कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फिनिसिङमा चुक्यो मनाङ

काठमाडौँ — फिनिसिङको कमजोरी सुधार गर्न नसक्दा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप समूह चरणमा बंगलादेशको अबहानी क्लब ढाकासँग १-० को हार बेहोरेको छ । बुधबार पहिलो हाफमै गोल खाएपछि घरेलु मैदानमा सुखद सुरुआत गर्ने मनाङको लक्ष्य पूरा भएन ।

फिनिसिङमा चुक्यो मनाङ

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सुरुआती २० मिनेट मनाङले आक्रामक खेल प्रस्तुत गरेको थियो । यसबीच गोलका दुई अवसर सिर्जना भएको थियो । मनाङको अग्रपंक्तिले अग्रता लिने मौका चुकायो । पाँचौं मिनेटमा विशाल राई र १२ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत हुन सकेन ।


'सुरुको २० मिनेट हामीले पूरा स्पिडमा खेल्यौं, त्यसपछि खेलाडीहरू सुस्त देखिए,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलपछि पत्रकार सम्मेलनमा भने, 'हाम्रा खेलाडीले शतप्रतिशत योगदान दिएर खेलेका हुन् तर नतिजा आफ्नो पक्षमा आएन ।'


खेलको २८ औं मिनेटमा मोहम्मद वाली फैसलको क्रसमा मसिह साईघानीले गरेको हेड गोल अबहानीको जितमा निर्णायक बन्यो । नेपाली रक्षापंक्तिले क्लियर गर्न नसकेको बल साईघानीले अग्लो कदको फाइदा उठाउँदै हेड गरेका थिए ।


घरेलु समर्थकमाझ एक गोलले पछि परेको स्थितिमा मनाङ पहिलो हाफमा बराबरी गोल फर्काउन असफल भयो । ३६ औं मिनेटमा अन्जन विष्टले कप्तान विराज महर्जनको क्रसमा गरेको हेडर पोस्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन । दोस्रो हाफमा मनाङले दुई राम्रो अवसर खेर फाल्यो ।


५४ औं मिनेटमा विशाल राईको फ्रिकिक प्रहार अबहानीका गोलरक्षक तथा कप्तान साहिदुल अलामले पन्च गरेर बचाए । त्यसको ९ मिनेटपछि अन्जनले करिब २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पोस्ट माथिबाट बाहिरियो । ७५ औं मिनेटमा ओलावाले अफिजले गोल गर्ने अवसर पाएका थिए । पेनाल्टी एरियाको दायाँतर्फबाट उनले हानेको लो शट गोलरक्षक साहिदुलले बचाए ।


७९ औं मिनेटमा अबहानीका सन्डे चिजोबाको प्रहारमा पोस्ट बाधक भइदियो । पोलमा लागेर फर्किएको बलमा उनले पुनः प्रहार गर्दा पोस्ट नजिकैबाट बाहिरियो । खेलभर अबहानीले दुई अवसर पाएकोमा एक गोल गर्‍यो । मनाङले तीन अवसर पाएको थियो तर फिनिसिङमा चुक्यो ।


असोजमा सुरु भएर पुसमा सकिएको 'ए' डिभिजन लिगमा मनाङले १३ मध्ये एक खेलमात्र हारेको थियो । तत्कालीन प्रशिक्षक फुजा तोपे र सुमन श्रेष्ठको रणनीति निकै सफल भएको थियो । मनाङले एएफसी कपका लागि केही खेलाडीलाई लोनमा अनुबन्ध गरेको थियो ।


विदेशी क्लबविरुद्ध घरेलु मैदानमा बेहोरेको हारले मनाङलाई एएफसी कपको दक्षिण एसियाली समूह चरण पार गर्न कठिन हुनसक्छ । तर प्रशिक्षक लोप्साङ भने त्यसलाई मान्न तयार छैनन् । 'पहिलो खेलमा पराजित भएका हौं, प्रतियोगिताबाट बाहिरिएका छैनौं,' उनले भने, 'हामीले अझै ५ खेल खेल्न बाँकी छ । ती खेलहरूमा फिनिसिङको कमजोरी सुधार्ने प्रयास गर्नेछौं ।'


मनाङले नेपाल पुलिस क्लबबाट अभिषेक रिजाल र च्यासल क्लबबाट देवेन्द्र तामाङलाई लोनमा अनुबन्ध गरेको थियो । देवेन्द्रले सुरुआती ११ मै स्थान बनाए । अभिषेक खेलको अन्त्यतिर अन्जनलाई प्रतिस्थापन गरी मैदान छिरेका थिए ।


सन् २०१४ को प्रेसिडेन्ट कपमा मंगोलियाको इर्चिम एफसीबिरुद्धको खेलमा रातो कार्ड पाएका मनाङका विदेशी डिफेन्डर सहिद अजिजले अबहानीबिरुद्धको खेल गुमाए । प्रशिक्षक लोप्साङले अजिजको अनुपस्थिति खड्किएको बताए ।


अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले जित हासिल भए पनि आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ नरहेको बताए । 'निकै प्रतिस्पर्धात्मक खेल थियो, दुवै टिमले उत्कृष्ट फुटबल खेले । पहिलो हाफमा हामीले गोल गर्न सक्यौं तर मनाङका हेमन गुरुङ, विशाल राई लगायतले खेलभर नै हाम्रो रक्षापंक्तिमा दबाब बनाइराखे,' लेमोसले भने, 'मनाङ बलियो टिम हो भन्ने थाहा थियो तर यति राम्रो खेल्छ भन्ने सोचेको थिइनँ । वास्तवमा भन्नुपर्दा मेरा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छैन ।'


अबहानीका गोलकर्ता साईघानीले टर्फ मैदानमा खेल्न केही कठिन भएको बताए । उनी महत्त्वपूर्ण ३ अंक हासिल भएकोमा भने सन्तुष्ट देखिए । मनाङका कप्तान विराज महर्जनले एक साताको तयारीका बाबजुद उत्कृष्ट प्रदर्शन गर्न सकेको सुनाए । 'उनीहरूले पाएको अवसरमा गोल गरे, हामीले त्यस्तै अवसर पाउँदा सकेनौं,' उनले भने ।


समूह 'ई' मा मनाङ र अबहानीसहित भारतका मिनरेवा पन्जाब र चेन्नाई एफसी छन् । मनाङले आफ्नो दोस्रो खेल अपि्रल १७ मा चेन्नाईविरुद्ध उसकै मैदान एरिना रंगशाला अहमदाबादमा खेल्नेछ । यस समूहको शीर्ष एक टोलीले इन्टर जोनल प्लेअफ सेमिफाइनलमा स्थान बनाउने छ ।

प्रकाशित : चैत्र २०, २०७५ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?