२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

टेबलटेनिसमा पुलिसको वर्चस्व

दुर्गालाल केसी

दाङ — आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत घोराही कभर्ड हलमा सञ्चालित ४० औँ टेबल टेनिस प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबले ६ स्वर्ण पदक हात पार्दै वर्चस्व कायम गरेको छ ।महिला र पुरुष सिंगल्समा नेपाल पुलिसले नै दुई स्वर्ण र दुई रजत जितेको छ ।

टेबलटेनिसमा पुलिसको वर्चस्व

एपीएफ र आर्मीले दुई/दुई कास्यमा चित्त बुझाएका छन् । पुरुष सिंगल्समा नेपाल पुलिसका स्यान्टु श्रेष्ठले पुलिसकै प्रदीप रोकालाई ४-० को सेटमा हराएर मेडल र शिल्ड हात पारेका छन् । एपीएफका शिवसुन्दर गोथे र विलाश श्रेष्ठले कास्यमा चित्त बुझाएका छन् ।


महिला सिंगल्समा पुलिसकी नबिता श्रेष्ठले स्वर्ण हात पारेकी छन् । उनी योसहित आठौंपटक च्याम्पियन भएकी छन् । उनले पुलिसकै एलिना महर्जनलाई ४-२ को सेटमा हराएकी थिइन् । आर्मीकी रबिना महर्जन र दीक्षा तामाङले कास्यमा चित्त बुझाए ।


यसअघिका पाँच खेलमा पुलिसले चार स्वर्ण र एउटा रजत जितेको थियो । यस्तै एपीएफले एक स्वर्ण, दुई रजत र दुई कास्य हात पारेको थियो भने आर्मीले दुई रजत र दुई कास्य जितेको थियो । पुरुष समूह अन्तर्गत एपीएफले स्वर्ण जितेको थियो । आर्मीले रजत पदक तथा नेपाल प्रहरी र प्रदेश ३ ले कास्य जितेका थिए ।


महिला समूह अन्तर्गत पुलिसले स्वर्ण, एपीएफले रजत तथा आर्मी र प्रदेश नम्बर ३ ले कास्य पदक जितेका थिए । मिक्स डबल खेलमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नबिता श्रेष्ठको जोडीले स्वर्ण पदक जितेका थिए । पुलिसकै बिनेश खनिया र एलिना महर्जनले रजत हात पारेका थिए । एपीएफका पुरुषोत्तम बज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङले कास्यमा चित्त बुझाएका थिए ।


यसै गरी पुरुष डबलमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनियाले स्वर्ण पदक हात पारेका थिए । सशस्त्र प्रहरीका मनिकुमार लामा र विलाश श्रेष्ठले रजत जितेका थिए । प्रदेश ३ का संजोक कपाली र एलेक्स महर्जन तथा एपीएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथेले कास्यमा चित्त बुझाएका थिए ।


यसै गरी महिला डवल्समा नेपाल प्रहरीकी नबिता श्रेष्ठ र एलिना महर्जनले स्वर्ण पदक हात पारेका थिए । आर्मीकी स्वेच्छा नेम्वाङ् र रविना महर्जनले रजत जितेका थिए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एपीएफका सेलिसा खड्की र सिक्का सुवालले कास्यमा चित्त बुझाएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?