कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद स्मारक लिग : पाएनन् पुरस्कार

राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिए पनि त्यसको तयारी खर्च र पुरस्कार नदिएको भन्दै हिमालयन शेर्पा, सरस्वती युवा, फ्रेन्ड्स र मछिन्द्र क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको सार्वजनिक रूपमै विरोध गरेका थिए ।

सहिद स्मारक लिग : पाएनन् पुरस्कार

उनीहरूले क्लब समन्वय समिति गठन गरेर तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध आन्दोलन नै चर्काए । चैत २६, २०७० मा सुरु भएको आन्दोलनले नेपाली फुटबलको राजनीतिमा आमूल परिवर्तन ल्यायो ।


विद्रोही पक्षको नेतृत्व गरेका कर्माछिरिङ शेर्पा एन्फा अध्यक्षमा निर्वाचित भएको ११ महिना भइसक्यो । उनकै समूहको पक्षमा चुनावको नतिजा एकतर्फी रह्यो । शेर्पाको समूहमा समावेश नभएका गणेश थापा पक्षधर चुनावबाट बढारिए । नेतृत्व परिवर्तन भए पनि एन्फाको कार्यशैली भने खासै फेरिएको छैन । नयाँ नेतृत्वले घटुवा–बढुवाको प्रणली हटाएरै भए पनि पाँच वर्षपछि पहिलोपल्ट राजधानीको ‘ए’ डिभिजन लिग सञ्चालन गर्‍यो तर त्यसमा उत्कृष्ट चुनिएका खेलाडी र प्रशिक्षकलाई घोषणा गरेको तीन महिनासम्म पनि मोटरसाइकल पुरस्कार दिएको छैन ।


गत पुस २४ मा सकिएको ए डिभिजन लिगको उपाधि कब्जा गर्दै मनाङ मर्स्याङदी क्लब कीर्तिमान आठौंपल्ट च्याम्पियन भएको थियो । लिगकै उत्कृष्ट प्रशिक्षक घोषित मनाङका सुमन श्रेष्ठले भने, ‘घोषित पुरस्कारबारे २०–२५ दिनअघि पनि एन्फा पदाधिकारीसँग कुरा गर्दा बाइक चाँडै पाउँछु जस्तो लागेको थियो । पुरस्कारका लागि नआत्तिन आश्वासन दिए । तर, बाइक कहिले पाउँछु भन्ने अझै थाह छैन ।’


खेलाडीतर्फ व्यक्तिगत विधामा च्याम्पियन मनाङका विशाल श्रेष्ठ (गोलकिपर), हेमन गुरुङ (मिडफिल्डर), थ्रीस्टारका रन्जित धिमाल (डिफेन्डर), आर्मीका भरत खवास (फरवार्ड) उत्कृष्ट घोषित भएका थिए । उनीहरूलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पुरस्कार वितरण समारोहमा बजाज पल्सर एनएस २०० मोटरसाइकल चढाएर फोटो पनि खिचिएको थियो । हालको बजार मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँको उक्त मोटरसाइकल उनीहरूले पाएका छैनन् । यसअघि २०७० सालको ए डिभिजन लिगका उत्कृष्टलाई एन्फाले यामाहा अल्बा दिएको थियो ।


‘पहिला एक महिनाभित्रै पुरस्कार पाइन्थ्यो । यसपल्ट लिगको अन्तिम दिन बाइक चढेर फोटो खिचाइयो । त्यसको तीन महिना बित्दा पनि पुरस्कार पाइएको छैन,’ एक खेलाडीले भने, ‘यसपालि नयाँ बाइक चढ्ने सोचेको थिएँ । त्यो कहिले पाइन्छ भन्ने नै पत्तो भएन । कसैलाई केही भनौं भने पनि गाह्रो छ ।’ भरत र विशाल दोस्रोपल्ट लिगमा उत्कृष्ट चुनिएका हुन् ।


एन्फाले सहिद स्मारक लिगको ‘मार्केटिङ राइट्स’ राम सरस्वती (रामसार) मिडिया प्रालिलाई तीन वर्षका लागि ४ करोड ५० लाख रुपैयाँमा दिने सम्झौता गरेको थियो । पहिलो वर्ष (२०७५ साल) एक करोड, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोडको सम्झौता रहेको छ । रामसारले ए डिभिजन लिगको मुख्य प्रायोजकका रूपमा हुलासचन्द एन्ड कम्पनी प्रालि (बजाज पल्सरको आधिकारिक विक्रेता) सँग तीनवर्षे सम्झौता पनि गर्‍यो ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फालाई लिग सञ्चालनका लागि ‘फिफा फरवार्ड’ अन्तर्गत ६ लाख ८८ हजार अमेरिकी डलर छुट्याएको थियो । एन्फाले ए डिभिजन लिगलाई ५ करोड ८० लाखको बजेट बनाएको थियो । एन्फाले अन्नपूर्ण मिडिया नेटवर्कसँग १ करोड ५ लाखको टेलिभिजन प्रसारण (तीन वर्ष) र माइकोजुसँग करिब एक लाख डलर (चार वर्षे) को डिजिटल अधिकार सम्झौता पनि गर्‍यो । तैपनि उत्कष्ट खेलाडीहरू र प्रशिक्षकले पुरस्कार पाएका छैनन् । ‘हामी मिलाउँदै छौं । पुरस्कार चाँडै पाउने छन्,’ एन्फा प्रवक्ता किरण राईले भने ।


ए डिभिजन लिग २०७० मा पुरस्कार एक करोड ७३ लाख र ५ मोटरसाइकल थियो । त्यसयता पहिलोपल्ट २०७५ सालमा आयोजित ए डिभिजन लिगमा १९ लाख वृद्धि गरी एक करोड ९२ लाख १० हजार रुपैयाँ र ५ मोटरसाइकल पुर्‍याइएको हो । च्याम्पियन मनाङले ५० लाख तथा शीर्ष ६ स्थानमा रहेका संकटाले ३५ लाख, थ्रीस्टारले २५ लाख, आर्मीले १५ लाख, एपीएफले ६ लाख र पुलिसले ५ लाख प्राप्त गरे ।


लिगका १४ क्लबलाई तयारी खर्च १५ लाखबाट वृद्धि गरी २० लाख बनाइएको थियो । त्यसको अन्तिम किस्ता (५–५ लाख) दिने प्रक्रियामै रहेको लिगका निर्देशक सन्जिव मिश्रले बताए । एन्फाले घटुवा व्यवस्था हटाए पनि अन्तिम दुई स्थानका क्लबलाई तयारी खर्चको २ लाख र १ लाखसँगै अर्को सिजनको लिगमा २ र १ अंक कटौती गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : चैत्र ३०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?