कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : चन्द्रकलाको राष्ट्रिय कीर्तिमान 

१०० मिटरमा आशिष र सरस्वती च्याम्पियन

तुलसीपुर, दाङ — आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको पहिलो दिन बिहीबार महिला सटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । 

आठौं राष्ट्रिय खेलकुद : चन्द्रकलाको राष्ट्रिय कीर्तिमान 

बेलझुण्डीस्थित नवनिर्मित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा नेपाल पुलिस क्लबकी चन्द्रकलाले १२.०४ मिटर सटपुट फाल्दै नयाँ कीर्तिमान रचेर राष्ट्रिय खेलकुदको स्वर्ण जितिन् । पुरानो कीर्तिमान पनि उनकै नाममा रहेको छ ।

एक वर्षअघि वैशाखमै काठमाडौंमा सम्पन्न राष्ट्रिय टिम तयारी छनोटका क्रममा उनले ११.५६ मिटरको कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाएवापत् चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन् । राष्ट्रिय खेलकुद परिषदले व्यक्तिगततर्फ स्वर्ण जित्नेका लागि १५ हजार र राष्ट्रिय कीर्तिमानका लागि २५ हजार दिने घोषणा गरिसकेको छ ।

यस इभेन्टमा प्रदेश ५ की संगीता अधिकारीले १०.५६ मिटर र एपीएफकी वसन्ती चौधरीले १०.०५ मिटरबाट क्रमशः रजत र कांस्य पदक जितेका थिए । १८ खेलाडीले सटपुटमा प्रतिस्पर्धा गरेका थिए ।


१०० मिटर दौडको स्वर्ण एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले जितेका छन् । पुरुषतर्फ आशिषले ११.०० सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जित्दा प्रदेश ६ का यामसाजन सुनारले रजतमा चित्त बुझाए । यामसाजनले ११.१० सेकेन्डबाट दोस्रो स्थान हात पारे । १०.३ सेकेन्डको ह्यान्डटाइमिङको राष्ट्रिय कीर्तिमान भने यामसाजनकै नाममा छ । आनन्ददेव चौधरीले ११.१५ सेकेन्डबाट कांस्य पदक जितेका छन् ।


महिलातर्फ पहिलो तीनै स्थानमा चौधरी खेलाडीले वर्चस्व जमाए । सरस्वतीले १२.१९ सेकेन्डमा दौड पूरा गरिन् । उनले प्रदेश ५ की जयरानी चौधरीलाई पछि पारेकी हुन् । जयरानीले १२.३९ सेकेन्डबाट रजत जितिन् । आर्मीकी कृष्णा चौधरीले १२.५२ सेकेन्डबाट कांस्यमा नाम लेखाइन् ।

पहिलो दिन आर्मीका लागि महिला १० हजार मिटर दौडबाट विश्वरुपा बुढा र सटपुटमा टेकप्रसाद दाहालले स्वर्ण दिलाएका छन् । विश्वरुपाले ३७ मिनेट ३०.८९ सेकेन्डमा रंगशालाको २५ ल्याप पूरा गरेर स्वर्ण जितेकी हुन् । उनकी निकट रहेकी पुलिसकी राजपुरा पछाईंले ३७ मिनेट ३०.९२ सेकेन्ड लगाइन् । यो टाइमिङले राजपुरालाई रजत दिलायो ।

प्रदेश ३ की सन्तोषी श्रेष्ठले कांस्य जितिन् । उनको टाइमिङ ३७ मिनेट ५०.५३ सेकेन्डको थियो । एपीएफकी पुष्पा भण्डारी र गण्डकी प्रदेशकी डोलमाया महतोले क्रमशः चौथो र पाँचौं स्थानमा रहेर दौड पूरा गरे ।


सटपुटमा टेकप्रसादले १२.१९ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । पुलिसका पुष्कल खड्का १२.०४ मिटरबाट रजत र आर्मीकै चित्रबहादुर ओली ११.८५ मिटरबाट कांस्य जित्न सफल भए ।

पुरुष १० हजार मिटरको स्वर्ण कर्णाली प्रदेशका दुर्गा बुढाले जितेका छन् । उनले ३१ मिनेट ०३.०६ सेकेन्डमा दौड पूरा गरेक थिए । विभागीय टोलीका खेलाडीलाई पछि पार्दै प्रदेश ४ का अनिश थापाले रजत पदक जिते । उनले त्यसका लागि ३१ मिनेट ०९.७१ सेकेन्ड लगाए । राष्ट्रिय कीर्तिमानधारी एपीएफका गोपीचन्द्र पार्की भने तेस्रो भए । उनले ३१ मिनेट ५८.३ सेकेन्डमा दूरी पार गरेका थिए ।

यो इभेन्टको राष्ट्रिय कीर्तिमान गोपीचन्द्रकै नाममा छ । उनले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान सन् २०१४ को इन्चोन एसियाडमा बनाएका थिए । राष्ट्रिय खेलकुदको यस इभेन्टमा १८ जना धावक प्रतिस्पर्धामा थिए ।


प्रकाशित : वैशाख ५, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?