कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आठौं राष्ट्रिय खेलकुद : राष्ट्रपतिद्वारा उद्घाटन

बाँके — घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता आठौं राष्ट्रिय खेलकुदको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । नेपालगन्ज रंगशालामा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता सुरुवात भएको घोषणा गरिन् । आठौं खेलकुदमा समावेश 
३५ मध्ये १४ खेलका स्पर्धा उद्घाटन अघि सकिसकेका छन् ।

आठौं राष्ट्रिय खेलकुद : राष्ट्रपतिद्वारा उद्घाटन

प्रतियोगिताकै लागि स्तरोन्नति गरी अत्याधुनिक बनाइएको नेपालगन्ज रंगशालाको कमजोर प्रकाशका बीच राष्ट्रपति भण्डारीले सम्बोधनमार्फत खेलकुद सुरु भएको घोषणा गरेकी हुन् । गोधूली साँझमा रंगशालाको चारैतिर बालिएको बत्ती अपर्याप्त बनेको थियो । निर्धारित समयभन्दा १ घण्टा ढिला भएको उद्घाटन समारोहमा सबै ७ प्रदेश, ३ विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा प्रतियोगिताका अफिसियल टोलीले मार्च पास गरेका थिए । मार्च पासपछि विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

युथ ओलम्पियन सोनु भट्टले खेलाडीका तर्फबाट र भारत्तोलनका रेफ्री समसुद्दिन सिद्धिकीले निर्णायकका तर्फबाट शपथ लिएका थिए । उद्घाटन समारोहलाई सम्बोधन गरेका आयोजक प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आठौं खेलकुदका लागि निर्माण गरिएका भौतिक संरचना देशका अन्य स्थानमा यस्तै प्रतियोगिता आयोजना गर्नका लागि उदाहरणीय रहने बताए ।


‘आठौं खेलकुद आयोजनाका लागि निर्माण भएको भौतिक संरचना यस क्षेत्रका हरेक जनताको मिहिनेतको परिणाम हो । मलाई विश्वास छ कि वर्तमान पूर्वाधारले यस क्षेत्रको खेलकुद विकासका लागि कोसेढुंगा हुनेछ,’ उनले भने ‘यस्ता राष्ट्रिय प्रतियोगिता अन्य प्रदेशमा पनि आयोजना गर्नका लागि यहाँको तयारी अनुरकणीय हुनेछ ।’

राष्ट्रपति भण्डारीले आठौं खेलकुदको आयोजक प्रदेश ५ लाई बधाई तथा शुभकामना दिइन् । ‘लामो तयारी र ठूलो लगानीमार्फत यस प्रदेशमा दोस्रोपल्ट राष्ट्रिय खेलकुद आयोजना भएको छ,’ राष्ट्रपतिले भनिन्, ‘यस्ता प्रतियोगिता नियमित आयोजना भएको खण्डमा खेलाडीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउनेछन् ।’

राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रियसभा सदस्य, पूर्व एथ्लेटिक्स खेलाडी र गायिका कोमल वलीले आठौं खेलकुदको आधिकारिक गीत प्रस्तुत गरेकी थिइन् । त्यसपछि खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए । धन्यवादपछि नेपाली सेना, एपीएफ, नेपाल प्रहरीसहित खेलाडी तथा विद्यार्थीको समूहले विशेष प्रस्तुति दिएका थिए । ओलम्पियन तथा प्रदेश ५ का सांसद सुरेन्द्र हमालले आतिसबाजीका साग उद्घाटन समारोह सम्पन्न हुनुभन्दा पहिला ओलम्पिक दीप प्रज्ज्वलन गरेका थिए । १४ जना ओलम्पियनले सातै प्रदेशमा ओलम्पिक टर्च पुर्‍याएर बुधबार साँझ नेपालगन्ज ल्याइएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आठौं खेलकुद आगामी डिसेम्बर १ देखि १२ सम्म नेपालमै आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा रहेको बताए । ‘राष्ट्रिय खेलकुदले नेपाली खेलकुदमा दिगो पूर्वाधार पनि सकिएको छ । यसले १३ औं साग आयोजनाका लागि हाम्रो तयारीलाई पनि दर्साउँछ । हामीले यस प्रतियोगितालाई १३ औं सागको तयारीका रूपमा पनि लिएका छौं । दक्षिण एसियाली खेलकुदमा हाम्रा खेलाडीले सानदार प्रदर्शन गर्ने अपेक्षामा छौं,’ सदस्यसचिवले भने ।

सदस्यसचिवले त्यसो भनिरहँदा आठौं खेलकुदका लागि नेपालगन्जमा निर्माण गरिएका पूर्वाधारका सम्पूर्ण काम भने अझै सकिएका छैनन् । रंगशालामा नवनिर्मित ३ हजार ५ सय दर्शक क्षमताको भीआईपी प्यारापिटको काम सकिएको छैन । रंगशालाको छेवैमा निर्माणाधीन पौडी पोखरीको निर्माणकार्य करिब ८० प्रतिशत पूरा भएको छ । ८ गतेदेखि सुरु हुने पौडीका स्पर्धा यस पोखरीमा आयोजना हुनु असम्भवजस्तै छ । आयोजक राखेप र स्थानीय आयोजक मध्यपश्चिम खेलकुद विकास समितिले भने जसरी पनि यही पोखरीमा पौडीका प्रतियोगिता आयोजना गरिने दाबी गरिरहेको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?