२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

टिम स्वर्ण आर्मी र एपीएफलाई 

दाङ — ब्याडमिन्टनको महिला टिम इभेन्टको स्वर्ण एपीएफले जितेको छ । एपीएफले आर्मीलाई २–१ ले पराजित गर्दै स्वर्ण जित्दा सुदूरपश्चिम र प्रदेश १ ले कांस्य जिते । 

टिम स्वर्ण आर्मी र एपीएफलाई 

पुरुष टिमको स्वर्ण भने आर्मीले एपीएफलाई ३–२ ले पराजित गर्दै जितेको थियो । टिम इभेन्टको पुरुष एकलतर्फ राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङलाई एपीएफका दीपेश धामीले २१–११, २१–१२ ले हराएर एक गेमको अग्रता दिलाए ।


एपीएफका सुदीप सेढाईंलाई आर्मीका नवीन श्रेष्ठले हराएर खेल १–१ बराबरी गरे । एपीएफका गौतम कठायतले आर्मीका प्रफुल महर्जनलाई पराजित गरी पुन अग्रता दिलाए । पुरुष एकलमा हार बेहोरेका रत्नले नवीनसँग मिलेर एपीएफका दीपेश र विजित थापामगरको जोडीलाई पराजित गर्दै गेम २–२ को बराबरी बनाए । आर्मीका प्रफुल र रुकेश महर्जनको जोडीले एपीएफका साजनकृष्ण ताम्राकार र सुदीपको जोडीलाई पराजित गरेपछि आर्मीले खेल ३–२ ले जित्यो ।


पुरुष टिममा पुलिस र सुदूरपश्चिम कांस्य जिते । एपीएफले सेमिफाइनलमा पुलिसलाई ३–० र आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराएका थिए । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१–१८, २१–१४ ले हराएर सनसनी मच्चाए ।


घोराहीस्थित कभर्डहलमा जारी स्पर्धाको पुरुष एकलतर्फ पुलिसका पूर्णबहादुर बोहराले प्रदेश ३ का भोजबहादुर गुरुङलाई २१–१३, २१–१२ ले, प्रदेश ५ का विश्व नेपालले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११–२१, २१–१३, २१–६ ले र पुलिसका जीवन आचार्यको प्रदेश ३ का निश्चल बस्नेतलाई २१–७, २१–११ ले हराए ।


बास्केटबल

आठौं राष्ट्रिय खेलकुदको घोराहीमा भइरहेको बास्केटबलमा सोमबार महिलातर्फ चार खेल भएका छन् । प्रदेश ३, सुदूरपश्चिम, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनल पुगेका छन् । प्रदेश ३ ले प्रदेश ५ लाई ४५–१२ ले, आर्मीले प्रदेश ४ लाई ३१–५ ले, सुदूरपश्चिमले प्रदेश १ लाई २९–३३ स्कोरले हराए । एपीएफलाई ३५–५७ अंकले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गरेको छ । आफ्नो टिमलाई जिताउने क्रममा प्रदेश ३ की सदिना श्रेष्ठले १३, आर्मीकी सुमन्ता खड्काले १५, प्रदेश ७ की अनीता भण्डारीले १७ र पुलिसकी एलिसा मल्लले १५ स्कोर गरे ।


सेमिफाइनलमा प्रदेश ३ ले आर्मी र सुदूरपश्चिमले पुलिससँग खेल्नेछन् ।


पुरुषतर्फ प्रदेश ३, आर्मी, प्रहरी र गण्डकी सेमिफाइनलमा पुगेका छन् । प्रदेश ३ ले एपीएफलाई ६०–५१, आर्मीले प्रदेश १ लाई ७६–५५, पुलिसले प्रदेश ५ लाई ६८–४२ र गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ७७–४४ स्कोरले हराए । प्रदेश ३ का सदीश प्रधानले १९, आर्मीका आयुश सिंहले १६, पुलिसका रितेश मगरले १७ र गण्डकीका सुदीप कार्कीले २१ स्कोर जोडे । सेमिफाइनलमा पुलिसले आर्मी र प्रदेश ३ ले गण्डकीसँग खेल्नेछन् ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?