१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हारेर जितिन्

मधु शाही

बाँके — दुवै खुट्टा खोच्याउँदै हिँडेकी पुष्पा भण्डारीलाई देख्नेहरूले कठै र विचारा भाव दर्शाउँथे । उनको अनुहारमा भने सान्त्वनाको कुनै किरण झल्किँदैनथ्यो । अरु सवलांग खेलाडीजस्तै प्रफुल्लित र निडर भएर उनी जुडोको एरिनामा उत्रेकी थिइन् । 

हारेर जितिन्

नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जुडो सुरु भएको छ । महिला तौल समूहमा सल्यानकी १९ वर्षीया पुष्पाले खेलमा हारेर पनि जित हासिल गरिन् । दुवै पैतालो गुमाएकी उनी सवलांग खेलाडीसँग निरन्तर जुधिरहिन् । उनको हिम्मतिलो प्रदर्शन सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । तर दर्शक र निणार्यकहरूले जितेसरह उनलाई प्रशंसा गरिदियो ।


दर्शक शारीरिक समस्या भएकी पुष्पाको हिम्मत देखेर चकित भए । खेलमा विजेता हुनु र नहुनु प्राविधिक पक्ष मानिन्छ । पुष्पाको सन्दर्भमा आमधारणा बेग्लै थियो । शारीरिक सक्षम भएका खेलाडीसँग दुवै पैताला गुमाएकी उनी प्रतिस्पर्धामा उत्रन सक्नु नै बहादुरी थियो । उनी सल्यान रानीकोट–८ की हुन् । ४८ केजी तौल समूहमा उनले सुरुआतका तीन खेल जितिन् । प्रदेश ५ की

शारदाकुमारी खत्रीसँग भने उनी हारिन् । जुन कांस्य पदकको भिडन्त थियो ।


उनले सन् २००७ मा दक्षिण एसियाली जुडोमा वेस्ट प्लेयरको अवार्ड पाएकी थिइन् । ९ वर्षदेखि जुडोमा सक्रिय उनले यही खेलमा आफ्नो भविष्य देखेकी छन् । ‘म हारे पनि सधैं जितेकै महसुस गर्छु,’ उनी भन्छिन्, ‘किनकि म अरुभन्दा विशेष अवस्थाकी खेलाडी हुँ ।’ जुडोमा दृष्टिविहीन र बहिराका लागि छुट्टाछुट्टै प्रतियोगिता हुने व्यवस्था छ । तर पुष्पाजस्ता शारीरिक बनावटमा समस्या भएकाहरूले भने सवलांगसँगै जुध्नुपर्ने बाध्यता छ ।


जुडो प्रशिक्षक मोहन सुनुवारका अनुसार पुष्पाले खुट्टाकै समस्याका कारण पदक जित्न नसकेको बताए । यद्यपि उनी कहिल्यै दुःखी हुँदिनन् । हरेक प्रतियोगितामा सहभागिता जनाउन उनी छोडदनन् ।


पुष्पाले दुवै खुट्टाको पैताला ६ वर्षकी छँदा नै गुमाएको सुनाइन् । अगेनाछेउ उनलाई राखेर आमा बाख्रा सार्न र बावु आलु खन्न गएका थिए । पुष्पा बामे सर्दै आगोको चुल्होमा पुगिन् । आगोले उनको पैताला जल्यो । उपचारका क्रममा आगोले जलेका भाग काट्नुपरेको पुष्पाले सुनाइन् ।


भर्खर १० कक्षामा पढै गरेकी पुष्पाको सपना धेरै छैन । माक्र खेलमै सत्रिय भएर एउटा परिचय बनाउने छ । ‘म खेलिरहन्छु,’ उनी भन्छिन्, ‘यही खेलले कहाँ पुर्‍याउँछ थाहा छैन ।’


मनितालाई स्वर्ण


१६ औं राष्ट्रिय जुडोको पहिलो दिन सात स्वर्णको फैसला हुँदा सागकी पदकधारी पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । उनले महिला ५७ केजीमुनि फाइनलमा प्रदेश ३ की कविता नेपालीलाई हराइन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेस्रो भए ।


४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराएर स्वर्ण जितिन् । प्रदेश ५ की शारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेस्रो भए ।


७० केजीमुनि पुलिसकी निशा चौधरी विजेता भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीलाई पन्छाइन् । प्रदेश ३ की रञ्जना खडा र आर्मीकी रचना श्रेष्ठ तेस्रो बने ।


पुरुष ६० केजीमुनि पुलिसका उमेश मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई हराए । एनआरएनका मोहन बम र पुलिसका सुदेश दोङले कांस्य जिते । ६६ केजीमुनि फाइनलमा पुलिसका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीलाई हराएर स्वर्ण जिते । एपीएफका निर्दोष चलाउनेले कांस्य जिते । ८१ केजीमुनि आर्मीका पवनकुमार श्रेष्ठ तथा १०० केजीमाथि पुलिसका राजन जोशीले स्वर्ण जिते ।


फाइनलमा पवनले पुलिसका मनीष महतो र राजनले प्रणितसिंह ठकुरीलाई हराए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेस्रो स्थानमा रहे ।

प्रकाशित : वैशाख २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?