१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आठौं राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणसँगै खेल सुरु

बाँके/बर्दिया — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबारबाट विभिन्न खेल सुरु हुँदैछन् । औपचारिक उद्घाटनपूर्व १३ खेल स्पर्धा हुनेछन् । पहिले सञ्चालन गरिने खेलका लागि पूर्वाधार निर्माण पूरा भएका छन् । पछि सञ्चालन हुने स्पर्धाका लागि पूर्वाधार बनाउने काम जारी छ । 

आठौं राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणसँगै खेल सुरु

उद्घाटनका लागि नेपालगन्ज रंगशाला दिन प्रतिदिन सिंगार्ने क्रम जारी छ । रंगशालाको मैदानमा दूबो हराभरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकाले स्वागतका लागि सडक पिच गर्ने काम पनि भइरहेको छ । विरुवा रोपिंदै छन् । अहिलेसम्म ६ वटा भीआईपी प्यारापिट जडान गरिसकिएको छ । त्यसमा छानो हाल्ने काम चलिरहेको छ ।

सोमबार ९ वटा कन्टेनरमा ३ हजार ५ सय सिट आएका छन् । चीनबाट आयातित उक्त सामग्री कोलकाता हुँदै नेपालगन्ज भन्सारसम्म आउन ९ दिन लागेको राष्ट्रिय खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए ।

१० हजार दर्शक क्षमता भएको रंगशालामा सात सय सिट जडान गरिने उनले सुनाए । ‘भीआईपी व्यक्ति मात्र सिटमा बस्नु हुनेछ,’ उनले भने, ‘विस्तारै जडान गर्नेछौं ।’ बुधबारबाट खेल सुरु हुनेछन् । त्यसका लागि यहाँ तामझाम गरिएको छैन । अहिले पनि आयोजक र प्राविधिक पूर्वाधार निर्माणमै केन्द्रित देखिन्छन् । विभिन्न उपसमितिले ध्यानपूर्वक काम गरेको देखिंदैन ।

रंगशाला निर्माणमा ढिलासुस्ती भएको प्राविधिकले बताए । प्यारापिट जडान गर्न चार जना चिनियाँ श्रमिक आएका छन् । ‘उनीहरू नियममा बाँधिएर काम गर्न खोज्छन्,’ निर्माणमा सहभागी एक जना प्राविधिकले भने, ‘हामीलाई छिटो काम सक्नुपर्ने बाध्यता छ ।’ चिनियाँ श्रमिक र नेपालका प्राविधिक पक्षबीच कामको तालमेल नमिल्दा पनि समस्या आएको छ ।

वैशाख ५ गते राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको स्वागतमा विशेष ध्यान दिएको अध्यक्ष वलीले बताए । मैदान निर्माणमा केन्द्रित हुनुफरेकाले अतिरिक्त त्रियाकलापमा ध्यान दिइएको देखिंदैन । नेपालगन्ज उपमहानगरपालिका राष्ट्रपति आउने भएकाले नाला सफाइ गरिरहेको छ । बुधबार यहाँ हक्की (पुरुष), ललितपुरमा स्क्वास (पुरुष र महिला), रूपन्देहीमा लन टेनिस र पोखरामा प्याराग्लाइडिङका खेल हुनेछन् ।


तयारी पूरा

बर्दियामा प्रतियोगिता सञ्चालनको भौतिक संरचना निर्माण पूरा भएको छ । जिल्लामा बुद्धिचाल, कबडडी, खोखो र सेपाकताक्रो प्रतियोगिता हुनेछन् । चैत २९ देखि वैशाख ४ गतेसम्म ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा बुद्धिचाल खेल हुने भएको छ ।

