२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रातारात रंगशाला बन्दै

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदको महिला फुटबल र एथलेटिक्स प्रतियोगिता हुने बेलझुण्डी रंगशाला रातारात निर्माण भइरहेको छ । खेलको समय नजिकिँदा पनि रंगशाला तयार नभएपछि रातारात काम जारी छ ।

रातारात रंगशाला बन्दै

मैदान निर्माण गरेर दुबो लगाउने र सिंचाइ गर्ने काम भइरहेको छ । मैदानवरपर रनिङ प्यारापिट बनाउने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । वैशाख ४ देखि खेल हुने तालिका सार्वजनिक भइसकेकाले रातारात रंगशालाको काम गरिरहेको निर्माण कम्पनी दिवा/एमए/प्रतिष्ठा कन्स्ट्रक्सन जेभीका साइट इन्चार्ज प्रकाश पोखरेलले बताए । ‘रातभर नसुतेर काम गरिरहेका छौं । खेल समय अगाडि आइसकेकाले वैशाख ३ सम्म हामीले मैदान तयार पारिसक्नुपर्नेछ,’ उनले भने, ‘४ गते बिहान खेल्न मिल्ने बनाएर हस्तान्तरण गर्छौं ।’


भर्खंरै दुबो लगाउने र सिंचाइ गर्ने काम भइरहेकाले तत्काल खेल्न नमिल्ने भन्दै घोराहीको भरतपुर चौरलाई वैकल्पिक मैदानका रूपमा लिइएको छ । पोखरेलले भने रंगशालालाई नै खेल्न मिल्ने बनाइने दाबी गरे । ‘सबै काम अन्तिम चरणमा पुगिसकेको छ । खेल समयसम्म तयार पार्ने योजनाअनुसार नै रातारात काम गरिरहेका छौं,’ उनले भने, ‘खेलमा कुनै असर पर्दैन । तोकिएको समयमै खेल्न मिल्छ । अब अन्तिममा केही साना कामहरू मात्रै बाँकी छन् ।’


फुटबल मैदान, साधारण प्यारापिट र सेन्थेटिक ट्रयाक निर्माण भइसकेको पोखरेलले बताए । उनका अनुसार तोकिएका काममध्ये भीआईपी प्यारापिट, चेन्जिङ रुम, बैठक रुम र भीआईपी तथा मिडियाकक्ष निर्माणको काम बाँकी छ । यी काम राष्ट्रिय खेलकुदपछि निर्माण हुन्छ ।


असार ७ मा सम्झौता भएको रंगशाला निर्माणको समय मंसिर ८ मा सकिएको थियो । फेरि समय थप गरी जेठ मसान्तसम्म लम्ब्याइएको हो । २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको छ । विभिन्न प्राविधिक समस्याले निर्माणमा ढिलाइ भएको पोखरेलले बताए । ‘सुरुमा माटो भरियो, पछि फेरि माटो खनेर मैदान गहिरो बनाउनुपर्ने भयो । पहिले मैदान पूर्वपश्चिम थियो । पछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्तरदक्षिणको बनाइयो,’ उनले भने, ‘वर्षामा हिलो भएर काम नै गर्न सकिएन । यस्ता प्राविधिक समस्याले समयमा रंगशालाको काम हुन सकेन ।’


सेन्थेटिक ट्र्याकको दोस्रो ठूलो रंगशाला

बेलझुण्डीको रंगशाला सेन्थेटिक रनिङ ट्र्याकको काठमाडौंको दशरथ रंगशालापछि दोस्रो ठूलो भएको निर्माण कम्पनीका साइट इन्जिनियर गोकर्ण अधिकारीले बताए । ‘सेन्थेटिक ट्र्याक जडान गरेर काठमाडौंपछि अरु रंगशालामा अहिलेसम्म काम भएको छैन । यो देशकै दोस्रो ठूलो हो । सेन्थेटिक जडानको काम पनि सकिन लागेको छ,’ उनले भने, ‘यसले दौडन सजिलो बनाउँछ । लचकदार रबर हुने भएकाले खेलाडीलाई कठिन हुँदैन ।’


सेन्थेटिक ट्र्याक ४ सय रनिङ मिटरको रहेको र एकसाथ आठ खेलाडी दौडन मिल्ने अधिकारीले बताए । उनका अनुसार रनिङ ट्र्याकभित्र १ सय ६ मिटर लम्बाई र ६८ मिटर चौडाइको खेलकुद मैदान रहेको छ । ‘फुटबलका लागि पर्याप्त मैदान छ । रनिङका लागि सुविधासम्पन्न आधुनिक ट्र्याक बनेको छ,’ उनले भने, ‘यो राष्ट्रिय खेलकुद पछि पनि उपयोगी र महत्त्वपूर्ण रंगशाला हुन्छ ।’ मैदानमा पानी जम्न नदिन जमिनमुनि पाइप जडान गरी नालीमा जोडिएको उनले बताए । यसबाट जुनसुकै बेला पनि खेलकुद मैदान उपयोगमा सहजता हुने उनको भनाइ छ ।


रातारात मैदान निर्माण गरेर प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने प्रयासमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । ‘सबै संरचना तयार हुने अवस्था छैन । खेल मैदान भने तयार गरिसक्ने योजनामा छौं,’ उनले भने, ‘तोकिएका खेलहरू सम्पन्न गर्न हामी तत्पर छौं । निर्माण कम्पनीलाई पनि तोकिएको समयमा तयार पारिसक्न निरन्तर दबाब दिएका छौं ।’

प्रकाशित : वैशाख २, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?