लिभरपुलको लडाकु शैली

बीबीसी

लन्डन — शुक्रबार साउथह्याम्प्टनविरुद्ध अन्तिम समयतिर हासिल गरेको महत्त्वपूर्ण जितपछि लिभरपुलका व्यवस्थापक जर्गेन क्लोपले सिजनको यस चरणमा टिमको प्रदर्शनको सट्टा ‘आक्रामकता’ महत्त्वपूर्ण हुने टिप्पणी गरे ।

लिभरपुलको लडाकु शैली

सेन्ट मेरिज रंगशालामा पाहुना टोली लिभरपुलले १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–१ गोलको जित आत्मसात् गर्‍यो । जसमा मोहम्मद सलाहले उत्कृष्ट गोल गरी टिमलाई अग्रता दिलाए ।


‘हाम्रा केही प्रदर्शन शीर्षस्तरको छैन, तर हामी सधैं खेलमै छौं,’ क्लोपले भने, ‘कुरा कमजोर प्रदर्शनको होइन, कुरा त हाम्रो आक्रामक शैलीको हो ।’ म्यानचेस्टर सिटी अहिले २ अंकले पछि परेको छ । लिगमा उसले एक खेल बढी खेल्न बाँकी छ । लिभरपुलले ३३ खेलमा ८२ र सिटीले ३२ खेलमा ८० अंक जोडेको छ ।


उपाधि दौडको अग्रपंक्तिमा रहेको लिभरपुलले सिजनमा २५ खेल जितेको छ । यो सन् १९४५ को सिजनपछिको पहिलो हो । साथै ३३ खेलमा ८२ अंक संकलन गर्न सक्ने लिभरपुल इतिहासकै पहिलो हो । ‘मानिसहरू हामीले पनि सिटीले जस्तै खेलुन् भन्ने चाहन्छन्,’ क्लोपले भने, ‘हामी त्यसो गर्न सक्दैनौं । हामी किन त्यसो गर्ने ? हामी हाम्रै पाराले फुटबल खेल्छौं र त्यो नै सबैभन्दा राम्रो तरिका हो ।’


‘यो सिजन सबै टिमका लागि कठिन भइरहेको छ । च्याम्पियन्स लिग छनोटका लागि तपाईंलाई ७०–७५ अंक चाहिन्छ, लिग जित्ने हो भने ९० को हाराहारीमा अंक चाहिन्छ । हामी राम्रो दिशामा छौं र दौडबाट बाहिरिइसकेका छैनौं,’ क्लोपले थपे ।


खेलको सुरुमै घरेलु टोली साउथहृयाम्प्टनका लागि शेन लङले गोल गरे । नेभी केइटाले लिभरपुलका लागि पहिलो गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो । लिभरपुलले जारी सिजन खेलको अन्तिम १५ मिनेटमा २० गोल गरेको छ । जुन अन्य टोलीहरूको भन्दा धेरै हो ।


सलाहले आफ्नो हाफबाट अघि बढेर सानदार गोल गरेपछि लिभरपुलले ८० औं मिनेटमा अग्रता लिएको हो । पछिल्लो ९ खेलमा उनको पहिलो गोल हो र प्रिमियर लिगमा लिभरपुलका लागि ५० औं । तेस्रो गोल ८६ औं मिनेटमा जोर्डन हेन्डरसनले गरे ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका हेन्डसरन स्पष्ट छन् कि उनको टिमले सन् १९८९/९० पछि पहिलोपल्ट प्रिमियर लिगको उपाधि हासिल गर्न बाँकी सबै खेल जित्नुपर्छ ।

प्रकाशित : चैत्र २४, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?