कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीलाई १ अंकको अग्रता

एएफपी

लन्डन — रहिम स्टर्लिङको दुई गोलमा म्यानचेस्टर सिटी आइतबार क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरी इंग्लिस प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा उक्लिएको छ । सिजन सकिन ५ खेल बाँकी रहेको अवस्थामा सिटीले लिभरपुललाई १ अंकले पछाडि पारेको हो ।

सिटीलाई १ अंकको अग्रता

केभिन डी ब्रुयनको सानदार क्रसमा स्टर्लिङले १५ औं मिनेटमा गोलको खाता खोलेका थिए । सेलहस्ट पार्कमा लेरोय सानेको पासमा स्टर्लिङले नै ६४ औं मिनेटमा दोस्रो गोल गरे । रेलिगेसन क्षेत्रबाट ११ अंकमात्र माथि रहेको प्यालेसलाई ८१ औं मिनेटमा लुका मिलिभोजेभिजले फ्रिकिकमा गोल गरी केही आशा दिलाए ।


अन्तिम समयमा ग्याब्रियल जेससले चलाखीपूर्ण गोल गरी सिटीको विजय निश्चित गरे । सिटीले मध्यसातामा टोटनहमसँग च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग खेल्दै छ । इतिहादमा हुने दोस्रो खेलअगाडि सिटी १–० ले पछाडि छ ।


अघिल्लो रात पाउल पोग्बाले गोलविहीन यात्रालाई ८ खेलमा टुंग्याउँदै पेनाल्टीमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याममाथि २–१ को जित हात पारेको थियो ।


रोबर्ट स्नोडग्रासले जुआन माटालाई फाउल गरेपछि पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै म्यानचेस्टरलाई १९ औं मिनेटमा अग्रता दिलाए । युनाइटेड त्यो अग्रता जोगाउन संघर्षरत रह्यो । दोस्रो हाफको सुरुमै फिलिप एन्डरसनले गोल गर्दै वेस्ट ह्यामलाई बारबरीमा पुर्‍याए । उनले यसअघि गोल गरेपछि त्यसलाई अफसाइड घोषित गरिएको थियो ।


म्यानुयल पेलिग्रिनीको टिमलाई २०१९ मा पहिलोपल्ट ‘अवे’ जित दिलाउन वैकल्पिक मिकाइल एन्टोनियोले दुईपल्ट अवसर पाएका थिए । उनले २० यार्डबाट गरेको प्रहारमा पोल बाधक बन्यो र अर्को हेडरमा गोलकिपर डेविड डी जियाले उत्कृष्ट बचाउ गरे ।

फेरि एकपल्ट पोग्बा खेलमा निर्णायक साबित भए । उनले एन्थोनी मार्सियललाई खेल सकिन दस मिनेट बाँकी छँदा लोभलाग्दो पास दिएका थिए ।


निश्चित गोलको अवसरमा मार्सियललाई रायल फ्रेडरिक्सले लडाएपछि युनाइटेडले फेरि पेनाल्टी पायो । त्यसमा पोग्बाले निर्णायक गोल गर्दै ओले गनर सोल्सायरको टिमलाई महत्त्वपूर्ण ३ अंक दिलाए । सोल्सायरले च्याम्पियन्स लिग क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध मंगलबार हुने खेलअघि स्कट म्याकटोमिनरी र मार्कस रसफोर्डलाई आराम दिएका थिए ।


त्यस्तै, लुकास मोउराको ह्याट्रिकसँगै टोटेनहमले हडर्सफिल्डलाई ४–० ले हरायो । बर्नमाउथले ब्राइटनलाई ५–० ले निरास पार्‍यो । न्युकासल युनाइटेड, बर्नली, फुलहम र साउथह्याम्पटनले पनि जित हात पारे ।


इटाली

मिलान– कमजोर मानिएको स्पालले सिरी ‘ए’ मा शनिबार युभेन्ट्सलाई २–१ ले स्तब्ध पारेको छ । यसले युभेन्ट्सलाई च्याम्पियन भएर खुसीयाली मनाउने अवसरबाट तत्काल वञ्चित गर्‍यो ।


मासिमिलानो एलेग्रीको टिमलाई निरन्तर आठौंपल्ट कीर्तिमान उपाधि हात पार्न १ अंकमात्र आवश्यक थियो । बराबरी नतिजाले पनि उसलाई ६ खेलअघि नै च्याम्पियन बनाउने थियो । युवा खेलाडी मोइसे किनले ३० औं मिनेटमा गोल गरेपछि युभेन्ट्स च्याम्पियनको बाटोमा एक कदम अगाडि बढेको थियो ।


केभिन बोनीफाजी र सर्जियो फ्लोकारीले दोस्रो हाफमा गोल गर्दै स्पाललाई महत्त्वपूर्ण जित दिलाए । यससँगै स्पाल रेलिगेसन क्षेत्रभन्दा ७ अंकमाथि उक्लियो ।


फ्रान्क केसीको गोलमा एसी मिलानले भने लाजियोलाई १–० ले हराएर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राख्यो ।


स्पेन

म्याड्रिड– लियोनल मेसीसहित पहिलो रोजाइका १० खेलाडीलाई आराम दिएको बार्सिलोना ला लिगामा हुएस्कासँग गोलरहित रोकिएको छ । यससँगै शीर्षस्थानको बार्सिलोनाको अग्रता ११ अंकबाट ९ अंकमा झर्‍यो ।


प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मंगलबार म्यानचेस्टर युनाइटेडविरुद्ध हुने च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगका लागि १० खेलाडीलाई आराम दिएर हुस्सकाविरुद्ध उतारेका थिए । त्यसले एट्लेटिको म्याड्रिडसँगको दूरीमा २ अंक घटेको छ । एट्लेटिकोले एन्टोइन ग्रिजमन र अल्भारो मोराटाको गोलसँगै सेल्टा भिगोलाई २–० ले हरायो ।

प्रकाशित : वैशाख २, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?