कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : व्यवस्थापन कमजोरीले सास्ती

कमल पन्थी

बर्दिया — महिलातर्फको कबड्डी खेल सुरु भएको ५ मिनेटमै नेपाल पुलिसकी संगीता गौतम खुट्टामा चोट लागेर घाइते भइन् । लगत्तै पुलिसकै तिनु गुरुङको हात नै फ्याक्चर भयो । पुरुषतर्फ एपीएफका पदमबहादुर विष्टको हातमा गम्भीर चोट लाग्यो । तर उनीहरूको उपचारका लागि त्यहाँ कुनै चिकित्सक थिएनन् ।

आठौं राष्ट्रिय खेलकुद : व्यवस्थापन कमजोरीले सास्ती

उपचारका लागि बाहिर लैजान एम्बुलेन्स पनि थिएन । घटनाको जानकारी पाउनासाथ रेडक्रसका स्वयंसेवकले सवारी साधन खोजेर उनीहरूलाई नेपालगन्ज पुर्‍याइएको थियो । जिल्लाको बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटामा निर्माणाधीन कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि कबड्डी सुरु भएको हो ।


बाँसगढी बजारदेखि करिब ३ किमि दुरीमा रहेको कभर्डहलवरपर कुनै होटल, लज र स्वास्थ्य केन्द्र छैनन् । खेल सञ्चालन हुँदा बिहान खेलकुद विकास समितिका कुनै पदाधिकारीको उपस्थिति नभएको गुनासो खेलाडीको छ । अपरान्ह ५ बजे विधिवत खेलको उद्घाटनका क्रममा भने राष्ट्रिय खेलकुद परिषद्, कबड्डी संघलगायतका पदाधिकारीको जमघट थियो । नाम नखेल्न आग्रह गर्दै एक खेलाडीका अनुसार यातायात, बसोबासलगायतको अत्यावश्यकीय पक्षमा राम्रो व्यवस्थापन छैन । अधिकांश खेलाडी बसोबास समस्याका कारण कोहलपुर र नेपालगन्जमा बसेका छन् ।


पुलिसको टिम इलाका प्रहरी कार्यालय, बाँसगढीमा बसेको छ । सवारी साधनको व्यवस्था नहुँदा खेलाडीलाई प्रहरी कार्यालयमा रहेको एउटा जीपले ४–५ पटक ओसार्ने काम गरिरहेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । व्यवस्थापन र यातायात दृष्टिले दुर्गम मानिएको खेलस्थलमा कबड्डी खेल हेर्ने दर्शक संख्या पनि कम थियो ।


कबड्डी संघकी अध्यक्ष एवं सांसद तुलसा थापाले व्यवस्थापनमा कमजोरी भएको स्वीकारिन् । कबड्डीका लागि राखिएको म्याट र टेप कमसल खालको भएको गुनासो खेलाडीको छ ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनालीले व्यवस्थापनमा भोलिदेखि कुनै किसिमको कमजोरी नहुने दाबी गरेका छन् । कबड्डीका लागि सातवटै प्रदेश र विभागीय टिमसहित २ सय ४० खेलाडी सहभागी छन् ।


शनिबार पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ ले हरायो । प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६ ले, एपीएफले प्रदेश ७ लाई ४५–३५ अंकले हराए । गण्डकी प्रदेशले प्रदेश ३ विरुद्ध ५१–४७ ले सफलता पायो । महिलातर्फ आर्मीले प्रदेश २ लाई ७२–१७ अंकले, सुदूरपश्चिमले प्रदेश १ लाई ८१–२१ ले, प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३२–२२ ले र पुलिस क्लबले प्रदेश ३ लाई ५१–२२ अंकले हराए ।

प्रकाशित : वैशाख १, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?