कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्छीको कमाल

चन्द्रकला लामगादेले सातौं राष्ट्रिय खेलकुदमा जितेको कीर्तिमानसहितको दुई स्वर्ण पदकलाई जारी आठौं राष्ट्रियमा पनि निरन्तरता दिएकी छन् 
ध्रुव तुलाधर

बेलझुण्डी, दाङ — सात दिदीबहिनीमा सबैभन्दा कान्छी । त्यसमा एउटा दाजु र भाइ पनि छ । परिवारकी कान्छी छोरी भएकाले टोलछिमेकमा उनी कान्छी भनेर चिनिन्छन् । ताप्लेजुङ जिल्लाको चाँगे २ की यिनै कान्छीको राष्ट्रियस्तरमा भने एउटा परिचय स्थापित छ, सफल राष्ट्रिय खेलाडी ।

कान्छीको कमाल

कान्छी अर्थात् चन्द्रकला लामागादेले आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित लगातार दुई स्वर्ण जितिसकेकी छन् । बेलझुण्डीमा जारी एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा उनले शुक्रबार राष्ट्रिय कीर्तिमान रचिन् । अघिल्लो दिन बनेको एकमात्र कीर्तिमान पनि उनकै नाममा थियो । त्यो कीर्तिमान चन्द्रकलाले सटपुटमा बनाएकी थिइन् । उनले विगत केही वर्षयता सटपुटमा चारपल्ट र ज्याभलिन थ्रोमा तीनपल्ट कीर्तिमान सुधार गरिसकेकी छन् ।


चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् । पुलिसमा आबद्ध भएको पनि झन्डै ६ वर्ष भइसक्यो । २०७० सालदेखि पुलिसमा छिन् । स्कुलस्तरमा हुने राष्ट्रपति रनिङ सिल्डबाट उदाएकी हुन् उनी । सानोमा फुटबल खेल्थिन् । ६(७ कक्षा पढाताकादेखि नै ज्याभलिन र सटपुट फाल्न सुरु गरिन् । त्यसमै रस बस्दै गयो । भन्छिन्, ‘अहिले त यसमै रमाइलो लाग्छ, खेल्दा सन्तुष्ट हुन्छु । पदक जित्दा त झन् खुसी नहुने कुरै भएन ।’


पछिल्लो समयमा चन्द्रकलालाई एकपछि अर्को सफलता दिलाइरहेकी छन् । हरेक राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार्दै कीर्तिमान बनाइरहेकी छन् । छैटौं राष्ट्रिय खेलकुदपछि भएका सबै प्रतियोगिताको आफ्नो इभेन्टमा उनले सफलता भेट्टाएकी छन् । भनौं, एकछत्र राज गरेकी छन् । छैटौंमा पूर्वाञ्चलबाट खेल्दा भने उनी ज्याभलिनमा चौथो स्थानमा रहेकी थिइन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।


शुक्रबार ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमान बनाउँदा सातौं राष्ट्रिय खेलकुदलाई बिट गरेकी हुन् । उनले इटहरीमा सम्पन्न सातौं संस्करणमा ४३ दशमलब ९४ मिटरलाई पछाडि पार्दै ४४.०५ मिटरको नयाँ दूरी नापिन् । ‘आफूले गरेको मिहिनेतअनुसार रेकर्ड हुन्छ होला जस्तो लागेको थियो । बन्यो, एकदमै खुसी छु,’ उनले भनिन्, ‘अझै राम्रो गर्दै जाने हो ।’ सातौंमा पनि दुवैमा इभेन्टमा स्वर्ण जित्नेक्रममा राष्ट्रिय कीर्तिमान बनाई उनी उत्कृष्ट खेलाडी भएकी थिइन् ।


यो सफलता पनि चन्द्रकलाको आफ्नै लगन र मिहिनेतका कारण प्राप्त हो । उनका लागि प्रशिक्षक छैनन् । प्रशिक्षक भनेको नै युट्युब भिडियोहरू हुन् । एथलेटिक्समा ट्रयाकका लागि धेरै प्रशिक्षकहरू भेटिए पनि फिल्ड र थ्रोमै विशेष दख्खल भएका नेपाली प्रशिक्षक पाउन गाह्रो रहेको उनको बुझाइ छ । भन्छिन्, ‘नेपालमा थ्रो सिकाउने गुरुहरू नै छैनन् । म त युट्युब हेरेर धेरै कुरा सिक्छु । त्यो हेरेर सटपुट कसरी हान्ने, ज्याभलिन कसरी फाल्ने, कुन स्पिड गर्नेजस्ता पक्षमा ध्यान दिन गरेकी छु ।’


ट्रेनिङ पाए अझै राम्रो गर्ने आँट उनीभित्र छ । ‘सेवासुविधासहित प्रशिक्षण पाए योभन्दा राम्रो गर्न सक्छु भन्ने आँट छ,’ उनले गर्विलो हुँदै भनिन् । अहिले उनलाई विभागमा रहेकाले पुलिस क्लबको राम्रो सपोर्ट छ । सबैले हौसला दिने गरेको सुनाउँछिन् । पब्लिकमा रहेको भए आफूले यत्तिको गर्न नसकिने उनी बताउँछिन् । त्यसैले मैले विभागलाई धन्य भन्नुपर्छ ।


