कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हक्कीका हतियार

कुशल तिमल्सिना

बाँके — हक्की नेपालको लोकप्रिय खेल होइन । पूर्वाधार, खेलस्तर, अन्तर्राष्ट्रिय सहभागिता र सरकारी लगानी हक्कीमा निकै कमजोर र थोरै छ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बाँकेको नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविमा हक्कीका खेलहरू भइरहेका छन् । सेमिफाइनल समीकरण पूरा भएको छ ।

हक्कीका हतियार

क्रिकेटलगायतका नेपाली खेलकुदमा भारतीय प्रभाव अक्सर देख्न पाइन्छ । भारतमा हुर्केका नेपाली नयाँ पुस्ताले उता सिकेको प्रतिभा नेपालमा प्रदर्शन गर्ने अवसर पाएका छन् । हक्कीमा यस्तै संयोग जुरेको छ । भारतको जुनियर राष्ट्रिय क्याम्पमा परिसकेका एक किशोर आफ्नै देशको झण्डामुनि खेल्ने मोहका कारण संघर्षरत छन् ।


१९ वर्षे रोमन रानाको पुर्ख्यौली थलो स्याङ्जा जिल्ला हो । ३० वर्षदेखि भारतको हरियाणामा रहेको परिवारकै प्रेरणामा रोमनले सानैदेखि हक्की खेल्न सुरु गरे । ‘ठूलोबाबाका छोराछोरीले खेलेको देखेर बाबाले मलाई पनि हक्की खेल्न पठाउनुभयो । पछि यही खेल मन पर्न थाल्यो,’ आठौं राष्ट्रियमा नेपाल पुलिसको टिमबाट खेलिरहेका रोमनले सुनाए ।


रोमनले २०७४ सालको राखेप च्याम्पियनसिपमार्फत नेपालमा हक्की खेल्न थालेका हुन् । च्याम्पियनसिपमा गण्डकी प्रदेश टिम तेस्रो भएको थियो । सन् २०१७ मा यू–२१ भारतीय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट भएका रोमनले त्यहाँ सिकेको सीप काठमाडौंमा देखाए । लगत्तै उनी राष्ट्रिय टोलीका लागि योग्य देखिए ।


गत डिसेम्बर तेस्रो साता नेपालले पाकिस्तानमा अन्तर्राष्ट्रिय हक्की सिरिज खेलेको थियो । अन्तर्राष्ट्रिय हक्की फेडेरेसनको आधिकारिक प्रतियोगितामा नेपालले सहभागिता जनाएको त्यो नै पहिलो हो । जहाँ नेपालले उज्वेकिस्तान र काजकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तान र उज्वेकिस्तानविरुद्ध रोमनले गोलसमेत गरेका थिए ।


‘भारतका जुनियर खेलाडीको छनोटमा म उत्कृष्ट ३० भित्र परेको थिएँ । अन्तिम छनोट समयमा म बिमारी परें, त्यहाँ खेल्न नपाएपछि पोखरामा पूर्व राष्ट्रिय खेलाडी हित गुरुङ दाइ, राजेन्द्र पाठक गुरुसँग सम्पर्क गरेर नेपालको टिमबाट खेल्न थालें,’ रोमनले भने ।


पाकिस्तानमा रोमनको खेलबाट विश्व च्याम्पियन पाकिस्तानी हक्की पदाधिकारीसमेत आश्चर्यचकित बनेको प्रशिक्षक रन्जन थापा बताउँछन् । उनको खेलबाट प्रभावित भएर पाकिस्तान हक्की लिग क्लब पाक हिरोले उनलाई अनुबन्ध गरेको छ । रकममा अनुबन्ध नगरे पनि लिग खेल्न पाए नै ठूलो उपलब्धि हुने ठानेका छन् रोमनले । भारतमा हक्कीको तुलनामा क्रिकेट लोकप्रिय खेल हो । आफूले हक्की नै रोज्नुको कारण छ रोमनसँग । उनले भने, ‘वास्तवमा क्रिकेट महँगो खेल हो, हामी मध्यमवर्गीय परिवारका लागि हक्की नै सहज हुन्छ । सायद मेरो परिवारले पनि मलाई त्यसै गर्दा हक्की खेल्न प्रेरित गर्‍यो ।’


आठौं राष्ट्रियमा नेपाल पुलिसले पहिलोपल्ट हक्कीको टिम निर्माण गरेको हो । प्रतियोगितामा उपाधिको प्रमुख दाबेदारका पुलिसकै टिम देखिएको छ । किनभने रोमनले अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पुलिस टिम सन्तुलित छ । यसअघिको च्याम्पियन आर्मीलाई पुलिसले समूह चरणमै पराजित गरेको छ ।


