सलाहको सानदार गोल

एएफपी

लिभरपुल — मोहमद सलाहको सनसनीपूर्ण गोलसँगै लिभरपुल २–० ले चेल्सीलाई हराएर आइतबार प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । केही घण्टाअघि योर्गन क्लोपको टिमलाई उछिन्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा पुगेको थियो । सिटीले क्रिस्टल प्यालेसलाई ३–१ ले हराएर उपाधि होडलाई चर्को बनाउने क्रम जारी राखेको थियो ।

सलाहको सानदार गोल

लिभरपुलले साडियो मानेको गोलसँगै दोस्रो हाफको पाँचौं मिनेटमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै सलाहले एनफिल्डमा लामो दूरीबाट सनसनीपूर्ण गोल गरेपछि लिभरपुलले सिटीमाथि २ अंकको स्पष्ट अग्रता लिँदै शीर्षस्थान कब्जा गरेको हो । लिभरपुलको तुलनामा सिटीले ५ खेल खेल्न बाँकी छ भने लिभरपुलको हातमा ४ खेल छ । उपाधि होड यी दुईकै हातमा छ ।


एनफिल्डमा यो सिजन इंग्ल्यान्डको फुटबलमा २९ वर्षयता पहिलोपल्ट लिग उपाधि जित्ने अभियान बलियो भएको महसुस भइरहेको छ । पछिल्लोपल्ट सन् २०१४ को मुख्य उपाधि जित्ने लिभरपुलको अभियानमा चेल्सी बाधक बनेको थियो । तर, शीर्षस्थानमा फर्किएको टिमले यसपालि लिभरपुलको व्यवस्थापकका रूपमा क्लोपको दुई सय खेललाई आकर्षक बनाइदियो ।


लिगमा सिटीको यात्रा कठिन पनि छ । उसले टोटेनहम र म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नुपर्नेछ । त्यसैले क्लोपको टिमले शीर्षस्थानलाई कायमै राख्ने आस गरिएको छ । सिटीको तुलनामा लिभरपुलमाथि भने शंका गरिएको छैन र उसले एनफिल्डमा अन्तिम खेलमा उल्भसविरुद्ध सम्भावित विजेताको लागि खेल्नुअघि कार्डिफ, हडर्सफिल्ड र न्युकासलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

चौथो स्थानमा रहेको चेल्सीका लागि यो पराजय अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुनलाई गम्भीर धक्का हो । आर्सनलले वाटफोर्डलाई पारजित गरेमा चेल्सी पाँचौं स्थानमा झर्नेछ ।


लिभरपुलका ९६ समर्थकले ज्यान गुमाएको हिल्स्ब्रो दुर्घटनाको ३० औं वार्षिकी र क्लब लिजेन्ड टोमी स्मिथको निधनले एनफिल्डलाई अरु बेलाभन्दा निकै भावुक बनाएको थियो । एक मिनेट मौनधारणपछि दुर्घटनाको संकेतस्वरुप ‘३० वर्ष’ र ‘९६’ लाई दर्शकले मैदानमा उतारेर देखाएका थिए । लिभरपुलको ध्यान भने पछिल्लो इतिहासमा बेहोरेको पीडादायी हारको बदला लिनेमै केन्द्रित भइरहेको थियो ।


स्टेभन जेरार्डको टिम सन् २०१४ मा चेल्सीविरुद्ध चिप्लिएको थियो र त्यस हारले उपाधि म्यानचेस्टर सिटीको लागि उपहारजस्तै बनेको थियो । त्यस बेला लिभरपुलले उपाधि जित्ने विश्वास गरिएको थियो । तर क्लोपले आफ्ना खेलाडीलाई त्यस सिकारबाट नतर्सिन आग्रह गर्दै यस संसारको सत्यमै अडिन आग्रह गरेका थिए ।


चेल्सी एनफिल्डमा भएको पछिल्ला ८ खेलमा अपराजित थियो । सुरुमै इडेन हाजार्डको आक्रमणमा चेल्सीले लिभरपुललाई समस्यामा पर्नसक्ने देखिएको थियो । डेविड लुइजले फनि खतरनाक आक्रमण गरेका थिए । जोर्डन हेन्डरसनको त्रसमा ५१ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल १–० ले अघि बढ्यो । सलाहले उत्कृष्ट रुपमा २५ यार्डबाट बललाई पोस्टको दिशा दिँदै ५३ औं मिनेटमा लिभरपुललाई २–० को अग्रता दिलाएका थिए ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?