आठौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङमा ५५ खेलाडी

काठमाडौँ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा हुने भए पनि पूर्वाधार अभावका कारण प्याराग्लाइडिङ कास्कीमा हुनेछ । 

नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक प्याराग्लाइडिङ खेल समावेश गरिएको हो । खेल वैशाख ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ ।


कुल ६ वटा स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना तथा प्रदेशका टोली गरी ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए ।


प्याराग्लाइडिङतर्फ दुईवटा विद्या क्रसकन्ट्री र एक्युरेसीमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष खेलाडीतर्फको एक्युरेसीमा टिम एक्युरेसी र इन्डिभिजुअल एक्युरेसी र क्रसकन्ट्रीतर्फ टिम क्रसकन्ट्री र इन्डिभिजुअल क्रसकन्ट्री सञ्चालन हुने महासचिव राउतले बताए । यता महिलातर्फ भने इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा खेलाडी भिड्नेछन् ।


प्याराग्लाइडिङमा प्रदेश नम्बर १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट ४ जना खेलाडी छन् । विभागीय टोली त्रिभुवन आर्मीबाट १४ जना खेलाडी सहभागी हुँदैछन् । प्रदेश २ र ५ मा भने खेलाडी नै छैनन् ।


यस पटक प्याराग्लाइडिङ प्रतिस्पर्धामा विभागीय टोली आर्मीले १० पुरुष र ४ महिला सम्मिलित टिम तयार गरेको छ । आर्मीबाट प्रतिस्पर्धामा रहेका २ जना खेलाडी भने १८ औं एसियाडमा रजत पदक विजेता खेलाडी छन् । एसियाडमा रजत पदक विजेता विशाल थापा र विजय गौतम आर्मीबाट प्रतिस्पर्धामा उत्रनेछन् ।


युवा खेलाडी युकेश गुरुङ र सुशील गुरुङले गण्डकी प्रदेशबाट खेल्नेछन् १८ औं एसियाडमा सहभागी महिला खेलाडी सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजन गण्डकी प्रदेशबाट नै सहभागिता जनाउनेछन् । तर एसियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारी आठौं खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले बताए ।

प्रकाशित : चैत्र २५, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?