रोमनले ४ खेलमा ११ गोल गरिसकेका छन् । प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको रूपमा अगाडि छन् । उनले प्रदेश ३ विरुद्ध ५ गोल गरे भने प्रदेश २ विरुद्ध ४ र गण्डकी प्रदेशविरुद्ध २ गोल गरेका थिए । आर्मीविरुद्धको जितमा भने उनले गोल गरेनन् ।


सोमपाल कामी, सन्दीप लामिछानेदेखि भेट्रान खेलाडी शक्ति गौचनसम्मले भारतमा क्रिकेट सिकेर नेपालमा सदुपयोग गरेका थिए । हक्की संघका सचिव तथा आठौं राष्ट्रिय खेलकुदमा हक्कीका प्रतियोगिता निर्देशक रन्जन थापाले भारतमा बसेर खेलिरहेका क्षमतावान नेपाली हक्की खेलाडी थुप्रै रहेको सुनाए । ‘हाम्रो देशमा खेलकुद नै प्राथमिकतामा नपरिरहेको अवस्थामा हक्कीका लागि त केही भएकै छैन । हाम्रा थुप्रै नेपाली खेलाडी अहिले भारतमा छन् । यत्तिको खेलाडी तयार पार्न राज्यको लाखौं खर्च गर्नुपर्छ,’ थापाले भने, ‘रोमनमात्र होइन, उनीजस्ता थुप्रै क्षमतावान खेलाडी नेपालको जर्सीमा खेल्न आतुर छन्, मात्र राज्यले हक्कीलाई प्राथमिकतामा राख्नुपर्‍यो ।’


नेपालगन्ज नेपाली हक्कीको उर्वरभूमि मानिन्छ । राष्ट्रियस्तरका धेरै खेलाडीले यहींबाट करिअर सुरु गरेका हुन् । तर, निराशाजनक पक्षक के भने नेपालगन्जमा एउटा पनि स्तरीय हक्की मैदान छैन । मंगलप्रसाद उच्च माविको उबडखावड मैदानमा प्रतियोगिता गर्नुपरेको छ । रोमनले मैदान राम्रो नभएकोमा असन्तुष्टि व्यक्त गरे । ‘मैदान गतिलो छैन । कति बेला चोट लाग्ने हो थाहा छैन । रेफ्रीहरू पनि व्यावसायिक देखिएनन्,’ उनले असन्तुष्टि सुनाए ।


१३ औं दक्षिण एसियाली खेलकुद नेपालमै हुँदै छ । एउटै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा बलियो पकड बनाइसकेका रोमनले त्यति बेलासम्म स्तरीय हक्की मैदान हुने अपेक्षा गरेका छन् । उनले भने, ‘कम्तीमा एउटा स्तरीय मैदान भयो भने हामीलाई पनि गर्व गर्ने बाटो हुन्छ ।’


भनिराख्नुपरेन कि नेपालमा हक्की खेलाडीलाई खेलेरै बाँच्नसक्ने अवस्था छैन । रोमनले पनि यतै स्थायी जागिर पाए नेपालमै बसेर करिअर अघि बढाउने सोचेका छन् । एक महिनाअघिमात्र पुलिसमा करार नियुक्ति लिएका उनले त्यहीं स्थायीको आशा पनि गरेका छन् । संघका सचिव थापाले पनि प्रतिभावान खेलाडीलाई जागिरमा नियुक्तिको वातावरण बनाउन संघले पहल गरिरहेको बताए ।


सेमिफाइनल समीकरण

लिगको अन्तिम खेलमा प्रदेश २ लाई ६–० को नतिजामा पराजित गरेसँगै नेपाल पुलिस समूह ‘ए’ बाट विजेताका रूपमा सेमिफाइनल पुगेको छ । पुलिस समूह चरणमा अपराजित रह्यो । फाइनल पुग्न उसले मंगलबार बिहान समूह ‘बी’ को उपविजेता सुदूरश्चिम प्रदेशसँग खेल्नेछ ।


मंगलबार बेलुकी ४ बजे हुने दोस्रो सेमिफाइनलमा साबिक विजेता त्रिभुवन आर्मी र घरेलु टोली प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । प्रदेश ५ समूह बी विजेता र आर्मी समूह ए उपविजेता भएर अगाडि बढेका थिए ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?