त्यही विभागमा उनका लागि दख्खलप्राप्त प्रशिक्षक भने छैनन् । प्रशिक्षणलाई व्यवस्थित ठाउँ छैन । दशरथ रंगशालाको अवस्था निर्माणधीन छ । त्यसैले यसै प्रतियोगिताको लागि उनले राजधानीको टुँडिखेलमा अभ्यास गर्नुपरेको थियो । त्यहाँ अभ्यास गर्दाको तीतो अनुभव सुनाइनन् । ‘बिहानै गयो पाइला टेक्ने ठाउँ हुँदैन । दिउँसो जाँदा घाम चर्केर ट्रेनिङ गर्न सकिँदैन । मान्छे कहिले खालि होला र ज्याभलिन फान्न पाऊँ भनेर कुरेर बस्नुपर्थ्यो,’ चन्द्रकलाले भनिन्, ‘भीडमा जथाभावी फालेर भएन ।’


उनीसँग अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ औं साग खेलकुद र एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिप खेलेको अनुभव छ । सागमा सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपालमै आयोजना हुने १३ औं सागका लागि के छ लक्ष्य भनेर सोध्दा स्वर्णधारी उनी भन्छिन्, ‘पदक जित्छु भनेर मात्र हुँदैन । त्यहीअनुसार सबै कुराको साथ हुनुपर्‍यो । विशेषत सम्बन्धित फिल्डका प्रशिक्षकबाट अभ्यास पार्नुपर्‍यो । आफूले मिहिनेत गर्नुपर्‍यो । सफलता त आइहाल्छ नि ।’


पछिल्लो समय उनले नेपालको थ्रो इभेन्टमा स्तर खस्किएको दृष्टान्त दिइन् । उनी विगतका राष्ट्रिय कीर्तिमानभन्दा धेरै कम हानेर पनि पदक जित्न सकिने बताउँछिन् । त्यो भने स्तर बढ्न नसक्नु हो । यस राष्ट्रियमा पनि पुरुषतर्फ आर्मीका टेकप्रसाद दाहालले १२.१९ मिटर फालेर स्वर्ण जिते । जबकि यसको राष्टिय कीर्तिमान उजिरसिंह विष्टको नाममा १३.९२ मिटरको छ ।


जुन विष्टले आठौं साफ खेलकुद १९९९ मा बनाएका थिए । ज्याभलिनमा पनि आर्मीका रोहित चौधरीले ५६.५८ मिटर फाल्दै स्वर्ण जितेका छन् । यसको राष्ट्रिय कीर्तिमान भनेको ७०.३९ मिटरको छ । त्यो खुर्सिद अहमद खानले आठौं साफ खेलकुदका क्रममा बनाएका थिए ।


यो किमिसको प्रदर्शन आउनु भनेको विशेषज्ञ प्रशिक्षक नहुनु नै हो । चन्द्रकला भन्छिन्, ‘हामीले गर्न नसक्ने के छ ? हिजोका दिनमा अग्रजहरूले गर्नुभएको थियो भने हामी पनि गर्न सक्छौं । तर सम्बन्धित फिल्डका ट्रेनर हुनुपर्‍यो । हाम्रो पहिलो आवश्यकता त्यो नै हो ।’


स्कुलमा खेल्दा देवी बराल सरले प्रेरित गर्नुहुन्थ्यो । सटपुट फाल्न प्रेरित गर्दै बराल सरले भनेको सम्झिइन्, ‘तिम्रो ज्यान छ । तिमीले फाल्न सक्छौं भन्नुहुन्थ्यो ।’ त्यसरी नै सिक्दै अगाडि बढेकी चन्द्रकलाको खेल देखेर ताप्लेजुङमै राष्ट्रपति सिल्डमा खेल्दा बालकुमार साँवा प्रभावित हुनुभयो । पुलिस जाऊ राम्रो हुन्छ भनेर आफूलाई विभागमा अनुबन्धित गराएको उनी सम्झन्छन् । भन्छिन्, ‘यहाँसम्म आइपुग्न उहाँहरूको प्रेरणा छ ।’


उहाँहरूले भने जस्तै उनलाई शरीरले पनि साथ दिएको छ । ५ फिट ५ इन्च उचाइकी २६ वर्षीया उनी ८० केजीकी छिन् । सुगठित शरीर छ । ‘नत्र १० पाउन्डको सटपुट र ६ सय ग्रामको ज्याभलिन फाल्नलाई कहाँबाट बल आउँछ त । यत्तिको ज्यान त चाहिन्छ होइन र ?,’ उनले ठट्यौली पारामा कुराको बिट मारिन् ।


एउटा राष्ट्रिय कीर्तिमानवापत सरकारले २५ हजार रुपैया दिने घोषणा गरिसकेको छ । दुई राष्ट्रिय कीर्तिमान बनाएकीले चन्द्रकलाले ५० हजार पाउने छिन् । दुई स्वर्णको ३० हजार जोडा यस राष्ट्रियबाट ८० हजार उनको हात पर्ने छ । खर्च के मा गर्ने विचार छ त ? भन्छिन्, ‘थ्रो गर्दा पनि रनिङ सुज लगाएर गरिरहेकी छु । स्पाइक किन्छु ।


सटपुटका लागि पनि छुट्टै स्पाइक किन्छु । पैसा आउन पर्‍यो । त्यस्तैमा खर्च हुन्छ होला ।’ उनको भनाईले फेरि नेपाली खेलाडीको टडकारो समस्या इंगित गर्छ । विभागीय खेलाडीलाई त एक जोर जुत्ता किन्न यस्तो अवसर कुर्नुपर्छ भने प्रदेशबाट आउने खेलाडीको हालत के होला भनेर ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?