चन्द्रकलाको निरन्तर कीर्तिमान, दोस्रो दिन आर्मीलाई ५ स्वर्ण

ध्रुव तुलाधर

तुलसीपुर, दाङ — आठौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको दोस्रो दिन शुक्रबार ६ स्वर्ण पदकको छिनोफानो हुँदा आर्मीले वर्चस्व जमाएको छ ।
बेलझुण्डीस्थित नवनिर्मित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा आर्मीका खेलाडीले ५ स्वर्ण पदक जितेका छन् । एक अर्को स्वर्ण पुलिसकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानका साथ जितेकी छन् ।

चन्द्रकलाको निरन्तर कीर्तिमान, दोस्रो दिन आर्मीलाई ५ स्वर्ण

चन्द्रकलाले कीर्तिमान अभियानलाई दिँदै शुक्रबार महिला ज्याभलिन थ्रोको स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै ४४ दशमलब ५ मिटरको नया कीर्तिमान रचिन् । यसअघि उनको नाममा ४३ दशमलब ९४ मिटरको कीर्तिमान थियो । जुन उनले इटहरीमा आयोजित सातौं राष्टिय खेलकुदमा स्थापित गरेकी थिइन् ।


अघिल्लो दिन उनले महिला शटपुटमा कीर्तिमान राखेकी थिइन् । चन्द्रकलाले स्वर्ण जित्दा आर्मीकी लक्ष्मी थारुले ४१.२६ मिटरबाट रजत र एपीएफकी सीमाकुमारी थारुले ३८.३० मिटरबाट कांस्य पदक जितेका छन् ।


आर्मीका लागि सरस्वती भट्टराई, टंक कार्की, डिल्ली खत्री, कृष्णा चौधरी र रोहित चौधरीले स्वर्ण दिलाएका हुन् । महिला १५०० मिटर दौडमा सरस्वतीले ४ मिनेट ३६.०० सेकेन्डबाट स्वर्ण जितिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठले ४ मिनेट ३७.७ सेकेन्डको टाइमिङमा रजत र एपीएफकी फुलमती रानाले ४ मिनेट ४८.०५ सेकेन्डबाट कांस्य जितेका हुन् ।


पुरुष १५ मिटर दौडको स्वर्ण टंकले ४ मिनेट ०१.८६ सेकेन्डबाट जितेका थिए । उनका निकट रहेका आफ्नै टिमका उमेश मर्स्याङी मगरले ४ मिनेट ०३.०८ सेकेन्डमा दूरी तय गर्दै रजत जिते । कांस्य एपीएफका सन्तोष विष्टले जित्दा ४ मिनेट ०८.१८ सेकेन्डको समय लिए ।


फिल्डतर्फ आर्मी खेलाडी हाबी हुँदा डिल्ली खत्रीले लङजम्पमा स्वर्ण जितेका थिए । उनले ६.९६ मिटर जम्प गर्दै राष्ट्रियको स्वर्ण आफ्नो नाममा लेखाए । प्रदेश ३ का भुवन महतोले ६.७२ मिटरबाट रजत र पुलिसका गोपाल चौधरीले ६.३६ मिटरबाट कांस्य पदक जितेका छन् । महिला लङजम्पमा कृष्णाले स्वर्ण जित्दा ५.२१ मिटर नापेकी थिइन् । एपीएफकी शीला चौधरीले ४.१४ मिटर र प्रदेश ३ की जयरानी चौधरीले ५.११ मिटरबाट रजत र कांस्य जितेका छन् ।


पुरुष ज्याभलिन थ्रोको स्वर्ण आर्मीका रोहितले जितेका हुन् । उनले उनले ५६.५८ मिटर टाढा ज्याभलिन फाल्दै उपाधि जिते । एपीएफका मनोज डगौराले रजत जित्दा ५३.३८ मिटर नापेका थिए । कांस्य जितेका पुलिसका वीरेन्द्र चौधरीले ५२.५३ मिटरको नाप लिए ।


दोस्रो दिनसम्म एथलेटिक्समा विभागीय टोलीका खेलाडीको वर्चस्वबीच प्रदेशका खेलाडीको पदक जित न्युन बनेको छ ।

प्रकाशित : वैशाख ६, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?