मात्र खर्च गर्दा विराटनगरले ५ लाख २० हजार, धनगढीले ५ लाख ५ हजार र काठमाडौंले ५ लाख ७० हजार रुपैयाँ मात्र खर्च गरे । अक्सनमा सहभागी चारै टिमका प्रशिक्षकको फनि घोषणा गरिएको थियो । राष्ट्रिय क्रिकेट टिमबाट हालै संन्यास लिएका शत्ति गौचनले भैरहवाको प्रशिक्षण गर्नेछन् । विराटनगरले सामसनजंग थापा, धनगढीले राजु बस्न्यात र काठमाडौंले दीपेन्द्र चौधरीलाई प्रशिक्षक नियुक्त गरेका छन् ।

प्रकाशित : चैत्र १८, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?