३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खुला आकाशमुनि सेपाकताक्रो

कमल पन्थी

बर्दिया — आठौं राष्ट्रिय खेलुकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रो खेलको पूर्वसन्ध्यामा यहाॅ कुनै चहलपहल छैन । खेलाडी र आगुन्तक पाहुनालाई स्वागत गर्न गुलरियामा गेट, व्यानर छ न कुनै किसिमको रौनक । 

बर्दियाको सदरमुकाम गुलरियाको तुलापुरमा शुक्रबार हुने सेपाताक्रो खेल स्थान अपूर्ण कभर्ड हलभित्र हुँदै छ । निर्माणाधीन कभर्ड हल छानासमेत छैन । यसै कभर्ड हलभित्र खुला आकाशमा खेल सञ्चालन हुने भएको छ । कभर्ड हल निर्माणाधीन अवस्थामा रहेकोले भित्तासमेत पलस्तर भएको छैन ।


यसै निर्माणाधीन कभर्ड हलभित्र भुईं प्लस्टर गरिएकोले त्यहाँ खेल हुने भएको छ । खेलको तयारीमा जुटेका आयोजक जिल्ला खेलकुद विकास समितिका पदाधिकारी बिहीबार आठौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नेपालगन्ज गएका छन् । ‘यहाॅको व्यवस्थापन हेर्ने पदाधिकारी बिहान आएका थिए, त्यसपछि आएका छैनन्,’ कभर्ड हलमा काम गर्दे आएका मजदुरले बताए । व्यवस्थापक नेपालगन्ज गएका कारण बिहीबार दिउँसो कभर्ड हलमा मजदुर मात्रै थिए ।


जिल्लामा पहिलो पटक हुन लागेको राष्ट्रिय खेलबारे यहाॅ धेरैलाई जानकारी पनि नभएको स्थानीयले गुनासो पोखे । प्रचार प्रसार नभएको कारणले राष्ट्रिय खेलकुद प्रतियोगिताको चहलपहल छैन । सेपाताक्रो खेल्न मुलुकका विभिन्न ठाउॅबाट खेलाडी आउने क्रम जारी रहेको खेलकुद विकास समितिले जनाएको छ ।


समितिका सचिव महेश चन्दले सेपाताक्रोका लागि ६० जना खेलाडी आउने बताए । खेल्नका लागि पर्याप्त व्यवस्था भएकोले असुविधा नहुने उनले जनाए । गुलरिया र भुरीगाउॅमा एकै पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाताक्रो र खोखो खेल हुँदै छ । खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले सेपाताक्रो र खोखो खेलको संरचना पूरै तयार भएको दाबी गरे । उनले पाल टाॅगेर व्यवस्थित ढंगले खेल सञ्चालन हुने बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?