खेलुकद विकास समितिका अध्यक्ष खगेन्द्र खनालका अनुसार चैत ३० देखि वैशाख ५ गतेसम्म बासगढी नगरपालिकास्थित कबर्ड हलमा कबडडी खेल हुने भएको छ । कबड्डी खेलमा महिला र पुरुष सहभागी हुने छन् । महिला र पुरुष गरी २० टिम कबड्डी खेलमा सहभागी हुने भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको सिंहबाहिनी मैदानमा खोखो खेल हुनेछ । वैशाख ६ गते देखि ११ गतेसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी २० टिम सहभागी हुने समितिका अध्यक्ष खनालले जनाए । गुलरिया तुलापुरस्थित कभर्ड हल मैदानमा सेपाताक्रो प्रतियोगिता हुनेछ । गुलरियामा वैशाख ६ देखि ९ गतेसम्म सेपाताक्रो प्रतियोगिता हुने खेलकुद समितिले जनाएको छ । सेपाताक्रो प्रतियोगितामा पनि महिला र पुरुषका २० टिम सहभागी हुने छन् ।

खेलाडीका लागि खाने, बस्ने व्यवस्थाका लागि लागि भुरीगाउँ, बासगढी र गुलरियामा होटलको व्यवस्था गरिएको छ । ‘खेलाडीका लागि दैनिक १ हजार ४ सय भत्ताबाट खाने/बस्ने व्यवस्था गरिएको हो,’ समितिका अध्यक्ष खनालले भने, ‘खेलाडीका लागि भत्ताको व्यवस्था बसोबास समितिले मिलाएको छ ।’ चारवटै प्रतियोगिता इन्डोरमा हुने भएकाले गर्मीले खेलाडीलाई खासै असर नपर्ने आयोजकले जनाएका छन् । विगतका वर्षमा वैशाखको पहिलो साता जिल्लामा ४० डिग्री तापक्रम पुग्ने गरेको थियो ।

सदरमुकाम गुलरियामा हुने भनिएको महिला भलिबल प्रतियोगिता नहुने भएको छ । सदरमुकाम गुलरियामा आउने झन्डै ६ सय खेलाडीका लागि बस्ने पर्याप्त सुविधाजनक होटल नहुँदा महिला भलिबल प्रतियोगिता स्थगन भएको हो । आठौं राष्ट्रिय खेल प्रतियोगिता अन्तर्गत एथलेक्टिस हुने भन्दै गुलरियास्थित कबर्ड हलको मैदानमा ट्र्याकसमेत निर्माण गरिएको छ । गुलरियामा एथ्लेटिक्स खेल पनि नहुने भएको छ ।


सकियाे तयारी

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबारदेखि दाङकाे घोराहीमा सुरु हुने विभिन्न खेलको तयारी भएको छ । घोराही कभर्ड हलमा चैत २७ देखि ३० सम्म टेबल टेनिस तथा चैत २८ देखि वैशाख ४ सम्म पुरुष र महिला बास्केटबल हुँदैछन् ।

घोराहीमै वैशाख १ देखि व्याडमिन्टन हुँदैछ । बेलझुन्डीस्थित रंगशालामा वैशाख ५ देखि ११ गतेसम्म महिला फुटबल, वैशाख ५ देखि ११ गतेसम्म एथलेटिक्स, तुलसीफुरस्थित कराँते हलमा वैशाख ६ देखि ११ गतेसम्म कराँते र लमही क्रिकेट मैदानमा वैशाख ५ देखि ११ गतेसम्म महिला त्रिकेट हुँदैछन् ।

चैतभित्रै खेल हुने सबै खेलकुद स्थलका संरचना तयार भइसकेको र वैशाखमा हुनेको अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । बुधबार घोराहीमा पूर्वखेलकुदमन्त्री दलजित शेर्पाइलीले उद्घाटन गरी खेलको सुरुआत गर्ने कार्यक्रम तय भएको उनले बताए । लमहीस्थित क्रिकेट मैदान तयार पारी दूबोसमेत रोपिएको छ । बेलझुन्डीस्थित रंगशालामा भने काम भइरहेको छ ।

सबै संरचना तयार नभए पनि निर्धारित समयमा खेल्न मिल्ने बनाइसकिने उनले बताए । खेलका लागि विभिन्न जिल्लाबाट खेलाडी आउने क्रम जारी रहेको र सबैको व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र २७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?