स्वर्णमा आर्मीको दाउ

दीपक परियार

लेखनाथ — राष्ट्रिय खेलकुदमा पहिलोपल्ट समावेश पाराग्लाइडिङमा जित हासिल गर्न सहभागी टिमको तयारी तीव्र बनेको छ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा वैशाख ६ देखि ९ सम्म हुने प्रतियोगितामा सहभागी हुने टिमले विभिन्न स्थानमा तयारी गरिरहेका हुन् । 

स्वर्णमा आर्मीको दाउ

प्रतियोगितामा एक्युरेसी टिम र व्यक्तिगत (महिला/फुरुष) र क्रसकन्ट्री टिम र व्यत्तिगत (महिला/पुरुष) गरी ६ स्पर्धामा खेल हुँदै छ । एक्युरेसी र क्रसकन्ट्रीको पुरुषतर्फ प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लब सहभागी हुँदै छन् । कर्णाली र प्रदेश ७ ले भने एक्युरेसीको पुरुष टिममात्रै खेलाडी उतार्दै छ ।


प्रदेश १ का खेलाडीले धरानमा अभ्यास गरिरहेका छन् । प्रदेश ३ का आधा खेलाडी काठमाडौं र आधाले पोखरामा अभ्यास गरेका छन् । गण्डकी, प्रदेश ६, ७ र आर्मीका खेलाडीले पोखरामै अभ्यास गरिरहेका छन् । आर्मीले व्यावसायिक खेलाडीलाई भित्र्याएको छ । आर्मीबाट १० पुरुष र ४ महिला खेलाडीले सहभागिता जनाउने छन् ।


एक्रोब्याट खेलाडी सुवास थापा टिम प्रशिक्षकका रूपमा आर्मी भित्रिएका छन् । एसियाडमा पदक ल्याउन सफल खेलाडी पनि आर्मी भित्रिएका छन् । एक्युरेसी टिमको कप्तानी विजय गौतमले सम्हाल्दै छन् । क्रसकन्ट्री टिमको कप्तान विशाल थापा चुनिएका छन् । दुवै एसियाडमा सहभागी खेलाडी हुन् । महिला खेलाडी दुर्गा गुरुङ, स्वस्तिका गुरुङ, ऋतु श्रेष्ठ र श्रृष्टि श्रेष्ठ आर्मीबाट खेल्दै छन् । आर्मीका प्रशिक्षक थापा धेरै पदक जित्नेमा आशावादी छन् । ‘धेरै बलिया खेलाडी हाम्रो टिममा छन्,’ उनले भने, ‘धेरै स्वर्ण हामीले नै ल्याउँछौं ।’


गण्डकीको टिमबाट पनि एसियाडमा पदक ल्याउन सफल खेलाडी सुशील गुरुङ र युकेश गुरुङ खेल्दै छन् । एसियाडमै सहभागी महिला खेलाडी तृष्णा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङ गण्डकीकै टिममा छन् । अन्य प्रदेशबाट सहभागी अधिकांस खेलाडी पोखरालाई कार्यक्षेत्र बनाएका मध्ये छन् ।


नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउत सबै टिम उत्तिकै बलियो भएको बताउँछन् । ‘सबै प्रदेशमा खेलाडी बाँडिएका छन्,’ उनी भन्छन्, ‘प्रदेशस्तरमा पहिलोपल्ट प्रतियोगिता भएकाले कसले जित्छ, यसै भन्नसक्ने अवस्था छैन ।’ पोखरामै हुने १३ औं साग खेलकुदमा पाराग्लाइडिङ पोखरामै हुने भएकाले खेलाडीमा निखारता ल्याउने उनले जनाए ।


खर्च भएन पूर्वाधारको बजेट

पाराग्लाइडिङ प्रतियोगिता पोखरामा हुने भएपछि राखेपले पूर्वाधार विकासमा १० लाख रुपैयाँ छुट्यायो तर उक्त रकम खर्च हुनै सकेन ।


पाराग्लाइडिङको उडान (टेकअफ) र अवतरण (ल्यान्डिङ) गर्ने स्थायी ठाउँ नभएकाले रकम खर्च हुन नसकेको बताउँछन् नेफाका महासचिव राउत । ‘महानगरले जग्गाको व्यवस्था गर्न सकेको छैन,’ उनी भन्छन्, ‘निजी जग्गामा सरकारले लगानी गर्न मिल्दैन ।’

पाराग्लाइडिङले कम्पनीले निजी जग्गा भाडामा लिएर उडान (टेकअफ) र अवतरण (ल्यान्डिङ) गर्दै आएका छन् । हाल पोखरा महानगरपालिका १८ को सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट पाराग्लाइडिङ उडान हुन्छन् ।


सराङकोटबाट उड्नेले खपौंदी, तोरीपानीबाट उड्नेले चंखपुर र मान्द्रेढुंगाबाट उड्नेले पामेमा अवतरण गर्नुपर्छ । पाराग्लाइडिङ पोखराबाट रंगीचंगी चरा उडेजस्तै सुन्दर देखिए पनि उडान र अवतरणस्थल पुग्दा कुरुप देखिन्छ । उडान स्थलमा ढुंगैढुंगा निस्किएका छन् । धेरै भिरालो जमिनमा सुरक्षाको कुनै प्रबन्ध छैन । अवतरणस्थलमा आपतकालीन उद्दारको व्यवस्था छैन । उडान र अवतरण स्थलमा शौचालयसमेत छैनन् । दिशापिसाब गर्न पाइलट र यात्रु नजिकैको झाँडीमा पस्नुपर्ने बाध्यता छ ।


टेकअफ र ल्यान्डिङ स्थलको स्थायी व्यवस्थापन गर्न साबिकको सराङकोट गाविस र पाराग्लाइडिङ कम्पनीबीच पटक–पटक सम्झौतासमेत भएको थियो । गाविस महानगरमा गाभिएपछि स्थायी जग्गा व्यवस्था गर्न कुनै पहल हुन सकेको छैन ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?