दौडाउने र दौडिने त्यो मूर्खता

ध्रुव तुलाधर

तुलसीपुर, दाङ — पहेँलो जर्सी । त्यसमा चेस्ट नम्बर टाँसिएको छ १०१ अनि खुट्टामा गोल्डस्टारको नीलो जुत्ता । आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा बिहीबार महिला १० हजार मिटर दौडेकी सरस्वती कुँवरको छोटो परिचय हो यो । १० किमि दौड पूरा गर्न रंगशालालाई २५ फन्को मार्नुपर्ने हुन्छ ।

दौडाउने र दौडिने त्यो मूर्खता

तर ४ फन्को पनि नसक्दै उनी ट्रयाकमै ढल्न पुगिन् । सरस्वती थकित थिइन् । उनको खुट्टाको मसल्स क्र्याम्प भयो । तत्काल मेडिकल टिम बोलाएर मैदानमै उपचार गराउनुपर्‍यो । कारण थियो, डायरिया हुँदाहुँदै उनी दौडेकी रहिछन् ।

पर्वत पलेवासकी यी धाविकालाई बेलझुण्डीको सिन्थेटिक नै पहिलो ट्रयाक अनुभव थियो । क्षेत्रीयमा ५ किमिभन्दा बढी दौडेको अनुभव थिएन उनीसँग । राष्ट्रिय खेलकुदमा पनि उनी १५ सय र ५ हजार मिटरका लागि नै दौड्न दाङ आइपुगेकी हुन् । उनी गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै थिइन् । तर १० हजार मिटर दौडन आएकी सोनिया बडुवालले खेल्न नसक्ने जनाएपछि त्यो प्रदेशबाट दोस्रो खेलाडीको रुपमा सरस्वतीलाई खेलाइएको हो । अर्की धाविका नवलपुरकी दोलमाया महतोले भने पाँचौं स्थानमा रहेर दौड पूरा गरेकी थिइन् ।

सरस्वतीको नाम राख्दैमा दुई प्रशिक्षकबीच विवाद आएको रहेछ । उनका पर्वतका प्रशिक्षक जगदीश कुँवर र गण्डकी प्रदेशकी प्रशिक्षक इन्द्र मल्लबीच दोहोरो भनाभन चलेछ । आफूले सरस्वतीले खेल्न सक्दिनन्, नराखौं भन्दा आफ्नो खेलाडी राख्नुपर्छ भन्दै जगदीशले अडान लिएका कारण राखिएको मल्लको दाबी छ ।

यसमा गण्डकीका अरु खेलाडी पनि सहमत रहे । ‘हामीले पनि सरस्वतीलाई नखेल, सक्दैनौं, ट्रयाकमा गाह्रो हुन्छ भनेका हौं । तर उसले पनि खेल्न सक्छु भनी,’ सरस्वतीलाई रेखदेख गरिरहेकी धाविका ललिता लामिछानेले भनिन् । जीवनजल पानी बनाएर साथीलाई खान दिँदै उनले सम्झाइरहेकी थिइन् । सफल म्याराथनको ५ किमिमा ह्याट्रिक गरिसकेकी ललिता पनि आठौं राष्ट्रियको १५ सय र ५ हजार मिटर दौडकी प्रतिस्पर्धी हुन् ।

प्रशिक्षक जगदीश कुँवर भने खेल्न सक्ने खेलाडी भएकाले आफूले सरस्वतीलाई खेलाउन जोड गरेको बताउँछन् । उनले भने, ‘उसले सामान्य पेट दुख्यो भन्दै थिई, औषधी किनेर खाइछे । हिजो सोध्दा ठिक भयो भनी । त्यही भएर आज खेलाएको हो ।’ उनले आफूहरू आउँदादेखि नै समस्यामा परेको सुनाए । उनले भने, ‘बसमा आएका थियौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा गाडी बिग्रेर राति २–३ घण्टा बस्नुपर्‍यो । त्यसले गर्दा खानपानमा समस्या भयो । खेलाडीहरू नै बिरामी परे ।’

सरस्वती पनि के कम । राष्ट्रिय खेलकुदका लागि क्षेत्रीय छनोट जितेर आएकी खेलाडी । जोश आयो, दौड्न सक्छु जस्तो लाग्यो अनि भन्दिइन्, ‘सक्छु ।’ तर उनलाई थाहा थिएन वा जानकारी गराइएन, डायरिया हुँदा लामो दौड दौड्नु हुँदैन भन्ने । त्यसमाथि गह्रोखाले जुत्तामा । सिन्थेटिक ट्रयाकमा १० किलोमिटर दौड्न त्यो जुत्ता उनका लागि कदापी उपयुक्त थिएन । किनकि त्यो रनिङ सुज होइन ।

अरु टिमका खेलाडी भने स्पाइकमा दौडिरहेका थिए । हुन त उनीसँग स्पाइक किन्ने सार्मथ्य नहोला । उनका प्रशिक्षक कुँवर त्यसै भन्छन्, ‘हामीले कहाँ रनिङ सुज किनेर खेलाउन सक्छौं त ? खेलाडीको आर्थिक अवस्था पनि हेर्नुपर्यो । (जुत्ता देखाउँदै) यत्तिको त धेरै राम्रो हो । त्यसमाथि परिवारले पनि समर्थन गर्नुपर्‍यो ।’

एउटा निश्चित मापदण्ड नरहकाले पनि बृहत राष्ट्रिय खेलकुदजस्तो प्रतियोगितामा यस्ता घटनाहरू भइरहेका छन् । इटहरीमा भएको अघिल्लो संस्करणमा पनि खाली खुट्टामा समेत दौडाइएको थियो । सरस्वतीले लगाएको जुत्ताले ट्रयाकमा दौडन नसकिने धाविका ललिताको पनि बुझाइ छ । ‘रनिङका लागि त हल्का सुज चाहिन्छ । यस्तोल त गाह्रो हुन्छ । सिन्थेटिकमा झनै हुन्न । मैले पनि पहिला पहिला सजिलो होला भन्ठान्थे । ग्राह्रो हुने रहेछ । सुजले पनि धेरै फरक पार्दोरहेछ दौडँदा,’ गण्डकी प्रदेशमा आयोजना भएका थुप्रै प्रतियोगिताको मध्यम दूरीमा सफलता पाएकी उनले अनुभव सुनाइन् ।

उनले सरस्वतीलाई ढाडस दिइन्, ‘नआत्तिऊ, ठीक हुन्छौं ।’ अलि तंग्रिइन् भने मात्र सरस्वतीले ८ गते हुने ५ हजार मिटरमा दौड्ने छिन् । नत्र, उनको राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गर्न लक्ष्य यसपल्ट थाँती रहनेछ । कक्षा ९ मा अध्ययनरत सरस्वतीको भविष्यको लक्ष्य छ, ‘दौडमा राम्रो प्रदर्शन गर्ने र नेपाली सेनामा जाने ।’

प्रकाशित : वैशाख ६, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?