कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दर्शकबिनाको राष्ट्रिय खेलकुद

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङका विभिन्न ठाउँमा एकैपल्ट धेरै खेल चलिरहेका छन् । राष्ट्रिय खेलाडी र प्रशिक्षकले लमही, घोराही र तुलसीपुरका बिभिन्न होटल भरिभराउ छन् । बजारमा त्यसबारे धेरैलाई थाहा छैन ।

न बजारमा कतै खेलाडीका लागि स्वागत ब्यानर टाँगिएका छन् । न कतै केही प्रचारप्रसार छ । सबैजसो खेलमा खेलाडी नै दर्शक बन्ने गरेका छन् । एउटा टिमले खेल्दा अर्को टिमले हेरेर खेलको शोभा बढाउने गरिएको छ ।


केही दिनअघि टेबलटेनिस र बुधबार बास्केटबलका खेल सम्पन्न भए । घोराही कभर्ड हलमा भएको टेबलटेनिस होस् या घोराही उपमहानगरपालिका १८ सालघारीमा भएको बास्केटबल, दुवै खेलमा दर्शक थिएनन् । अहिले पनि घोराहीको कभर्ड हलमा ब्याडमिन्टन चलिरहेको छ, दर्शक छैनन् । बुधबारदेखि घोराहीमा महिला फुटबल र लमहीमा महिला क्रिकेट सुरु भयो । बिहीबारदेखि बेलझुण्डी रंगशालामा एथलेटिक्स सुरु भएको छ ।


महिला फुटबल पनि बेलझुण्डी रंगशालामै हुने भनिए पनि निर्माणमा ढिलाइ भएका कारण सम्भव भएन । घोराहीको भरतपुर चौरमा महिला फुटबलको उद्घाटन गरियो । अन्तिम खेल मात्रै बेलझुण्डीमा खेलाउन सकिनेछ । तोकिएको समयमा रंगशाला नबन्नु, खेलको प्रचारप्रसार नहुनु र दर्शक बढाउन आयोजकले ध्यान नदिनु जस्ता कारणले राष्ट्रिय खेलकुद दर्शकविहीन भएको खेलाडीको गुनासो छ । राष्ट्रिय खेलकुद जिल्लामा हुनु महत्त्वपूर्ण अवसर भए पनि यसको सदुपयोग नभएको खेलाडीको भनाइ छ ।


खेलप्रति चासो जगाउन, नयाँ पुस्तालाई खेलमा आकर्षित गर्न, पर्यटन प्रवर्द्धन गर्न र व्यवसायीक चहलपहल बढाउन राष्ट्रिय खेलकुदको ठूलो भूमिका भए पनि त्यसमा चासो नदिएको देखिन्छ । सबैजसो खेल मैदान खालीखाली छन् । कतिपय खेलमा खेलाडीका दर्शक प्रशिक्षक र केही खेलाडी मात्रै हुने गरेका छन् । यसले खेलमा रौनक थप्न सकेको छैन । खेलमा हुटिङ, हौसला र उत्साह देखिदैन । खेलकुद पत्रकार संघका अध्यक्ष लक्ष्मण वस्नेतले भने, ‘राष्ट्रिय खेलकुदबारे धेरैलाई थाहा छैन ।’


उनले थपे, ‘तयारीबिना खेलकुद हुन्छ । खेल सुरु भएपछि पूर्वाधार निर्माण हुन्छ । खेल भैरहदा रेखा कोर्न तयारी हुन्छ । यसले खेलमा उत्साह ल्याउन सक्दैन ।’ एउटा राष्ट्रिय खेल सकिएपछि अर्को खेलको तयार हुनुपर्नेमा अन्तिम समयमा मात्रै काम गर्ने प्रवृत्ति रहेको उनले बताए । ‘अर्को राष्ट्रिय खेलका लागि अहिलेदेखि नै तयारी हुनुपर्ने हो, तर खेलसँगै तयारी हुन्छ । यसले समयमा प्रचारप्रसार हुन सक्दैन,’ उनले भने, ‘खेलाडी बाहेक अरूलाई केही मतलब छैन ।’


बाटोबाटोमा ब्यानर, माइकिङ, र्‍याली, गाउँगाउँमा प्रचारजस्ता कार्यक्रम गर्न सकेको भए दर्शक बढ्न सक्ने उनको बुझाइ छ । प्रचारप्रसार राम्रै भए पनि खेलमा रूचि नभएका कारण दर्शक नआएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष डिल्ली डाँगीले बताए । ‘दिनदिनै सबै सञ्चारमाध्यममा समाचार आइरहेकै छन् । हामीले पनि प्रचार गरिरहेका छौं तर दर्शक आएनन्,’ उनले भने, ‘हाम्रो समाजले खेलको महत्त्व बुझ्न सकेन । खेलप्रति चासो भएको देखिएन ।’


जिल्लामा पहिलो पटक राष्ट्रिय खेलकुद भए पनि आम मानिसलाई यसको महत्त्व थाहा नभएको उनले बताए । ‘खेल खेलेपछि छोराछोरी बिग्रन्छन् भन्ने सोचाइ भएको हाम्रो समाज हो । त्यसको प्रभाव अहिलेसम्म देखिन्छ,’ उनले भने, ‘यति महत्त्वपूर्ण खेललाई पनि बेवास्ता गर्नु दुःखद हो । खेलमा दर्शक खचाखच भरिनुपर्ने हो । हुटिङ गर्ने, रमाउने चलन देखिएन ।’


पूर्वाधार निर्माणको हतारो र सबै तयारी छोटो समयमा गर्नुपरेकाले केही व्यवस्थापकीय समस्या भए पनि दर्शक नआउनुमा यो कारण जिम्मेवार नरहेको उनले बताए । ‘रंगशाला निर्माणमा निकै हतारो भयो । निर्माण कम्पनीलाई जति तताउँदा पनि सबै काम समयमा सम्पन्न हुन सकेनन्,’ उनले भने, ‘यसले केही समस्या त भयो । दर्शक घटाउन यसको केही भूमिका छैन । अप्ठेरोका बावजुद पनि खेल तोकिएकै समयमा खेल्ने वातावरण बनाएका छौं ।’


अन्य खेलमा दर्शक नभए पनि फुटबलमा भने बढदै गएको जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले दाबी गरे । ‘अन्य खेलमा त प्रायः दर्शक कम नै हुन्छन् । फुटबलमा नै हो बढी दर्शक हुने । प्रचारप्रसारमा कमी भएकाले दर्शकमा केही कमी त छ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?