२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कबड्डी खेलाडीको हैरानी

कमल पन्थी

बर्दिया — दिउँसोको तापक्रम ३९ डिग्री । हस्याङ फस्याङ गर्दै खेलाडीहरू बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटामा निर्माणाधीन कभर्डहलमा कबड्डी खेल्न पुगिरहेका हुन्छन् ।

कबड्डी खेलाडीको हैरानी

कभर्डहल बाँसगढी बजारबाट करिब ३ किमि र कोहलपुरबाट २० किमि टाढा छ । अधिकांस खेलाडी आवासको अभावमा कोहलपुर बस्ने गरेका छन् । उफ्, कस्तो गर्मी, राति पंखाको तातो हावामा रात कटाएर बिहानदेखि बेलुकीसम्म खेल्नुपरेको कर्णाली प्रदेशका खेलाडीको गुनासो छ ।


सुदूरपश्चिमकी धेरै महिला खेलाडीले गुनासो पोखे, ‘प्रचण्ड गर्मीमा खेल्न हम्मेहम्मै परेको छ ।’ तराईको बढी गर्मी मानिएको बाॅके, बर्दियामा भइरहेको प्रतियोगितामा आएका अधिकांश खेलाडीको यही दुखेसो छ । त्यसमाथि प्रतिस्पर्धा दुर्गम बस्तीमा राखिएपछि आवासको अभावमा खेलाडी झन् सास्ती भोग्नुपरेको छ ।


आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कबड्डी शनिबार सुरु भएको हो । विगतमा सहरमुखी राष्ट्रिय प्रतियोगिता हुँदै आएकोमा यस वर्ष अव्यस्थित मैदान भए पनि कबड्डी संघकी अध्यक्ष तथा सांसद तुलसा थापाको निर्देशनअनुसार यहाँ प्रतियोगिता भएको हो । उनकै पहलमा सामुदायिक वन फाँटामा कभर्डहल निर्माण भइरहेको छ ।


वनसँग जोडिएको कभर्डहल भएकाले खेलाडीले गर्मीको थप हैरानी बेहोरेका छन् । ठाकुरबाबा नपाको सिंहबाहिनीमा वैशाख ६ देखि खोखो र गुलरिया नपाको तुलापुरस्थित कभर्डहल मैदानमा सेपाकताक्रो प्रतियोगिता हुने छन् । कबड्डी खेलाडीले गर्मीको हैरानी खेप्दै आए पनि ठाकुरद्वारामा बुद्धिचालका खेलाडीले भने वातानुकूलित कोठामा बसेर खेल्दै आएका छन् ।


ठाकुरद्वारा नगरपालिका–९ स्थित गैंडा क्याम्प कटेजमा भइरहेको छ । यहाँ भने आवास, खानेलगायत पर्याप्त सुविधा छ । बुद्धिचाल खेलाडीका लागि भने स्वास्थ्यकर्मी, सवारीसाधन र एम्बुलेन्स तयारी अवस्थामा राखिएको खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले बताए ।


कबड्डीमा आइतबार पुरुषतर्फ एपीएफ र गण्डकी प्रदेशले अग्रता लिएका छन् । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ५८–३६ अंकले हरायो । गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ७५–३६ को जित निकाल्यो । सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४ अंकले हरायो । प्रदेश ३ ले प्रदेश २ विरुद्ध ४६–३३ अंकको सफलता पाएको छ ।


महिलातर्फ प्रदेश ५ ले कर्णाली प्रदेशलाई ४१–२९ अंकले हराएको छ । पुलिसले एपीएफलाई ४०–१९ ले, गण्डकी प्रदेशले प्रदेश २ लाई ४५–२९ ले तथा प्रदेश ३ ले प्रदेश १ लाई ७१–१९ अंकले हराए ।

प्रकाशित : वैशाख २, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?