१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्णालीमाथि एपीएफको २३ गोल

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा भइरहेको महिला फुटबलमा एपीएफ र त्रिभुवन आर्मी क्लब विशाल गोल अन्तरले विजयी भए । एपीएफले कर्णाली प्रदेशलाई २३–० ले पराजित गर्‍यो । पहिलो हाफमा एपीएफले १० गोल गरेको थियो ।

कर्णालीमाथि एपीएफको २३ गोल

खेल सुरु भएको ३ मिनेटमा खाता खोलेको सशस्त्रले अन्त्यसम्मै गोल गरेको थियो । पहिलो गोल जर्सी नं. १६ की मञ्जु दोङले गरिन् । एपीएफलाई जिताउन २ खेलाडीले डबल ह्याट्रिक गरे । दर्शकको आकर्षण बनेकी सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् । अनु लामाले ६ गोल गरिन् । त्यसपछि खेलको सातौं, आठौं र नवौं मिनेटमा अनिता बस्नेत, सावित्रा भण्डारी र रेनुका नगरकोटीले क्रमशः १–१ गोल गरे । एकपटक पनि विपक्षीको पोस्टमा कर्णालीले सशक्त प्रहार गर्न सकेन । पन्ध्रौं र अठारौं मिनेटमा पुनः सावित्रा, रेनुका गोल गर्न सफल भए ।


दोस्रो हाफमा अनुले एक्लै पाँच गोल गरिन् । ४६ औं मिनेटमा सावित्रा र ४८ औं मिनेटमा मञ्जु दोङले गोल गरिन् । अनु लामा प्लेअफर अफ द म्याच भइन् । एपीएफमा ८ राष्ट्रिय खेलाडी छन् । कर्णालीमा यू–१४ खेलेका ३ जना राष्ट्रिय खेलाडी मात्र थिए ।

अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्‍यो । पहिलो हाफमा २ गोल गरेको आर्मी दोस्रो हाफमा आक्रामक ढंगले प्रस्तुत भयो । शर्मिला थापाले ४ गोल गरिन् । इन्दिरा राईले ह्याट्रिक गरिन् । यी दुवैले पहिलो हाफमा एक/एक गोल गरेका थिए । सपना लामा, कृष्ण खत्री र भुजना राईले १–१ गोल गरे ।


नेपाल पुलिसको जित

रूपन्देही– पुरुष फुटबलको समूह ‘ख’ का खेलमा नेपाल पुलिस क्लबले बिहीबार सुदूरपश्चिमलाई ३–० गोलले पाखा लगायो । कर्णाली प्रदेश र प्रदेश २ बीचको अर्को खेल ४–४ गोलको बराबरीमा टुंगियो । देवीनगरस्थित एन्फा एकेडेमी मैदानमा पुलिसको जितमा भरत शाह र रवि पासवानले गोल गरे ।


२५ औं मिनेटमा सुदूरपश्चिमका गोलकिपर टिकेन्द्र थापाले पेनाल्टी बक्स बाहिर आएर बल हातले क्लियर गरेपछि रातो कार्ड पाए । उनको ठाउँमा अर्का गोलकिपर अमानत शेख मैदान प्रवेश गरे भने जीवन चौधरीले मैदान छोडे । योसँगै सुदूरपश्चिम १० खेलाडीमा सीमित भयो । ३६ औं मिनेटमा भरले पुलिसको खाता खोले । पुलिसले पहिलो हाफमा आधा दर्जन बढी अवसर चुकाएको थियो । ६० औं मिनेटमा रविले पेनाल्टी बक्स बाहिरबाट गोल गरे । अन्तिम समयमा रक्षक सन्तोष हेमरुनले थप गोल गरे ।


दोस्रो खेलमा कर्णालीलाई खगेन्द्र खत्रीले छैठौं मिनेटमा अग्रता दिलाए । २६ औं मिनेटमा प्रदेश २ का सुनिल राउत कुर्मीले बराबरी गोल गरे । ३७ औं मिनेटमा कर्णालीका भूपेन्द्र शाहीले गोल गरे पनि यो अग्रता धेरै समय टिक्न सकेन् । ४१ औं मिनेटमा प्रदेश २ का निरबहादुर आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । कर्णालीका भूपेन्द्र शाहीले ४७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । ५३ औं मिनेटमा सुरज शाहीले गोल गरे । प्रदेश २ का सुनिलले ५० औं मिनेटमा र गंगाबहादुर आलेले खेलको ६१ औं मिनेटमा गोल गरेर खेल बराबरी गराए ।


शुक्रबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीच हुनेछ । राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सहभागी १० टिममध्ये रुपन्देहीमा समूह ‘ख’ का ५ टिमका बीचमा लिग चरणका खेल जारी छन् । जसमा सुदुरपश्चिम प्रदेश, प्रदेश २, कर्णाली प्रदेश, नेपाल पुलिस, नेपाल आर्मी छन । समुह ‘ख’ बाट उत्कृष्ट दुई टिम अन्तिम चारमा प्रवेश गर्ने छन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?